कस्तो छ सहकारीमा लेखा  सुपरिवेक्षणको अवस्था ?

सूचना चौतारी सञ्चार सहकारी संस्थाको नियमित प्रस्तुति सहकारी डबलीको २४ औं शृंखलामा ‘कस्तो छ सहकारीमा लेखा सुपरिवेक्षणको अवस्था ?’ शीर्षकमा छलफल गरेका छौं । यस डबलीमा राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक कुलचन्द्र अधिकारी, नेफ्स्कुनका लेखा संयोजक दामोदर अधिकारी, जिल्ला सहकारी संघ, काठमाडौंका लेखा संयोजक केशव पोख्रेल र काठमाडौं बचत तथा ऋण सहकारी संघका लेखा संयोजक कमलराज अधिकारी वक्ताका रूपमा सहभागी हुनुहुन्छ । प्रस्तुत छ सहकारी डबलीे २४ औं शृंखलामा भएको छलफलको सारसंक्षेप ः

सहकारीमा लेखा समिति सक्रिय भएको देखिँदैन, किन होला ?
दामोदर अधिकारी
लेखा संयोजक
नेफ्स्कुन
नेपालमा ३३ हजारभन्दा बढी सहकारी सञ्चालन भएका छन् । सहकारी सञ्चालनका लागि सहकारी ऐन २०४८ ले सञ्चालक समिति र लेखा समितिको व्यवस्था गरेको छ । सञ्चालक समितिले साधारणसभाले दिएको अधिकार र योजना कार्यान्वयन गर्न नियमित काम गरिरहेको हुन्छ । लेखा समितिले साधारणसभामै उत्तरदायित्व हुने गरी संस्थालाई वाच डगको रूपमा काम गर्दछ । सहकारीको मूल्य, मान्यता, सिद्धान्त, सहकारी नियमावली, साधारणसभाले स्वीकृत गरेका काम कारबाही सुव्यवस्थित रूपमा सञ्चालन भयो कि भएन भनेर मूल्यांकन गर्ने काम गर्दछ । लेखा समितिको सक्रियताको सवाल छ । सबै सहकारीमा लेखा समिति निष्क्रिय छन् भन्ने न्यायसंगत हुँदैन । समग्रतामा सहकारी अभियानलाई हेर्दा तीन प्रकारले वर्गीकरण गर्न सकिन्छ । पहिलो सिद्धान्त, मूल्य, मान्यतामा आधारित छन्, सदस्यलाई साँच्चिकै मालिकको रूपमा व्यवहार गरेका छन् । सदस्यको आर्थिक, सामाजिक परिवर्तनका लागि अहोरात्र लागिपरेका छन् । साधारणसभा नियमितरूपमा भइरहेका छन् । यी संस्थाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा समेत स्थापित हुँदै गइरहेका छन् । यस्ता सहकारीमा लेखा समितिको भूमिका उल्लेख्य छ । सुपरिवेक्षणको रूपमा, आन्तरिक पर्यवेक्षकको रूपमा पृष्ठपोषण गर्ने, राम्रा कुरालाई प्रोत्साहन र कमजोर कुरालाई सच्चाउन निर्देशन दिने काम गरिरहेका छन् । लेखा समिति र सञ्चालक समिति सहकारीमा नङ र मासुको जस्तो सम्बन्ध भएर काम गर्दै आएका छन् । दोस्रो बहुसंख्यक सहकारी भावनामा, देखासिकीमा या प्रवद्र्धनात्मक निकायबाट खोलिएका छन् । सामान्य विनियमका आधारमा सहकारी सञ्चालन भइरहेका छन् । सञ्चालक तथा लेखा समितिलाई तालिमको व्यवस्था गर्न सकिएको छैन । मन पवित्र छ, राम्रो काम गरौं भन्ने छ तर त्योसम्बन्धी ज्ञानको अभावले अल्मलिएको अवस्था छ, तिनीहरूलाई प्रशिक्षणको खाँचो छ । सशक्तीकरणको खाँचो छ । त्यसतर्फ हामी लाग्नुपर्छ । तेस्रो नगन्यमात्रामा केही सहकारी विधि नभई व्यक्तिले सञ्चालन गरेका छन् । सदस्यलाई मालिक नभई ग्राहकको व्यवहार गरिएका, सहकारीको मूल्य, मान्यता, कार्यशैली, कार्यव्यवहारबारे जानकार भए पनि कसरी व्यक्तिगत लाभ लिन सकिन्छ भन्ने पनि छन् । त्यस्ता सहकारीमा स्वनियमनको कुरा छैन । नियमन पनि पुगेको छैन, लेखा समिति निष्क्रिय अवस्थामा रहेको छ । त्यस्ता संस्थालाई स्वनियमनमा ल्याउन हामी लाग्नुपरेको छ । मूल्य, मान्यताबाट बाहिर नजान हामीले अभिप्रेरित गर्नुपर्ने अवस्था छ । यी तीन प्रकृतिको सहकारी भएकाले आम लेखा समिति जति सक्रिय भएर लाग्नुपर्ने हो, संस्थाको आन्तरिक नियन्त्रण पद्धति सुशासित राख्ने, सुशासित बनाउन क्रियाशील भएर लाग्नुपर्ने अवस्था थियो, अपेक्षाकृतरूपमा ज्ञान, सीप र सशक्तीकरण अभावमा अघि बढ्न सकिएको छैन ।

बैंकको अवस्था के छ, बैंकमा लेखा समिति कत्तिको सक्रिय भएर लागेको छ ?
कुलचन्द्र अधिकारी
लेखा संयोजक
राष्ट्रिय सहकारी बैंक
राष्ट्रिय सहकारी बैंकको २०५९ को विनियमअनुसार र राष्ट्र बैंकको स्वीकृति, सहकारी विभागको पनि मातहतमा रहेर बैंकिङ कारोबार सुरु ग¥र्याैं । २०६० सालमा पहिलो निर्वाचित लेखा समितिमा म निर्वाचित भएको हुँ । निरन्तर अहिले १२ वर्ष पूरा भएको छ । लेखा समिति सदस्य पाँच वर्ष र पछि दुईपटक लेखा समिति संयोजकमा निर्वाचित भएको छु । तीन वर्ष भइसकेको अवस्था छ । सुरुदेखि नै राष्ट्रिय सहकारी बैंकमा लेखा समितिको भूमिका महत्वपूर्ण छ । यस विषयमा धेरै पटक तालिम लिएको छु । मैले राष्ट्रिय सहकारी संघमा पनि लेखा समितिको सदस्यका रूपमा काम गरेँ । अहिले बैंकमा मात्र छु । अहिले बैंकमा आठ हजारभन्दा बढी सदस्य पुगिसकेको छ । अहिले ११ अर्बको कारोबार भइरहेको छ । हाम्रा ३७ वटा शाखा छन् । लेखा समितिले सञ्चालक समितिको कामबारे निगरानी गरिरहेको हुन्छ । सञ्चालक समितिको निर्णयको हामी परीक्षण गर्छौं र सुझाव दिन्छौं । यदि सञ्चालक समितिले हामीलाई वास्ता गरेन भने हामी फेरि लेख्छौं । कुनै विषयमा थप सुझाव चाहियो भने सञ्चालक समितिको बैठकमा हामीलाई बोलाउँछ । हामी पनि आवश्यक परे हाम्रो बैठकमा सञ्चालक समितिलाई बोलाउँछौँ र आवश्यक सुझाव दिन्छौं, उहाँहरू कन्भिन्स भएर जानुहुन्छ । केही कुरा बिग्रेका हुन्छन्, उहाँहरूले सच्चाउनुहुन्छ । यसरी लेखा समितिको भूमिकामा १२ वर्षको अवधिमा जति सक्यो राम्रो काम गरेका छौं ।

काठमाडौं जिल्ला बचत संघमा लेखा समितिको अवस्था कस्तो छ ?
कमलराज अधिकारी
लेखा संयोजक
कास्कुन
२०७२ चैत्र ५ पश्चात् निर्वाचित भएर आइसकेपछि कास्कुनमा लेखा समिति सक्रिय भएको छ । कास्कुनमा लेखा समितिले गर्नुपर्ने धेरै कामहरू रहेछन् । प्राविधिकरूपमा चैत्र ५ गते आयौं । हामीले हेर्नुपर्ने स्थिति साउनदेखि असार मसान्तसम्म थियो । भौचरदेखि सबै हेर्दा लेखा समितिको भूमिका अझ बढी रहेछ कि भन्ने लाग्यो । कास्कुन सुधार गर्ने सन्दर्भमा संस्थालाई व्यवस्थित गर्नका लागि समितिले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा हामीले धेरै राख्यौं । लेखाका सुधार गर्नुपर्ने कुरामा र कर्जा प्रवाह गर्दा प्रक्रिया सुधार गरेका छौं । हिजोको दिनभन्दा हामी धेरै सुरक्षित अवस्थामा छौं । यसर्थ कि लेखा समितिको जिम्मेवारी पूरा गरेकै आधारमा त्यहाँ भएका कतिपय व्यावसायिक प्रक्रिया सुधार गर्न सकिएको छ । लेखा समितिको अधिकार, काम, कर्तव्य के हो भन्ने कुरामा सदस्य संस्थालाई जानकारी गराउन आवश्यक छ जस्तो लाग्दछ । संस्था या संघमा जहाँ भए पनि लेखा समितिबारे बहस गरेको पाउँछु । लेखा समिति कर्मकाण्डीय मात्र भयो कि भन्ने विषयमा धेरै ठाउँहरूमा प्रश्न उठेको छ । लेखा समितिको भूमिकालाई मिडियाकर्मी साथीहरूले पनि अलि जोड दिनुपर्छ जस्तो लाग्दछ मलाई । तालिम, सूचना पनि आवश्यक छ । कास्कुनबाट यससम्बन्धी तालिम पनि दिइरहेका छौं । सदस्य संस्थालाई पनि लेखा समिति सक्रिय छ र त कास्कुन पनि राम्रो छ भन्ने महसुस होस् भनेर मेरो नेतृत्वमा रहेको समितिले भूमिका खेलिरहेको अनुरोध गर्न चाहन्छु । हाम्रो अधिकार विशेष साधारणसभा बोलाउनेसम्मको हुन्छ । कुनै गलत निर्णय लिन सञ्चालक समिति लेखा समितिबाट डराउन सक्छ र जसले गर्दा गलत काम हुनबाट रोकिन्छ ।

सञ्चालक समितिबाट लेखा समिति डोमिनेट भएको देखिन्छ, यसलाई सक्रिय बनाउन, यसको काम, कर्तव्यप्रति जिम्मेवार बनाउन नेतृत्व तहदेखि तलसम्म पु¥याउन के गर्नुपर्ला ?
दामोदर अधिकारी
लेखा संयोजक
नेफ्स्कुन
नेफ्स्कुन ७४ जिल्लामा काम गरिरहेको छ । करिब २९ सय सहकारी यसमा आबद्ध छन् । नेफ्स्कुनमा सञ्चालक समिति र लेखा समिति दुईवटै क्रियाशील छन् । नेफ्स्कुनमा निर्णय तहमा सञ्चालक समितिको संलग्नता र कार्यान्वयन तहमा व्यवस्थापन समितिको संग्लनता भन्छौं । नेफ्स्कुनमा त्यहीअनुसार डेभलप गरेका छौं । प्रमुख कार्यकारी अधिकृतको मातहतमा ६९ जना कर्मचारीले काम गरिहेका छन् । नेफ्स्कुनको लेखा समितिको काम, कर्तव्य र अधिकारबारे कार्यविधि तयार गरेका छौं । प्रत्येक दुई महिनामा आन्तरिक सुपरिवेक्षण गर्ने काम गर्छांै । मासिक बैठकमा आन्तरिक प्रतिवेदन तयार गरेर सञ्चालक समितिमा पेस गर्छाैं । त्यसपछि तीनतीन महिनामा फिल्ड कार्यालय, केन्द्रीय कार्यालयको आन्तरिक लेखा परीक्षण गर्छौ । हामी साधारणसभाप्रति उत्तरदायी हुन्छौं, सञ्चालक समितिमा किमार्थ उत्तरदायी हुनुपर्ने नेफ्स्कुनमा छैन् । व्यवस्थापनले हामीलाई प्रतिवेदन दिनुपर्छ । सञ्चालक समितिको निर्णय प्रक्रियामा हामीलाई बसिरहनु आवश्यक हुँदैन । बिजिनेस प्लान, नवीनतम कार्यक्रम र रणनीतिक योजनामा लेखा समिति सञ्चालक समितिसँगै बसेर काम गर्छ तर दैनिक काममा निर्णय गर्ने काम सञ्चालक समितिको हो । उनीहरूले बनाएका योजना, साधारणसभाले पास गरेका नीति र कार्यक्रम, प्रचलित ऐन, मूल्य, मान्यता र सिद्वान्त, संघको आचारसंहिता, संस्कृति, विद्यमान नीतिअनुसार नै संघको कार्यसम्पादन के भएन भनेर आम सदस्यको तर्फबाट हेर्ने हो । त्यति हुँदाहुँदै लेखा समितिलाई आवश्यक पर्ने ज्ञान, सीप, तरिका, विधि, प्रविधि हासिल गर्न पूर्ण छौं भनेर हामीले भन्दैनौं । बचत तथा ऋण सहकारी संस्थामा लेखा समिति क्रियाशील छ कि छैन भन्ने कुरामा व्यक्तिमा पनि भर पर्छ । हाम्रा संस्था सशक्तीकरण हुन सकेका छैनन् । कतिपय ठाउँमा सञ्चालक समिति नै सक्रिय हुन नसकेको अवस्था छ । लेखा समितिको अधिकार र कर्तव्य के हो, कसरी काम गर्ने हो भन्ने सामान्य प्रशिक्षण नभएको अवस्थामा मान्छे जतिसुकै जानकार भए पनि काम गर्न गाह्रो हुन्छ । लेखा समितिको सशक्तीकरण गर्ने काम हुन सकेको छैन । हामी नेफ्स्कुनले चाहिँ यो कुरामा अत्यन्त प्रभावकारिताका साथ लगेका छौं । लेखा परीक्षण गर्ने तरिका, ढाँचा, म्यानुअल, लेखा समितिको बैठक बस्ने तरिका, गोष्ठी, सेमिनार र क्षेत्रीय लेभलमा तालिमहरू पनि सञ्चालन गछां । यस वर्ष हाम्रो वार्षिक कार्यक्रममा शिखर गोष्ठी राख्ने कार्यक्रम पास गरेको छ ।
बुझाइका अभावले सञ्चालक समिति र लेखा समितिको टसल हुन्छ । सहकारी ऐनले दुईवटा समितिको परिकल्पना गरेको छ । सञ्चालक समितिको अध्यक्ष हुन्छ भने लेखा समितिको संयोजक हुन्छ । पोर्टफोेलियो एउटै हो र यी समानान्तर कमिटी हुन् । तर कार्यगत संरचनाले गर्दा सञ्चालक समिति बढी सक्रिय रहन्छ । लेखा समितिको भूमिका कार्यकारी नहुने भएकाले लेखा समितिको भूमिका कम देखिएकाले डोमिनेट भएजस्तो देखिएको हो । दैनिक कार्य सञ्चालनका लागि सञ्चालक समितिले गर्ने निर्णय प्रक्रियामा मात्र हाम्रो संलग्नता हुँदैन । अभियानमा लेखा समितिले कहीँ पनि डोमिनेट हुुनु हुँदैन । सञ्चालक समितिको अध्यक्ष सरह भन्न, बोल्न र हिँड्न पाउँछ । संघको लेखा समिति सशक्त नै छ । हामी छाता संघ भएको नाताले मेम्बर अर्गनाइजेसनको लेखा समिति सक्रिय बनाउन भूमिका खेल्नुपर्छ । यसका लागि नेफ्स्कुन, जिल्ला संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघ सबै मिलेर जानुपर्दछ ।

बैंकमा लेखा समिति सञ्चालक समितिबाट डोमिनेट भएको छ कि छैन् ?
कुलचन्द्र अधिकारी
लेखा संयोजक
राष्ट्रिय सहकारी बैंक
सबै साथीहरू र उमेरका हिसाबले पनि म पाको भएकाले सबैलाई मलाई अहिले पनि दाजु भन्नुहुन्छ । मलाई डोमिनेट फिल भएको छैन । राष्ट्रिय सहकारी बैंकमा धेरै कुरामा समझदारी नै गर्छाैं । सञ्चालक समितिले गरेका निर्णयमा कमजोरी देखियो भने हाम्रो बैठकबाट निर्णय गर्छांै र दिन्र्छौं । उहाँहरूलाई चित्त नबुझेका कुरामा मौन बस्नुहुन्छ । प्रतिउत्तर नआएको अवस्थामा फेरि ध्यानाकर्षण गराउँछौं । त्यसपछि, सञ्चालक समिति, एमडी सबैलाई बोलाएर छलफल गर्छांै । सञ्चालक समितिले दिउँसोका समयमा तालिम दिने, तालिम दिएबापत दिनको दुई हजार भत्ता खाने चलन थियो । हामीले ठाडै लेख्यौं, उहाँहरूलाई दुई पटकसम्म तिर्नु भएन । जब हाम्रो प्रतिवेदन आएपछि साधारणसभाभन्दा अघि नै उहाँहरूले तिर्नुभयो । हामी कति पारदर्शी छौं भन्ने कुरा यो बलियो उदाहरण हो ।
कतिपय अवस्थामा लेखा समितिको काम सञ्चालक समितिले काम गरेको पाइन्छ, भाग पु¥याउन मात्र लेखा समिति राखिएको हो ?
कमलराज अधिकारी
लेखा संयोजक
कास्कुन
कतिपय संस्थामा लेखा समितिकोे प्रतिवेदन पनि सञ्चालक समितिले नै बनाएको हामीले देखेका छौं । त्यो बिल्कुलै गलत कुरा हो । कास्कुनको विषयलाई हेर्दा त्यसरी भाग पु¥याउने सवालमा निर्माण गरिएको कदापि होइन । संघलाई कसरी स्वस्थ्य बनाउन सकिन्छ भन्ने विषयमा गठन गरिएको हो । यो विषय लेखा समितिको संयोजकमा भरपर्ने कुरा रहेछ । म कानुनको विद्यार्थी हुँ तर लेखा संयोजकमा छु । नयाँ क्षेत्रको अनुभूति भइरहेको छ । मैले देखाएको सक्रियताका कारण कास्कुन सही बाटोमा, राम्रो ट्र्याकमा हिँड्न बाध्य भएको छ । हिजोको दिन र आजमा धेरै फरक पाएको छु । हामीले राखेका कुरामा उहाँहरूले पालना गर्नुभएको छ । बोलाएर सोध्ने र उत्तर दिने गर्नुभएको छ । चित्त नबुझ्दासम्म हामी विषयलाई उठान गरिरहेका हुन्छौं । कास्कुनको हकमा लेखा समिति सञ्चालक समितिको डोमिनेटमा परेको छैन र हुँदैन पनि ।

यहाँलाई के लाग्छ, लेखा समिति कत्तिको सक्रिय भएको पाउनुहुन्छ ? हुनुपर्ने के थियो ?
केशव पोख्रेल
लेखा संयोजक
जिल्ला सहकारी संघ, काठमाडौं
लेखा समिति शक्ति सन्तुलन र नियन्त्रणका लागि नै स्थापना भएको हो । सञ्चालक समितिलाई सन्तुलनमा राख्ने कमिटी हो । लेखामात्र नभइकन सम्पूर्ण क्रियाकलाप हेर्ने लेखा समितिले गर्छ । उसले नियन्त्रण र सन्तुलन गर्ने काम गर्छ । काठमाडौैं जिल्ला संघको लेखा समितिमा हुँदाखेरि मेरो नयाँ अनुभव पनि हो । धेरै संस्थाको अध्ययन पनि गरेँ । काठमाडौंमा लिडिङ रोलमा आएका साथीहरूको संस्थामा पनि लेखा समिति सक्रिय नभएको मैले पाएँ । अधिकांश लेखा समितिको संयोजकले सञ्चालक समितिको प्रतिवेदनमा सही गरेको पाइयो । त्यो भनेको सम्पूर्ण किसिमले स्वीकारेको अवस्था हो नि । सञ्चालक समितिको लेखा परीक्षण प्रतिवेदनमा लेखा समितिले करेक्सन गर्ने, सुझाव दिनुपर्ने हो तर सही गरिरहेको पाइन्छ । समग्रमा भन्नुपर्दा लेखा समिति जति सशक्त बनाउनुपर्ने हो, त्यसो हुन सकेको छैन । कहिलेकाहीँ सञ्चालक समिति बहकाउमा निर्णय गर्न पनि सक्छ । इन्टेन्सनल्ली निर्णय गर्ने त खराब नै भइहाल्यो । नजानेर गरिने निर्णयलाई बेलैमा देखेर करेक्सन गराउने काम लेखा समितिले गर्ने हो । त्यस्तोमा केही ठाउँमा जोडेर अधिकांशमा लेखा समिति सेरेमोनियल छ । जिल्ला संघमा व्यक्तिगत हिसाबले डोमिनेट हँुदैन । कार्यक्रमका हिसाबले डोमिनेट भएको महसुस भएको छ । उहाँहरूले सञ्चालक समिति भएपछि गरिहाल्छ भन्ने कन्सेप्ट बनाएको छ । लेखा समितिको कर्तव्य र कामलाई अझ सशक्त बनाउन लागिपरेको छु । लेखा समितिलाई छुट्टै तालिम दिन आवश्यक छ । विनियम, मापदण्ड सबैका बारेमा जानकारी दिन आवश्यक छ । सिंगो सहकारी मुमेन्टमा चाहेर या नचाहेर सशक्त हुन सकेका छैनौं त्यसतर्फ राज्यले भूमिका खेल्नुपर्छ । संस्थाको निर्णय कार्यान्वयनमा कार्यक्षमता कमजोर छ । कमजोर हुनुको कारण लेखा समिति सक्रिय नभएर पनि हो । यति समयभित्र कार्यान्वयन भएन भने यस्तो हुन्छ भन्ने हुन आवश्यक छ । कार्यान्वयन नहुने विषयमा मौन बसेको पाइन्छ, कहिलेसम्म मौन बस्ने त ? लेखा समितिले एक्सन लिन सक्ने कि नसक्ने ? यो समस्याको विषय बनेको छ ।
तालिम नभएर पनि समस्या भएको हो, लेखासम्बन्धी तालिम दिने योजना बनाउनुभएको छ ?
– दामोदर अधिकारी
सबभन्दा पहिला ऐनले, संस्थाको विनियमले लेखा समितिलाई उच्च स्थान दिएको छ । लेखा समिति गठन प्रक्रियामा जाँदा ओझेल पारेर गठन गरिन्छ । निर्वाचन हुँदा लेखा समिति गठन गर्नुपर्ने भएको हुनाले गर्ने हो भन्ने गरिएको महसुस हुन्छ । अध्यक्षलगायत सञ्चालक टिमलाई सघाउन व्यवस्थापन टिम हुन्छ । लेखा संयोजकलाई सघाउन कोही हुँदैन । यसमा झन् सक्षम व्यक्तिको आवश्यकता पर्छ भन्ने कुरा सदस्यले नै नबुझेको कारणले गर्दा ओेझेलमा पार्ने प्रयास गर्दछन् । कतिपय लेखा समितिले काम, कर्तव्य र अधिकारका बारेमा विनियम पढेका पनि हुँदैन । लेखा समितिमा चुनिएर आए पनि कामबारे थाहा छैन । नेफ्स्कुनमा निर्वाचन भएको दुई महिनामा बोर्ड ओरियन्टेसन राख्छौं । अक्कुबाटै फ्यासिलेट गर्न आउँछन् । तालिम गर्दा लेखा समितिलाई उत्तिकै जोड दिनुपर्छ । यसपटक नेफ्स्कुनले लेखा समितिको भूमिका र दायित्वबारे शिखर गोष्ठी गर्ने तयारी गर्दैछौं । लेखा समिति सक्रिय भएन भने गुड गभर्नेस हुँदैन । लेखा समितिको संयोजकको नाताले लेखा समितिलाई शिक्षित, प्रशिक्षित, दीक्षित गर्ने कुरामा म समर्पित भएर लाग्नेछु ।

सैद्धान्तिकरूपमा लेखा समिति पावरफुल भए पनि व्यवहारतः त्यस्तो देखिएको छैन्, व्यावहारिकरूपमा पावरफुल बनाउन के गर्नुपर्छ ?
– कुलचन्द्र अधिकारी
सहकारी विभागले लेखा समितिको भूमिकाबारे कमजोर आकलन गरेको छ । सञ्चालक र लेखा समिति सक्रिय हुनुपर्छ भन्ने कुरा विभाग तथा मातहत कार्यालयले सिकाउनुपर्छ । सहकारी विभागकै कारण लेखा समिति सक्रिय हुन नसकेको म ठान्दछु । संस्थामा निरीक्षण गर्दा टालटुले पारा छ । विभाग, मन्त्रालय, मुभमेन्ट सबैको भूमिका महत्वपूर्ण छ । नेता बन्ने भन्दा लनि लेखा समिति बलियो बनाउन सबै केन्द्रीय संघलाई समेटेर बोर्ड बनाउनु पर्छ । लेखा समिति कमजोर हुँदा सञ्चालक समिति छाडा भएको अवस्था छ । डोमिनेट गर्न खोजेको अवस्थामा च्यालेन्ज गर्न सक्ने शक्ति हामीसँग हुनुप¥यो । लेखा समितिको संख्या तीन जनालाई बढाएर लैजानुपर्छ । ऐनमै संशोधन गर्नुपर्ने अवस्था छ । पाँच या सात जनासम्म हुनुपर्छ भन्ने हाम्रो मान्यत हो ।

नेतृत्व तहमा आएका सहकारीकर्मीको प्रारम्भिक सहकारीमा नै लेखा समिति प्रभावकारी नभएको भेटिन्छन्, यो प्रवृत्ति हटाउन के गर्नुपर्ला ?
– कमलराज अधिकारी
तालिम नै मुख्य कुरा हो । नेतृत्व तहमा भएका साथीहरूको सहकारीमा लेखा समिति प्रभावकारी नभएको छ होला । किन त्यस्तो भयो भने तालिमकै अभाव हो । काठमाडौं बचत संघको हकमा लेखा समिति उपसमिति जस्तो भएर काम गर्ने छैन । हामीले लेखा समिति अभिमुखीकरण तालिम दिन सुरु गरेका छौं । लेखा समितिमा बोल्न नसक्ने मान्छे राख्नुपर्छ भन्ने गरेको सुनिन्छ । नैतिकताका आधारमा मात्र मान्नुपर्छ भन्नेले काम गर्दैन ।

काठमाडौंका सहकारीमा अन्य क्षेत्रको तुलनामा समस्या बढी छन्, समस्या हुनुमा लेखा समिति सक्रिय नभएर हो ? लेखालाई सक्रिय बनाउन काठमाडौं संघले के गर्दैछ ?
– केशव पोखरेल
विशेष गरेर काठमाडौंमा तीन हजार संस्था छन् । करिब २७ सय सञ्चालनमा छन् । हामीसँग १८ सय सहकारी आबद्ध छन् । सबभन्दा बढी समस्या काठमाडौंमा छ । बैंकभन्दा ठूला संस्था पनि छन् । काम गराईको तौरतरिका बैंकजस्तै छ । सञ्चालक समिति बन्ने बित्तिकै जिल्ला संघले अनिवार्य तालिम गर्ने गरेको थियो, अहिले त्यस्तो छैन । सञ्चालक समिति र लेखा समितिलाई सँगै राखेर सम्बन्धित संस्थाले तालिमको आयोजना गर्नुप¥यो । काठमाडौंका धेरै संस्था हेर्दा तालिम पनि लिन्छ कतिपय संस्था तालिममा पैसा खर्च गर्न सक्दैनन् । त्यस्ता सहकारीलाई कम पैसामा फ्यासिलेट गरिदिन आवश्यक छ । काठमाडौं संघले १० निर्वाचन क्षेत्रमा क्षेत्रीय उपसमिति बनाएका छौं । उहाँहरूमार्फत लेखा समितिको छुट्टै तालिम दिने सोचेका छौं । काठमाडौं जिल्ला संघले तालिमको कार्यक्रम पनि चलाइरहेका छ । तर पर्याप्त छैनन् । मान्छे अमेरिका बसेर पनि कार्यकारी पदमा बसेको, बैठक भत्ता बुझेको पनि स्थिति रहेछ । सञ्चालक समितिको बैठकमा जतिबेला गएर पनि सही गरिदिने । विशेष गरेर पोलिसी बनाउने कुरामा सँगै बस्दा भयो । त्योबाहेक आर्थिक क्रियाकलाप, लोनका कुरामा लेखा समिति बसिरहन आवश्यक छैन । पोलिसीभन्दा बाहिरको कुरामा पनि लेखा समिति बस्ने कुराले सञ्चालक समितिलाई सहज भइरहेको छ । नीति नियममात्र सबै कुरा होइन, कार्यशक्ति ठूलो कुरा हो । समस्या छन्, निराकारण गर्न इम्पावर गर्न आवश्यक छ । 

Share This: