चैत २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन : केशव बडालको संयोजकत्वमा मूल समारोह समिति गठन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा आउँदो चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुने भएको छ । नेपालको सहकारी अभियानको हालसम्म भएका उपलब्धिहरुको समीक्षा गर्दै आगामी पाँच वर्षका लागि दिशानिर्देश गर्ने उद्देश्यका साथ महासम्मेलन गर्न लागिएको सूचना तथा प्रचार प्रसार उपसमिति
तथा दोस्रो सहकारी महासम्मेलनका संयोजक चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका नव निर्वाचित अध्यक्ष एरियल ग्वार्काे विशेष अतिथिको रूपमा र अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रीय बोर्डका सदस्यहरूको अतिथिको रूपमा सहभागिता रहने भएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय, प्रादेशिक र संघीय सरकारको भूमिका, संरचना र नीति, दिगो विकास लक्ष्य प्राप्तिको कार्यान्वयनमा सहकारी क्षेत्रको सहभागिता, नेपालको सहकारी अभियानको सन् २०२२ सम्मको परिकल्पना, तीन खम्वे अर्थनीतिको सन्दर्भमा सार्वजनिक, सहकारी र निजी क्षेत्रबीचको सहकार्य लगायतका विषयवस्तुहरूमा देश÷विदेशका विषय विज्ञहरूद्धारा कार्यपत्र प्रस्तुत गरी निष्कर्ष निकालिने महासंघले जनाएको छ ।

 

महासम्मेलनमा सहकारी संघ\संस्था, सहकारी सम्बद्ध सरकारी तथा गैह्सरकारी निकायका प्रतिनिधिहरू करिव १ हजार जनाको सहभागिता रहने छ । महासम्मेलन सफल बनाउन महासंघको मूल समारोह समितिको बैठक बसी विभिन्न निर्णय गरेको छ ।

 

बैठकले मूल समारोह समितिले गरेका निर्णयहरुलाई छिटो छरितो कार्यान्वयन गर्नका लागि महासंघका अध्यक्ष केशव प्रसाद बडालको संयोजकत्वमा १३ सदस्यीय स्टेरिङ्ग कमिटी निर्माण गरेको छ । सो समितिको सदस्यमा सहकारी तथा गरिवी निवारण मन्त्रालयाका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, संचालकद्वय रविन्द्र केसी र सुरेन्द्र भण्डारी, सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीलगायत रहनुभएको छ ।

 

महासम्मेलनलाई व्यवस्थित र प्रभावकारी रुपमा आयोजना गर्नका लागि महासंघका संचालक माधव दुलालको संयोजकत्वमा व्यवस्थापन उपसमिति, सञ्चालक रमेशप्रसाद पोखरेलको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन उपसमिति, संचालक चन्द्रप्रसाद ढकालको संयोजकत्वमा सूचना तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ । यस अघि पहिलो राष्ट्रिय सहकारी महासमेलन २०७० को चैत ११ देखि १३ सम्म काठमाडौंमा भएको थियो ।

Share This: