‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका’

सन्दर्भ ६० औं राष्ट्रिय सहकारी दिवस

सूचना चौतारी सञ्चार सहकारी संस्थाले आयोजना गरेको डबलीको २६ औं शृंखलामा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका’ विषयमा छलफल गरेका छौं । राष्ट्रिय सहकारी संघले ६० औं सहकारी दिवसका अवसरमा उक्त विषय तय गरेको छ । हामीले त्यस विषयमा छलफल गरेर दिगो विकासका लागि सहकारीको भूमिका र योगदानबारे चर्चा गर्न खोजेका छौैं । डबलीमा सहकारी तथा गरिबी निवारण  मन्त्रालयका सूचना अधिकारी उपेन्द्र ढुंगाना, राष्ट्रिय सहकारी संघका सञ्चालक रवीन्द्र केसी र एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम हुनुहुन्छ ।
सर्वप्रथम तपाइं लामो समय विभागमा बसेर पनि काम गर्नुभयो, अहिले मन्त्रालयमा हुनुहुन्छ, त्यहा“ बसेर हेर्दा सहकारीले दिगो विकासका लागि कस्ता काम गरेको पाउनुभएको छ ?
उपेन्द्र ढुंगाना
सूचना अधिकारी
सहकारी तथा गरिबी निवारण मन्त्रालय
मूलतः सहकारी सदस्य केन्द्रित र समुदायमा आधारित हुन्छ । यसले स्थानीय स्रोतसाधन परिचालन गर्ने गर्दछ । सदस्यको आवश्यकता परिपूर्ति गर्नका लागि उत्पादन तथा बजार व्यवस्थापन, सदस्यहरूको बचत गर्ने बानीको विकास र पुँजीको सिर्जना गर्छ । पुँजी परिचालनबाट आवश्यकता परिपूर्ति गर्दै सदस्यको आर्थिक समृद्विको बाटोतर्फ लगेको छ । माग र आपूर्तिको आधारमा सहकारी सञ्चालन हुन्छ । यो वर्ष राष्ट्रिय सहकारी दिवसको नारा दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरिएको सान्दर्भिक लागेको छ । सहकारी संस्थाले उत्पादन, बजारीकरण, प्रशोधनका काम गरेका छन् । अर्कोतिर ससाना पुँजीलाई एकीकृत गर्दै पुँजी निर्माण गरिरहेका छन् । निश्चिय नै वित्तीय क्षेत्रमा यसको योगदान बढ्दै गएको छ । सदस्यका लागि र समाजको उन्नतिका लागि सहकारीले धेरै राम्रो काम गरेका छन् ।
राष्ट्रिय सहकारी संघले यो वर्षका लागि ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा तय गरेको छ । यद्यपि, विगतमा अन्य नाराहरू पनि तय भएका थिए । नारा तयमात्र हो कि, उद्देश्य पूर्तिका लागि के काम गरिरहेका छौं ?
रवीन्द्र के.सी.
सञ्चालक राष्ट्रिय सहकारी संघ
सहकारी दिवस नजिक आउँदै छ, नारा पनि हामीले तय गरिसकेका छौं । नाराहरू कार्यान्वयन भए नभएको समीक्षाका विषय हुन् । कुनै पनि नारा उद्देश्य प्राप्तिका लागि शतप्रतिशत हुँदैनन् तर उद्देश्य प्राप्ति हँुदै नभएको भने होइन । हिजोभन्दा आज, आजभन्दा भोलि सहकारीमा प्रगति भइरहेको छ । सहकारी अर्थतन्त्रको एउटा खम्बा भएकाले हिजोभन्दा आज, आजभन्दा भोलि यसको प्रगति भइरहेको छ । नेपालमा मुख्यगरी गरिबी निवारण, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने सवालमा सहकारीको भूमिका महत्वपूर्ण छ । सहकारीबाट खासगरी ग्रामीण क्षेत्रमा ठूलो योगदान पुगेको छ । सहकारीको माध्यमबाट दिगो विकासको लक्ष्य प्राप्तिका लागि कृषि, उत्पादन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा योगदान पुगेको छ । यी विषयवस्तुमा केन्द्रित गरेर आगामी दिनमा सहकारीको उपस्थिति र भूमिका अझ बलियो बनाउने गरी यस वर्षको नारा ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी’ तय गरेका हौं ।
तपाईं गैरसरकारी संस्थामा रहेर काम गरिरहनुभएको छ, त्यहा“ बसेर हेर्दा सहकारीले गरिब, असहाय र वृद्धवृद्वाको पक्षमा कस्तो काम गरिरहेको पाउनुभएको छ ?
कृष्णमुरारी गौतम
अध्यक्ष
एजिङ नेपाल

धेरै चलनचल्तीका कुरा छैनन्, सन् २०१६ देखि आएका कुराहरू छन् । अहिलेसम्म सहकारीको विशेष कुरा भनेको गरिबी हटाउने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने नै हो । विश्व विकासमा सन् २००० देखि हरेक देशले गर्नेपर्ने आठवटा लक्ष्य थिए । महिला, शिक्षालगायतका कुरा थिए । कुन देशले कति पायो, त्यो सकियो । नवीकरण भएर २०१६ जनवरी देखि सन् २०३० सम्मका लागि थप १७ वटा लक्ष्य तय भयो । केही हामीसँग असम्बन्धित छन् । संयुक्त राष्ट्र संघमा नेपालले पनि हस्ताक्षर गरेको छ । गरिबीको अन्त्य पहिलो लक्ष्य हो । राम्रो स्वास्थ्य, शिक्षा र महिला सशक्तीकरणका कुरा पनि लक्ष्यमा छन् । विश्वमै कसैलाई पनि पछाडि नपार्नु भन्ने नारा तय भएको छ । बाँकी १५ वर्षसम्म दिगो विकासका लागि यी विषय केन्द्रित हुनेछन् । बूढाबूढीका लागि कुनै पनि योजनाले समेट्न सकेका छैनन् । उनीहरूलाई आर्थिक क्रियाकलापमै राख्ने भन्दा वृद्धभत्ता दिनेमा जोड दिएका छौं । युवाको भन्दा बूढाबूढीको संख्या बढी छ । त्यसो हुनाले पनि सहकारीमा उनीहरूको नै पैसा बढी छ ।
सहकारीहरूले ज्येष्ठ नागरिकलाई पनि उत्पादनमा लगाउनुपर्छ । अहिले ६० वर्षभन्दा माथिका लागि काममा निषेध गरिएको छ । अहिले २८ लाख बूढाबूढी छन् । उनीहरूलाई वृद्धाश्रममा राखेर वृद्धभत्ता दिएर पाल्न सकिँदैन । समावेशी आर्थिक प्रणाली आवश्यक छ । काम गर्न सकुन्जेल काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यसमा सहकारीले पनि भूमिका खेल्न सक्नुपर्छ ।
दिगो विकास लक्ष्यअनुरुप गरिबी घटाउनका लागि सहकारीमार्फत के योगदान दिन सक्छन् ?
–उपेन्द्र ढुंगाना
अहिले मन्त्रालयको नाम नै सहकारी तथा गरिबी निवारण मन्त्रालय नै छ । यसको भाव गरिबी निवारण सहकारीबाट हुन्छ भन्ने कुरा हो । गरिबी निवारण, रोजगारी सिर्जनालगायतका काम यसैबाट सम्भव छ । धेरै एनजीओ आएका छन्, उनीहरूले बाहिरबाट ल्याएर समुदायमा छर्ने काम गरेका छन् । तर सहकारीले बाहिरबाट स्रोत ल्याउँदैन, आफैं स्रोत सिर्जना गर्छ । त्यो कारणले सहकारीले गर्ने बिजनेस बढी सफल हुन्छ । बाहिरबाट दिएको स्रोतले अपनत्व फिल हुँदैन । हाम्रो लक्ष्य सबै जिल्लामा गरिबीको तथ्यांक लिने र वर्गीकरण गर्ने तयारी गरेका छौं । गरिब हो भन्ने पहिचान गरी परिचयपत्र वितरण गर्ने र सहकारीमा आबद्ध गराउने सोच छ । सरकारले दिने सबै सुविधा सहकारीमार्फत एउटै डोरबाट उपलब्ध गराउने र व्यावसायिक क्षमतामा जोड दिने र आर्थिक वृद्धिदर हासिल हुन्छ । सरकारको सहयोग र उहाँहरूले छानेका आयोजनामा थप बल पुग्छ । गरिबी हट्छ । यसमा उमेरको कुनै विभेद हुँदैन । समावेशीका कुराहरू हुन्छन् । महिलाको सहभागिता अझ बढ्ने देखिन्छ । सहकारीका कारण महिलाको आर्थिक उपार्जन अझ बढ्ने देखिएको छ ।
सहकारी पैसाको किनबेचमा केन्द्रित भएको पाइन्छ । अब सहकारी कृषिलगायत विभिन्न उत्पादन क्षेत्रमा जानुपर्छ भनेर आवाज उठाउन र लभिङ गर्न राष्ट्रिय सहकारी संघले किन सकिरहेको छैन ?
–रवीन्द्र केसी
कुनै पनि देशको दिगो विकास गर्नका लागि सबैभन्दा महत्वपूर्ण हिस्सा भनेको उत्पादन नै हो । नेपालमा उत्पादन बढाउनु नै पहिलो आवश्यकता हो । आज रेमिट्यान्स बढिरहेको छ तर यहाँ बस्नै पाउँदैन । भारत र चीनमा यहाँ आएको रेमिट्यान्स फर्किरहेको छ । नेपालमा उत्पादित वस्तु नै छैनन् । उदाहरणको रूपमा दसैैं र तिहारमा मात्र भारतबाट राँगा र खसीमात्र ३० अर्बको आएको छ । चाइनबाट त्यस्तै विभिन्न वस्तु आयात भइरहेको छ । जबसम्म कृषिलाई फोकस गरेर जान सक्दैनौं तबसम्म दिगो विकास हुन सक्दैन । राज्य यसप्रति उत्तरदायी हुनुपर्छ । कृषकलाई उत्पादन गर्नका लागि सफ्ट कर्जाको व्यवस्था गर्नुपर्छ, लङटर्मका लागि ऋण दिनुपर्छ । कृषिमा सहकारी, बैंक सबैले खुसीसाथ ऋण दिनुपर्ने हो तर यहाँ त घर किन्न, गाडी किन्नका लागि ऋण दिन प्रतिस्पर्धा छ । कृषकले विशालरूपमा केही आधुनिक कृषि फार्म सञ्चालन गर्छु भन्दा बैंकले त्यसको कुरा सुन्दैन । यो पोलिसी परिवर्तन हुनुपर्छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सातवटै प्रदेशमा गोष्ठी राखेका छौं । हाम्रो ध्यान उत्पादनतर्फै छ । ५० लाख नेपाली युरोप, अमेरिका पठायौं, त्यो पैसा नेपाल आउँछ । तर उताबाट आएको पैसा चीन, भारत तथा अर्को देशमा जान्छ । अहिलेसम्म आलुमा आत्मनिर्भर छैनौं, प्याजमा मात्र पनि आत्मनिर्भर छैनौं । दिगो विकास लक्ष्य प्राप्तिका लागि कृषिमा आत्मनिर्भर अपरिहार्य छ । एक करोडभन्दा माथिको सेभिङ एन्ड क्रेडिट कारोबार गर्ने सहकारीलाई नीति बनाएर नै कुनै न कुनै क्षेत्रमा उत्पादनतर्फ लागेको हुनुपर्ने देखिएको छ । मुख्य कुरा सरकार सहकारीप्रति सकारात्मक हुनुपर्छ । उत्पादनलाई विशेष प्रोत्साहन दिनुपर्छ । उत्पादित भएको वस्तुलाई राज्यले नीति निर्माण गरेर खरिद गर्ने व्यवस्था गरिदिनुपर्छ । चीन, भारत तथा जापानलगायतमा कृषकले विभिन्न कुरामा अनुदान पाउँछन् । र उत्पादित वस्तु सरकारले नै खरिद गर्छ तर यहाँ त्यस्तो व्यवस्था छैन । लगानी गरेको भन्दा कैयांै गुणा कृषिबाट लाभ लिन सक्ने व्यवस्था गरे कृषिमा आकर्षण बढ्छ ।
सहकारी आर्थिक प्रणाली मात्रै नभई सामाजिक प्रणाली पनि हो । ज्येष्ठ नागरिकलाई पनि सहकारीमार्फत उत्पादनशील क्षेत्रमा कसरी जोड्न सकिन्छ ?
–कृष्णमुरारी गौतम
६० वर्ष माथिकाले पनि आर्थिक क्रियाकलापमा राम्रोसँग सहभागिता जनाउन सक्छन् । बूढाबूढीसँग रहेको परम्परागत ज्ञान र सीपलाई नमरुन्जेलसम्म आर्थिक क्रियाकलापमा लगाई रहनुपर्छ । उनीहरूको क्षमता परिचालन गर्ने अभाव भएका हुँदा सहकारीले रचनात्मक भूमिका खेल्न सक्छ । ६० वर्ष पुग्दाबित्तिकै मर्न तयार भएको भन्ने रूपमा नहेरी कसरी उनीहरूलाई पनि सही तबरले परिचालन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । वृद्धभत्ता बैंकभन्दा सहकारीमार्फत वितरण गरिए केही प्रभावकारी हुन्छ । सरकारी बैंक कहाँकहाँ छन्, गाउँमा त कोअपरेटिभ छन् नि । सरकारले रिसोर्सहरू मोबिलाइजेसन गर्छ, ती सबै सहकारीमार्फत गर्न सक्यो भने पनि धेरै प्रगति हासिल हुन्छ । सबैभन्दा धेरै पैसा पनि बूढाबूढीसँग नै छ । श्रीमतीलाई घरबाट निकाल्दा आधा सम्पत्ति दिनुपर्छ, बाबुआमालाई निकाल्दा पूरै सम्पत्ति खान पाइने जस्तो भइरहेको छ, यो अन्यायपूर्ण छ । आफ्नो संस्कृति पनि छोड्दै जाने, नयाँ कुरा पनि पूरै स्वीकार नगर्ने परिपाटी अन्त्य हुनुपर्छ । सहकारीको सामाजिक पक्ष छ, त्यसलाई अझ बलियो बनाउन जरुरी छ । आफ्नो बुढ्यौली सुरक्षित गर्नका लागि पनि अहिलेको युवाले खासगरी सहकारी क्षेत्रमा लागेका युवा क्रियाशील भएर वृद्धवृद्धाको एक्लोपनाको अन्त्य र उनीहरूको अवमूल्यनलाई सहजीकरण गर्नुपर्छ ।
सहकारीका माध्यमबाट वृद्धभत्ता वितरण हुनु राम्रो कुरा हो । तपाईंले भनेजस्तो सरकारले सहकारीमार्फत वृद्धभत्ता सहकारीमार्फत वितरण गर्ने वातावरण मिलायो भने भत्ता लिनकै लागि गाउँबाट सहर जानुपर्ने झन्झटमा मुक्त हुन्छन् । केही सुविधा दिने हो भने सहकारीले गाउँगाउँमा रचनात्मक सेवा दिन सक्छन् । यसका लागि चाँडो पहल भइदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
रामप्रसाद दाहाल
अध्यक्ष
विराट समाज
मलाई पनि राम्रो लाग्यो । सहकारीमार्फत नै गाउँगाउँसम्म दिगो विकास पुग्न सक्छ । दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी अपरिहार्य छ । यस विषयमा भएको छलफल सुन्न र भाग लिन पाउँदा खुसी लाग्यो । यस वर्षको सहकारी दिवसको नारा साँच्चिकै दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी नै हो भन्ने यथार्थलाई  बोकेको छ । मुलुकको विकासका लागि हरेक कुराहरू सहकारी मार्फत लैजाने हो भने विकासको गतिले तीव्रता पाउँछ । त्यतिमात्र  होइन अन्य क्षेत्र भन्दा यो क्षेत्रबाट भएको कामहरूको विश्वसनीय बढी हुन्छ ।
दिनेशकुमार मगर
अध्यक्ष
विराज साकोस
दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा एकदमै सान्र्दभिक लाग्छ । यो वर्ष मात्र नभएर सहकारीले दिगो विकासका लागि काम गर्नुपर्छ । शिक्षकको तलब तथा विकास बजेट पनि सहकारीमार्फत गाउँगाउँमा पु¥याउनुपर्छ । दुर्गममा एउटा स्कुल छ, तीन दिन हिँडेर बैंकमा आएर उसले तलब लैजानुपर्ने समस्या छ । राज्यले एक वर्षलाई मात्र सीमित नगरेर यो नारालाई सशक्त ढंगले जोडतोडले कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ ।
दीपेन्द्र राउत
अध्यक्ष
शिखर साकोस
सहकारीबाटै सबल र समृद्ध मुलुक निर्माण गर्न सकिन्छ । अहिलेको सहकारी दिवसको नाराले दिगो विकासका लागि सहकारी नै आवश्यक छ भन्ने कुरा
पुस्ट्याइँ गरेको छ । २०४८ मा बनेको सहकारी ऐन अहिलेको लक्ष्य प्राप्तिका लागि सान्दर्भिक नभएकोले नयाँ ऐन सहकारी  मैत्री ऐन आउनुपर्दछ जसले दिगो विकास लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण भूमिका खेल्न सकोस् ।
प्रत्येक वर्ष नारा तय गरिन्छन्, कुनै काम नभएर त्यत्तिकै हराएर जान्छन्, तपाई गरिबी निवारणमा समेत काम गर्ने भएकाले अब सहकारीमार्फत दिगो विकासका लागि यो यो काम गर्न सक्छन् भनेर मन्त्रालयले गुरुयोजना बनाउन सक्दैन् ?
–उपेन्द्र ढुंगाना
दिगो विकास निरन्तर रहिरहने कुरा हो । आज हामीले विकास गर्छौ त्यो हाम्रा सन्ततीले पाउने कुरा हो । दिगो विकास आगामी पुस्तालाई विकास देखाउने कुरा हो । विकास सधैं दिगो र स्रोतसाधनको उपयोग दिगो हुने गरी गर्नुपर्छ । सहकारी संस्था पनि दिगो हुनुपर्छ । स भनेको सहकार्य सँगसँगै कम्तीमा २५ जनाको समूह, ह भनेको हतार नगर्ने, बिस्तारै काम गर्ने, मिलेर काम गरौं । यसो भयो भने ऋद्धिसिद्धि प्राप्त हुन्छ । हतारहतार गरी एकैचोटी धनी बन्न खोजे दुर्घटनामा परिन्छ । बिस्तारै सहकारीको मूल्यमान्यता पालना गर्दै गइयो भने दिगो भइन्छ । सहकारीको मूल्यमान्यतामा हिँडेका सहकारी कहिले पनि जोखिममा हँुदैनन् । बिकु सहकारी ५० पैसाबाट सुरु भएको हो आजको कारोबार र उसको सेवा हेर्नुहोस् । दोलखाको जनसचेतना पनि राम्रो ढंगले अघि बढेको छ । द्वन्द्वकालमा पनि सहकारीहरू सुरक्षित रहेर सदस्यलाई सेवा दिइरहे । सहकारीमा सदस्यको शिक्षा र सचेतना ठूलो कुरा हो । सहकारी पैसाको कारोबारमात्र होइन उत्पादनमा जानुपर्छ । स्थानीय स्रोत क्षमता परिचालन गर्ने वातावरण दिनुपर्छ । यसमा शिक्षा, तालिम र सूचना मुख्य कुरा हुन्छ । त्यस्तै सरकारले पनि स्रोत साधन हेरिदिनुपर्छ ।
गाउँगाउँमा मोटर पुगेको छ । बाल मृत्युदर घटेको छ तर गरिबी झन् बढेको देखिन्छ । त्यसो हुनाले तल्लो वर्गलाई माथि उठाएर ल्याउनु नै दिगो विकास हो । पिछडिएका वर्गको आर्थिक स्थिति मजबुत बनाउनुप¥यो अनिमात्र दिगो विकास सम्भव हुन्छ । लक्षित वर्गमा सहकारी पु¥याउनुपर्छ । सीमान्तकृत छन्, भूमिहीन छन्, मजदुर छन् । राज्यले अनुदान त पहिल्यै नै दिन्थ्यो, अब त्यस्ता वर्गलाई बिउ पुँजी दिन थालेका छौं । त्यस्ता वर्गलाई व्यवसायी बनाउने, उनीहरूका उत्पादन बजारसम्म ल्याउने हो । अब लक्षित वर्ग छानेर उनीहरूको समूह बनाउने हो । सामूहिक रूपमा या व्यक्तिगतरूपमा काम गर्ने गरी अब अनुदान दिइन्छ । सहकारीलाई निजी क्षेत्र, तथा सार्वजनिक क्षेत्रसँग प्रतिस्पर्धी बनाउनुपर्छ । एउटा संस्थाले ठूलाठूला उद्योग सञ्चालन गरेर जानुप¥यो । सहकारीको आफ्नो औद्योगिक ग्राम हुनुप¥यो । अहिले विशिष्टीकरण संघको अवधारणा आइरहेको छ । धेरै सहकारी संस्थाले आफ्ना पुँजी संकलन गर्छन् । एउटा संघ बनाउँछन् । संघमार्फत हाइड्रो सञ्चालन गर्न सक्छन्, कृषि औजारमा लगानी गर्न सक्छन्, ठूला उद्योग, फ्याक्ट्री सञ्चालन गर्न सक्छन् । त्यस्तै संस्था सक्षम हुनका लागि अनुगमन र नियन्त्रण मुख्य कुरा हो । सहकारी मूल्यमान्यता, सिद्धान्तको आधारमा सहकारीको अनुगमन हुन जरुरी छ । बिग्रेका भए खारेज गर्नुपर्ने वा सुधारको मौका दिनुपर्ने हुन्छ । ठूलो कार्यक्षेत्र भए कार्यक्षेत्र सीमित बनाउनुपर्ने हुन्छ । सदस्यको नियन्त्रण भन्दा बाहिर भएको भए सुझाव दिने कुरो होला । यी भयो भने सहकारीमा लक्षित वर्गको पहुँच पुग्छ । लक्षित वर्गको उत्थान हुनु नै दिगो विकास हो । सहकारीमार्फत नै लक्षित वर्गको उत्थान हुन्छ । यदि सहकारीलाई उत्पादन क्षेत्रमा लैजाने हो भने मार्केटिङ र प्रोसेसिङमा जानुपर्छ । यसमा कृषि संघ र सहकारी संघले कदम चाल्नुपर्छ, सरकारले सहयोग गर्न तयार छ । युवा स्वरोजगार कोष, गरिबसँग विश्वेश्वर कार्यक्रम, गरिब निवारण कोष यस मन्त्रालयअन्र्तगत नै आउनुपर्छ । यी कार्यक्रममा अनुदान होइन ऋण र सफ्टलोनकै कुरा छ । त्यो पैसा सहकारीमार्फत परिचालन गर्ने र सँगसँगै सदस्यको बचत पनि उठाउने गर्नुपर्छ । यसो हुँदा स्थानीय स्रोत पनि प्राप्त हुन्छ । सर्वसाधारणले राम्रो प्रतिफल पाउँछन् । सहकारी मजबुत भएमात्र दिगो विकास छिटो हुन सक्छ । अब हामीले यो ठाउँमा संस्था आवश्यक छ, यो ठाउँमा संस्था आवश्यक छैन भन्न सक्छौं । दिगो विकासका लागि सहकारीको भूमिका अझ बढ्न सक्छ ।
हामी दिगो विकासको कुरा गर्दैछौं । सहकारी सदस्यमैत्री हुन नसकेको थुपै्र उदाहरणहरू पनि छन्, सहकारीले ऋण दि“दा चर्को ब्याज लिने र निक्षेपमा थोरै पैसा लिने गरेका छन् । सदस्यको हितका लागि अभियानै बनाएर चाहे लिने या दिनेमा थोरै ब्याजदर बनाउन सक्दैन् ?
–रवीन्द्र के.सी.
सहकारीले चर्को ब्याज लिइरहेको यथार्थ हो । अर्थ समितिमा छलफल चल्दा सांसदहरूले यतिसम्म भने कि ‘सहकारी त म्यानपावरभन्दा पनि कडा पो निस्किए ।’ विगत २० वर्षमा सहकारीले अर्थतन्त्रमा सकारात्मक योगदान दिएको छ । चर्को ब्याज लिएका छन् सहकारीले, हामी यसमा सचेत छौं । बैंकहरूले पनि १३, १४ प्रतिशत लिन थालेसके । वैज्ञानिकरूपमै अध्ययन गरेर देशभरिका सहकारीको ब्याजदरमा एकरूपता ल्याउन आवश्यक छ । विभिन्न विषयमा वर्गीकरण गरेर सहकारीको ब्याज र ब्याजदरमा कन्ट्रोल गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रै सञ्चालकको पनि २२, २३ प्रतिशतसम्म ब्याज लगाएका छन् । म पनि एउटा संस्थाको अध्यक्ष हो, तर मैले त्यसो गरेको छैन, अहिलेसम्म कुनै सदस्यको सम्पत्ति लिलाम पनि गरेको छैन । सकारात्मक पक्ष धेरै छन्, नकारात्मक पक्ष पनि केही छन् । दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि पहिलो आवश्यकता सहकारी शिक्षा नै हो । प्रशिक्षण केन्द्रले दिने शिक्षा परम्परागत ढंगको भयो । पञ्चायत शैलीको, पुरानै ढंगको त्यस्तो शिक्षाले सहकारीको विकासमा सुधार गर्दैन । त्यो ढंगले हुँदैन । सहकारी शिक्षा विषयगतरूपमा केन्द्रित हुन जरुरी छ । कृषि, लाइभ स्टक, बिजनेस मार्केटिङ, इन्डस्ट्री कसरी सस्टेन्ट गर्ने लगायत विषय बुझेको मान्छे प्रशिक्षण केन्द्रमा हुनुपर्छ । पछिल्लो समय केही सुधार त भएको छ । मन्त्रालयले ३३ करोडभन्दा बढी अनुदान दिइरहेको छ । त्यो अनुदान गाउँका सहकारीले पाउँदैनन्, सहरकै सहकारीले पाउने विडम्बना छ । गाउँका सहकारीले दुई वर्षसम्म नाफा गर्न सकेका हुँदैनन्, केही गरौैैं भन्ने भावना हुन्छ । युवा स्वरोजगार कोषमा पनि त्यस्तै समस्या छ । नेतृत्वसँग मैले कुरा गरेँ । काठमाडौैंलगायत सहर केन्द्रित भएको छ कोषको कार्यक्रम । ग्रामीण सहकारी कोषको सफ्टलोनबाट वञ्चित भएकाले करेक्सन गर्न जरुरी छ । सरकारले यसरी दिने चारोले सहकारीको विकास हुुँदैन ।
सहकारीमा महिलाको सहभागिता उपस्थिति बढिरहेको छ । सहकारीले महिला हिंसा न्यूनीकरण गर्न, वालविवाह रोक्न कस्ता गतिविधि सञ्चालन गर्न सक्छन् ?
– कृष्णमुरारी गौतम
सहकारीको एउटा पाटो आर्थिक क्रियाकलाप नै हो । यसको विशेषता भनेको सामाजिक पक्ष हो । व्यक्तिलाई मात्र उत्पादनतर्फ लाने नभई सहकारी आफैंलाई पनि उत्पादनमा केन्द्रित गर्नुपर्छ । नेपालले यसरी काम गर्छांै भन्ने खाका बनाएको छ । पहिला आठवटा लक्ष्यमा काम गरेकोले अब १७ वटा लक्ष्यमा कसरी वार्षिक बजेट बन्छन्, हेर्न बाँकी छ । संयुक्त राष्ट्र संघले संसारभरका देशका लागि लक्ष्य निर्धारण गरेको हो । उक्त लक्ष्य प्राप्तिका लागि सबै देशले काम गर्छन् । भोकमरी हटाउन सहकारी नै क्रियाशील हुनुपर्छ । देशमा सक्षम बूढाबूढी छन्, उनीहरूलाई पनि काममा लगाउनुपर्छ । दिगो विकासमा १७ वटा लक्ष्य हुन् । मलाई दिएको भूमिका म निर्वाह गर्न सक्छु । बूढाबूढीका लागि नयाँ टेक्नोलोजी आएको छ । २० वर्षअघि पनि कृषि प्रधान थियौं, अहिले पनि त्यस्तै छौं । पञ्चवर्षीय योजना बन्छन्, अब अर्को वर्षका लागि बजेट बन्ने बेला भयो । राष्ट्रको पैसा पनि दुरुपयोग नहुने सेवा पनि लक्षितवर्गसम्म पुग्ने हुनुपर्छ । जनताको माया पाएर बस्ने संस्था सहकारी नै हो ।
–रामप्रसाद दाहाल
यहाँहरूले भनेजस्तो काम गर्न सके हामी दिगो हुनेछौं र सफल पनि हुनेछौं । कताकता सबै तहका सहकारीले चाहेअनुसारको काम गर्न सकेका छैनन् । राम्रा सहकारीलाई प्रोत्साहन गर्न सके सहकारीमार्फत अझ राम्रो काम हुन सक्छ ।
सहकारीले चर्को व्याज लिइरहेका छन् । जसले गर्दा सहकारीप्रति नकारात्मक भावना आएको छ । यी कुरामा निर्मुल गरेर राम्रो कामका लागि सहकारीमा लाग्नुपर्छ । अब सहकारीमार्फत नै देशको विकासका लागि लाग्नुपर्छ ।
सहकारीमार्फत सदस्यलाई आत्मसम्मानका साथ रोजगारी वा स्वरोजगारमा लगाउन के गर्नुपर्छ ?
– उपेन्द्र ढुंगाना
व्यक्ति कस्तो संस्था र कुन संस्थामा रहेर काम गर्दै छ भन्ने कुरा मुख्य हो । जब पैसा चाहियो त्यतिबेला सहकारी खोज्दै गयो भने उसको आत्मसम्मान हुँदैन । उसले घरघडेरीसमेत बिक्री गर्नुपर्ने हुन्छ । आत्मसम्मान खोज्न मेरो आवश्यकता यो हो, सहकारीले पूरा गर्न सक्छ भन्ने उसको सोचाइ हुनुप¥यो । समाजमा सहकारीको शिक्षा नै मुख्य कुरा हो । सहकारीको नाफा र कारोबारमात्र होइन, उसको भित्रीपक्षमा जानुपर्छ । सहकारी नाफाका लागि होइन भन्ने सदस्य र सञ्चालकले बुझ्नुपर्छ । त्योभन्दा पहिला सदस्यले कत्तिको राम्रो सेवा पाए भन्ने कुरा मुख्य हो । ६ प्रतिशतमा निक्षेप संकलन गर्ने र १८ प्रतिशतमा ऋण प्रवाह गर्ने सहकारी छ भने त्यहाँ सदस्यमैत्री भएन । यी कुरा हेर्नुपर्छ र सञ्चालकले पनि बुझ्नुपर्छ ।

Share This: