सहकारीमार्फत रेमिटेन्स

भगीरथ अवस्थी

बैतडी  ।  जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाडौंकी भुवनेश्वरी नाथलाई आजभोलि विदेशबाट श्रीमानले पठाएको पैसा सजिलै प्राप्त हुँदा निकै खुसी लागेको छ । देहिमाडौंमा रहेको निंगलासैनी बचत तथा ऋण सहकारी संस्थाले विदेशबाट पठाएको पैसा सहजै उपलब्ध गराउन थालेपछि उनलाई सजिलो भएको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा रहेका श्रीमानले पठाएको पैसा सहकारीबाटै पाउन थालेपछि सजिलो भएको उनले बताइन् । उनले भनिन्, ‘पहिला विदेशबाट पठाएको रकम झिक्न सदरमुकामसम्म पुग्न झन्झट लाग्ने गथ्र्याे । अहिले गाउँकै सहकारीबाट पैसा पाउन सकिन्छ । यसले निकै सजिलो भएको छ ।’

जिल्लाको पाटन नगरपालिका ९ ककस्यालीकी जानकी भट्टले रोजगारीका लागि भारतको दिल्लीमा रहेका श्रीमानले पठाएको पैसा सहकारीमार्फत नै प्राप्त गरिन् । उनले भनिन्, ‘ श्रीमानले पठाएको पैसा ल्याउन सदरमुकामसम्म पुग्न गाह्रो हुन्थ्यो । कागजपत्र जुटाउनमै समस्या हुन्थ्यो । गाउँनजिकै रहेको सिद्धेश्वर बचत तथा ऋण सहकारीमार्फत विदेशबाट पठाएको पैसा पाइन थालेपछि खुसी लागेको छ ।’

पाटन नगरपालिका खोड्पेकी तुलसी विष्टलाई श्रीमानले पठाएको पैसा ल्याउन एक जना मानिस साथमा लिएर सदरमुकाम झर्नुपथ्र्यो । तर सहकारीले नै विदेशबाट आएको रेमिटेन्स गाउँमै दिन थालेपछि सजिलो भएको उनले बताइन् । उनले भनिन्, ‘ श्रीमानले पठाएको पैसा ल्याउन खर्च पनि धेरै हुन्थ्यो । सदरमुकाम पुग्नुपथ्र्यो कि त डडेल्लधुरा जानु पथ्र्यो । अहिले गाउँमै विदेशबाट पठाएको पैसा पाइन थालेपछि खुसी लागेको छ ।’

डिलासैनी ४ की धनमति लुहारलाई पनि भारतमा रोजगारी गरिरहेका श्रीमानले पठाएको पैसा सहकारीमै प्राप्त हुन थालेपछि खुसी लागेको छ । ‘घर खर्च चाहिएमा श्रीमानलाई फोन गर्छु । रेमिटेन्समार्फत पैसा पठाउनुहुन्छ । उहाँले पठाएको पैसा सहकारीमै पाइन्छ । घर आउने बेला पनि गोजीमा पैसा बोक्नुभन्दा रेमिटेन्समार्फत पठाउन भनेकी छु । यसले पुँजी पनि सुरक्षित हुन्छ । आउने बेला बाटोमा पनि सजिलो हुन्छ ।’

बैतडीका तीनवटा र दार्चुलाको एउटा सहकारीले ग्रामीण क्षेत्रमा रेमिटेन्स सेवा सुचारु गरेपछि स्थानीयलाई सजिलो भएको हो । ‘हामीले सहकारीमार्फत रेमिटेन्स सेवा सुरु गरेपछि गाउँलेलाई पनि सहज भएको छ । सेवा सुरु गरेको ६ महिनामै हामीले २८ लाखभन्दा बढी रेमिटेन्स भिœयाइसकेका छौं ।’ सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष हरिश विष्टले भने, ‘सहकारी भनेका ग्रामीण क्षेत्रका बैंक हुन् । हामीले यो सेवा सुरु गरेपछि स्थानीयबासीलाई निकै सजिलो भएको छ ।’

‘खास गरेर भारतमा रोजगारी गर्ने घर फर्किंदा सीमामै लुटिन्थे । तर अहिले उनीहरू समेत घर फर्किनुभन्दा पहिला नै सहकारीमार्फत घरमै पैसा पठाउँछन् । यसले उनीहरूको रकम सुरक्षित भएको छ’, अध्यक्ष विष्टले भने, ‘हामीले सेयर सदस्यको रेमिटेन्सबाट आएको पैसा व्यवसायमूलक काममा लगाउनसमेत प्रेरित गरिरहेका छौं ।’

बैतडी र दार्चुलाका ग्रामीण क्षेत्रका सहकारीमार्फत रेमिटेन्स सेवा सुचारु गर्न अक्सफाम नेपाल, रुडेस बैतडी र प्रभु म्यानेजमेन्टले सहयोग गरेको हो । ‘हामीले ग्रामीण क्षेत्रका सहकारीमा रेमिटेन्स सेवा सुरु गर्न कम्प्युटर, प्रिन्टर, इन्टरनेट जडानमा सहयोग गरेका छौं । यसले ग्रामीण क्षेत्रमा रहेका नागरिकको पुँजी सुरक्षित भएको छ ।’ रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोसीले भने, ‘विदेशबाट रेमिटेन्समार्फत पठाएको पैसा व्यवसायमूलक काममा लगाउन हामीले उत्पे्ररित गर्ने गरेका छौं । सहकारीका सेयर सदस्यलाई उनीहरूका आफन्तले पठाएको पैसाको सही सदुपयोगबारे हामीले पैरवीसमेत गरिरहेका छौं ।’ अन्नपूर्ण

Share This: