दूध उत्पादन बढाउन जोड

काठमाडौंं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी दुग्ध उद्योग व्यवस्थापन सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । दुग्ध उत्पादक किसनाहरुको व्यवसायिक दक्षता अभिबृद्धि र दूधको बजारीकरणलाई सहजीकरण गर्नका लागि तालिमको आयोजना गरिएको महासंघले जनाएको छ ।

 

कृषि विकास मन्त्रालयको सौजन्यमा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत ललितपुरका दुग्ध उत्पादक किसानहरुका लागि तालिमको आयोजना गरिएको थियो । सो तालिमको समापन कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय किसान आयोगका सदस्य तथा महासंघका सञ्चालक रविन्द्र केसीले दुग्ध उत्पादन किसानहरुका लागि बजार पर्याप्त भएकाले व्यवसायिक योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।

 

उहाँले राज्यको प्रशासनिक पुनर्संरचनाले केही अन्यौलता उत्पन्न भएको भएतापनि दूधका लागि ललितपुर उपयुक्त जिल्ला भएकाले महासंघले पाएको एक जिल्ला एक उत्पादनको कार्यक्रमलाई नमूनाका लागि ललितपुरलाई नै छनौट गरेको स्पष्ट पार्नुभयो ।

 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका सञ्चालक गोबिन्द बाराकोटीले सो कार्यक्रममा आवद्ध किसानहरुलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभयो।

 

त्यस्तै महासंघका कामु महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्गले सहकारी अभियानले ऐतिहासिक फड्को मारेको भएता पनि उत्पादन र बजारीकरणमा सहकारी क्षेत्रले अझै धेरै गर्न सक्ने सम्भावना रहेको औल्याउनुभयो ।

 

कार्यक्रममा इञ्जिनियर शैलजा श्रेष्ठ, डेरी विज्ञ बाबुकाजी पन्त, राजेन्द्र अधिकारी, युक्त कंडेल, कृषि विकास मन्त्रालयकी अधिकृत शोभा ढकाललगायतले प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रम जेष्ठ दुग्ध उत्पादक कृषक हरि प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

महासंघका नायव महाप्रबन्धक बाबुल खनालले तालिमको सहजीकरणका साथै संयोजन गर्नु भएको थियो ।

Share This: