सहकारी अभियान्ताहरुको चेतनामा आमुल परिवर्तन आउन आबश्यक छ

दाङमा मात्र होइन पश्चिम नेपालमै सहकारी अभियान्ताको नाम लिदा नछुट्ने एउटा नाम हो, शुक्रराज भण्डारी, प्युठानमा जन्मिएर दाङलाई कर्मथालो बनाइरहेका भण्डारी सहकारी आन्दोलमा होमिएको डेढ दशक बढि भयो । १५ बर्ष अघि स्थापना भएको जनसेवा बचत तथा ऋण सहकारीको संस्थापक अध्यक्ष भण्डारी अहिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्ष भएको संस्था पश्चिम नेपालमा मात्र होइन देशभरमै सफल मध्यको अग्र स्थानमा आउँछ । उक्त संस्थाले हाल बचत तथा ऋण, सहकारी पेट्रोलपम्प, माध्यमिक तह सम्मको सहकारी विद्यालय र सहकारी रेडियो पनि सफलता पूर्वक सञ्चालन गरिरहेको छ । बहुउद्देश्यीय जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारी सँग सहकारी नेपालका लागि पत्रकार नारायण भण्डारीले गरेको कुराकानी ।

प्रश्नः– आर्थिक विकासका लागि सहकारी क्षेत्रको भुमिका कस्तो हुनु पर्ला ?
उत्तरः दुनियामा आर्थिक विकासको कुरा गर्दा यो दुई प्रकारले भएको देखिन्छ । पूँजीवादी प्रकारको आर्थिक विकास र समाजवादी प्रकारको आर्थिक विकाश । आज नया पुस्ताले आर्थिक विकासका लागि चरम लालसा देखाई रहको छ । यो सकारात्मक कुरा हो तर विदेशमा गएर पैसा कमाउदैमा देशको आर्थिक विकास हुन्छ भन्ने कुरा गलत हो । विदेशी रेमिटान्सले आर्थिक विकास हुने भए, ईन्डोनेसिया, बंगलादेश, नेपाल, ईथोपिया,नाईजेरिया, फिलिपिन्स, भारत जस्ता देशहरु आज धेरै शक्ती सम्पन्न भई सकेका हुन्थे । आणविक तथा भौतिक विकासका रुपमा सम्मन्न देश भारत जँहा हाम्रो देशका भन्दा धेरै मान्छे सडक पेटीमा सुत्छन, खान नपुखेर आत्म हत्या गर्न बाध्य हुन्छन । अमेरिका जो संस्सारकै आर्थिक सम्पन्न देश हो जहाका न्यूवर्क, वासिङ्गटन जस्ता विसाल शहरका घरहरु सिमित मान्छेको कब्जामा छन बहुसंख्यक अमेरिकनहरु आफु मरे पछि आफ्नो मृत शरिर बिश्राम गराउने जग्गाको खोजिमा टड्पिरहेको हुन्छन । अब भन्नुस के कुरालाई आर्थिक विकास भन्ने ? सहकारीले भन्न खोजेको आर्थिक विकास अमेरिका, भारत लगायतका देशहरुले गरे जस्तो मानविय मूल्य मान्यता नभएको आर्थिक विकास होईन । सहकारीले भन्न खोजेको आर्थिक विकास सबै नेपाली नागरिकलाई आर्थिक सम्पन्न बनाउने भनेको हो, त्यो पनि सामाजिक मूल्य मान्यता सहितको । यो काम हामीले सोचे अनुरुप द्रुत गतिमा अगाडी बढ्न सकिरहेको छैन । सामाजिक मूल्य मान्यता सहितको आर्थिक विकासका पक्षमा काम गर्ने कोसिस गरेका छौ । निश्चय पनि यसको रिजल्ट ढिलो चाडो आउने छ ।

प्रश्नः– तीन खम्बे नीतिमा सहकारी सबल खम्बाका रुपमा स्थापित हुन सहकारीले के गर्नुपर्ला ?
उत्तरः– यसको लागि त सर्बप्रथम सहकारी अभियान्ताहरुको चेतनामा आमुल परिवर्तन आउन आबश्यक छ । अहिले सम्म सहकारी विकासका लागि सरकारी सोंच चिन्तन र सहकारी अभियान्ताहरुको सोच चिन्तन वाधक बनिरहेको छ । सरकारी क्षेत्रले सहकारीलाई संकुचित बनाउन चाहन्छ भने नेतृत्वमा पुगेका अभियानकर्मिहरु पनि सहकारीले खास गरि चौतर्फि विकास नगरोस भन्ने चाहन्छन । तसर्थ सहकारीले आर्थिक विकासको एक खम्बाको हैसियत प्राप्त गर्न सकेको जस्तो मलाई लाग्दैन । वास्तव मै तिन खम्वा मध्ये एक खम्वाको स्थान सहकारीले लिने हो भने आर्थिक विकासका हरेक ठाउमा सहकारी पुग्न जरुरी छ । शिक्षा, स्वास्थ्य, यातायात जस्ता सेवा क्षेत्रका साथमा बहुराष्ट्रिय पूँजीलाई विस्थापित गरि राष्ट्रिय पूँजीको विकास गर्न राष्ट्रिय पूँजीको एकिकरण र राष्ट्रिय पूँजीपति वर्गको सहकारी करण । यसो गर्न सकेमा नेपालको पूँजीले बहुराष्ट्रिय कम्पनिको ठुलो पूँजीलाई पनि विस्थापित गर्न सक्नेछ । भने अर्कातर्फ कृषि, दुध, उपभोग्य वस्तुमा पनि हामी परनिर्भर हुन पर्ने छैन । नेपाली पूँजीबाटै हज्जारौंको संख्यामा देश भरी ठुला उद्योग खुल्नेछन, कृषि तथा पशुपालनमा आधुनिकिकरण हुने छ । सहकारीको माध्यमबाट समुदायले स्कुल, कलेज, यातायात, हस्पीटल चलाउन सक्नेछन । यो अवस्थाको सृजना भएमा मात्र देशमा आर्थिक विकास पनि हुनेछ र सहकारी सहि अर्थमा एक खम्वा सावित हुन सक्नेछ । अहिले त खालि सहकारीहरुलाई राज्यले ललिपप देखाएर फकाउन खोजेको जस्तो मात्र देखिन्छ । सहकारीको माध्यमबाट आर्थिक विकासको कुरा गर्ने तर निजी क्षेत्रलाई सर्वोपरि ठानी काखी च्याप्ने र सहकारीको द्रुत विकास संगै हामी पनि पाखा लाग्छौ भन्ने डरले यथास्थितिमा राख्न चाहने प्रवृतिले सहकारी क्षेत्रको विकासको कल्पना पनि गर्न सकिदैन । सहकारी क्षेत्रको सवलिकरणका लागि यस क्षेत्रमा धेरै परिवर्तन हुन आबश्यक छ ।
प्रश्नः– सहकारीका नीति, नियम कस्तो बन्नुपर्छ जस्तो लाग्छ ?
उत्तरः सहकारी निति नियमको कुरा गर्नु पर्दा तपाईले परिमार्जनको सिलसिलामा रहेको सहकारी ऐनको कुरा गर्न खोज्नु भएको होला । बर्तमान सहकारी ऐन २०४८ गलत भएको होईन , यसमा धेरै सकारात्मक पक्षहरु छन तर यसमा भएका केहि खुकुला वा उदार प्रकारका प्रावधानका कारण सहकारी क्षेत्र अहिले सम्म राजनैतिक वा अन्य प्रकारका पहुँच भएकाहरुको निहित स्वार्थ पुरा गर्ने औजार बनेको छ । काठमाण्डौ र दार्चुलाको विचमा धेरै ठुलो विभेदको सृजना भएको छ सहकारी क्षेत्रमा । पहुँचवालाको औजार वा विभेदकारी हुनु हुदैन नयाँ बन्ने ऐन भन्ने मेरो मनसाय छ । प्रस्तावित ऐनमा सहकारी क्षेत्रको सुदृढिकरणका लागि चिन्तन गर्न खोजिएको मैले पाएको छु । नेपालका सबै सहकारीले समान पहुँच र अवसर विना भेदभाव प्राप्त गर्नका लागि बलियो व्यवस्था हुनु पर्दछ । सहकारी भनेको एक समुदाय, एक संस्कृति, एक आर्थिक अबस्था, यसैको विकासका लागि संगठन हो तर अहिले तपाई कस्तो पाउनु हुन्छ भने काठमाण्डौ कार्यालय राखेर नेपालकै कार्य क्षेत्र बनाएर ठुलो धनरासी जम्मा गर्ने र पैसा गलत काममा प्रयोग गर्ने यो कुरालाई त रोक्नै प¥यो नि । अर्कातिर उत्पादन, उद्योग र सेवा भन्दा पनि सहकरी बचत तथा ऋणमा मात्र केन्द्रित हुने अवस्थाबाट पनि माथि उठ्न आबश्यक छ त्यसका लागि पनि त्यहि अनुकुलको ऐनमा परिमार्जन गर्न खोजिएको छ । यो सहकारी अभियानका लागि सकारात्मक कुरा हो यसको हामी सहकारी अभियानको तर्फबाट स्वागत गर्नु पर्दछ । सहकारी क्षेत्रको माध्यमबाट धेरै प्रगति पनि भएको छ तर सवल सहकारी अभियानको निर्माणका लागि सहकारीमा सुदृढिकरणको आवश्यकता थियो, यसकै लागि सहकारी ऐन परिमार्जन हुदैछ । मलाई लाग्छ यो ऐन बने पछि सहकारी क्षेत्रमा सुधार सहितको प्रगति हुने मैले बुझेको छ ।
प्रश्नः–अहिले दाङ्ग जिल्ला बहुउद्देश्यीय सहकारी संघले सहकारीको विकासका लागि के गर्दै छ ?
उत्तरः– बहुउद्देश्यीय सहकरी संस्था भनेका धेरै व्यवसायीक काम गर्नका लागि गठन भएका संस्थाहरु हुन । यी संस्थाहरुले सदस्यहरुको धेरै प्रकारका आबश्यकतालाई सम्बोधन गर्ने गरि काम गर्न सक्दछन तर व्यवहारमा बहुउद्देश्यीय सहकारी संस्था दर्ता गर्ने कारोवार चाहि धेरै जसोले वचत तथा ऋण मात्र गर्ने भई रहेको छ । कमसे कम पनि दाङ्गमा यो प्रचलनको अन्त्य गरेर बहुउद्देश्यीय सहकरी संस्थाले बहुउद्देश्यीय काम गर्नु पर्ने अभियान संचालन गरि रहेका छौ ।
प्रश्नः– सहकारी पैसाको किनबेच भन्दा माथि उठ्न सकिरहेका छैनन्, सहकारीलाई उत्पादनशील क्षेत्रमा अभिप्रेरित कसरी गर्न सकिन्छ ?
उत्तरः– मेरो पनि चासोको बिषय यहि हो । सहकारी संस्था स्थापना गर्ने वचत तथा ऋणको कारोवार मात्र गर्ने त्यो पनि बैंक भन्दा फरक नहुने गरी । यहि कामको लागि मात्र सहकारीको आबश्यकता होईन । सहकारी संस्थाहरु, अव हामीले हाम्रो वास्तविक परिचय बनाउनका लागि आयतलाई विस्थापन गर्ने गरी उत्पादनमूखी काम गर्नु पर्दछ । नागरिक सेवाका कामहरु निजी क्षेत्रमा जादा त्यँहा निजी क्षेत्रको वोलवाला छ । नागरिक सेवालाई शुद्ध नाफामा कन्र्भट गरिएको छ । यो अबस्थाको अन्त्यका लागि हामी सहकारीकर्मीहरु जागरुक बन्नु पर्ने र निर्यातमूखी उत्पादनमा लाग्नुका अलवा नागरिक सेवाका बिषयमा समेत चासो दिनु र स्वयमं अभिप्रेरित हुनु आजको आवश्यकता हो जस्तो लाग्दछ मलाई ।
प्रश्नः– अन्तमा थप केही भन्नु छ की ?
उत्तरः– तपाईको मिडिया मार्फत आफ्ना भनाईहरु राख्ने अवसर दिनु भयो यसको लागि धेरै धरै धन्यवाद । सहकारी आर्थिक, सामाजीक र सांस्कृतिक परिवर्तनका लागि एक माध्यम हो । परिवर्तन मानव सभ्यता अनुकुल हुनु पर्दछ साथै सामाजीक मूल्य रहितको आर्थिक विकासले मानव सभ्यताको विकास भएको हुदैन । मानविय मुल्य र आबश्यकतालाई मध्यनजर गरेर सुदृढ, सुसाशनयुक्त, निर्यातमूखि सहकारी अभियानको विकास नेपालको बस्तुस्थितिको माग हो, यहि मागलाई संबोधन गर्ने गरी राज्य र सहकारी अभियान एकताबद्ध भएर अगाडी बढाउन म सम्बन्धीत सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।

Share This: