सहकारी अस्पतालमा सरकारको दिगो संलग्नता चाहिन्छ

सहकारी बचतमा मात्र केन्द्रित नभई पछिल्लो समयमा उत्पादन तथा सेवामा आकर्षित भएका छन् । यद्यपि, बचत सहकारीको बाहुल्य रहे पनि सहकारीले स्वास्थ्यलगायत विविध क्षेत्रमा रचनात्मक ढंगले काम गर्दै आएका छन् । हामीले यसपालिको डबलीको ३१औं शृंखलामा ‘स्वास्थ्यमा सहकारी’ विषयमा बहस गरेका छौं । स्वास्थ्य क्षेत्रमा काम गरेका त्यसमा पनि स्थापित राजनीतिक नेतृत्वको नाम जोडिएका सहकारीका नेतृत्वसँग स्वास्थ्य क्षेत्रका सहकारीको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । डबलीमा गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष दीपक बाँस्कोटा, बीपी मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष डा. केदारनरसिंह केसी र महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष भानुभक्त ढकालसँग स्वास्थ्य क्षेत्रका सहकारीका विविध विषयमा कुरा गर्ने प्रयास गरेका छौं । डबलीमा मनमोहन मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेलाई आमन्त्रण गरिए पनि अन्तिम समयमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको जानकारी दिनुभयो ।
बीपी मेमोरियल सहकारीले कसरी सेवा दिइरहेको छ ?
केदारनरसिंह केसी 
अध्यक्ष– बीपी मेमोरियल स्वास्थ्य सहकारी संस्था
स्वास्थ्य सहकारी संस्थाबाट नै हामीले अस्पताल चलाइरहेका छौं । सहकारीबाट स्वास्थ्य सेवा सञ्चालन हुँदा समदृष्टिकोण र सबैको स्वामित्व हुने भएकाले यसमा सबैको अपनत्व हुन्छ । सरकारी अस्पतालभन्दा हाम्रो अस्पतालमा सेवा सस्तो छ । नजिकैको सरकारी अस्पतालले चार सय ७५ रुपैयाँमा नाम दर्ता गर्छ भने हामीले तीन सय ७५ रुपैयाँ मात्र लिने गरेका छौं । सहकारी संस्थामा मेरो पनि हो भन्ने र सहयोग गर्ने मानसिकता हुन्छ । कहिलेकाहीँ सामूहिक स्वामित्व व्यवस्थापनका सवालमा निजीभन्दा फरक पनि हुन्छ । जिम्मेवारी पनि सबैको हो भन्ने हुँदा व्यवस्थापन यदाकदा कमजोर पनि हुन सक्ला तर भावना सामूहिक नै हुन्छ । निजी र सहकारीको आर्थिक अवस्था, सेयरधनीको अवस्था निश्चय नै फरक छ । हामीले १५ प्रतिशतभन्दा नाफा दिन नसक्ने भएकाले केही निश्चित व्यक्तिको मात्र लगानी भएको संस्थामा मान्छे लगानी गर्न चाहँदो रहेछ । भूकम्प गएको वर्ष पनि हामीले ५४ लाख नाफा गरेका छौं । नयाँ भवनबाट सेवा सुरु गरिसकेका छौं । नाफा नै नहुने, सेवा नै गर्न नसकिने होइन तर हाम्रो सदस्यप्रतिको, समाजप्रतिको र बीपीको नामप्रतिको जिम्मेवारी छ । बीपी स्मृति सहकारी नाम भएकाले धेरैले पैसा नतिर्न पनि खोज्छन् । त्यसमा पनि राजनीतिक र सामाजिक कार्यमा हामी क्रियाशील रहेकाले धेरैले निःशुल्क सेवा लिन खोज्छन् । केही निमुखा र असमर्थ व्यक्तिलाई मात्र निःशुल्क गर्नुपर्ने हो हामी त्यसो गर्न सकिरहेका छैनौं । यसो हुँदा पनि हामी पारदर्शी छौं । पाँच वर्षभित्र विभिन्न कार्यक्रम सञ्चालन गर्ने जमर्को गरेका छौं । म मेडिकल कलेजको पूर्वअध्यक्ष भएको हुनाले काठमाडौंमा मेडिकल कलेज हुनु हुँदैन भन्ने मनोविज्ञान बोकेको मान्छे हुँ । संघीयतामा देश गइसकेकाले सबै ठाउँमा विकास हुनुपर्छ काठमाडौंमा मात्र मेडिकल कलेज खुलेर हुँदैन । सहकारीबाट हामीले जनतालाई सुविधा दिएकै कारण सरकारबाट अनुदान पनि पाइरहेका छौं ।

महेन्द्रनारायण निधि स्वास्थ्य सहकारी खास के गर्दै छ ?
भानुभक्त ढकाल
अध्यक्ष– महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्था
आजको मितिमा अस्पताल सञ्चालनमा छैन । झन्डै ४ वर्ष २०६८ साउनदेखि २०७२ वैशाख १२) सम्म अस्पताल चल्यो । भूकम्पले भवन चर्किएपछि बनाउन ६ महिना लाग्ने, मासिक भाडा ७ लाख लाग्ने, भवन फेरि मर्मत गरी अस्पताल चलाउँदा उपलब्धि नहुने भएपछि अस्पताल चलाएनौं । हाम्रा सात सयभन्दा बढी सदस्य छौं । ४६ सहकारी र बाँकी व्यक्ति सदस्य भएका छन् । म सुरुमा सहकारीको मान्छे होइन । निजामती सेवामा लागेर ट्रेड युनियनमा काम गर्दैगर्दा सहकारीमा छिरियो । अहिले निस्कन नसक्ने गरी सहकारी जीवन पद्धतिजस्तै भएको छ । सहरमा भन्दा सहकारी गाउँमा प्रभावकारी छ । हामीले सहकारी मोडेलबाट अस्पताल सञ्चालन गर्ने प्रयत्न ग¥र्यौं । मुलुकको ठूलो परिवर्तनकारी, प्रजातन्त्रका कखरा सिकाउने व्यक्ति महेन्द्रनारायण निधिको नाममा अस्पताल सञ्चालन ग¥र्यौं । संस्था सञ्चालन गर्न पनि नाफा कमाउनुपर्ने हुन्छ । अरू कुनै नाम राखेर अस्पताल सञ्चालन गर्नुभन्दा आदर्श राजनेताको नाम जोडेर अस्पताल सञ्चालन गर्न कठिन छ । बीपी, महेन्द्रनारायण, गणेशमानसँग जोडिएर पैसा तिर्न नचाहने प्रवृत्ति पनि छ । विगतमा सञ्चालन गर्दाको अनुभवले के भन्न सक्छु भने आगामी दिनमा पनि स्वास्थ्य सेवा लिन आर्थिक रूपले असक्षम कोही आए पनि हाम्रो अस्पतालबाट फर्केर भने जानु पर्दैन । हाम्रोजस्तो अस्पतालले बढी शुल्क लिन ुपनि भएन, नेताको नाममा व्यापार ग¥यो भन्ने हुन्छ र हाम्रो त्यो उद्देश्य पनि होइन । तुलनात्मक हिसाबले बीपी पहिलादेखि चलेको, मेडिकल टिमले लिड गरेको अस्पताल हो । हामीले भावनात्मक रूपमा मात्र सुरु ग¥र्यौं । साविकमा अचाक्ली भाडा थियो । तीन करोड पूर्वाधार निर्माणमा खर्च भयो, हिँड्ने बेलामा टायल, रङ बोकेर हिँड्न मिलेन । भवन निर्माणको काम सम्पन्न भइनसकेकोले गर्दा भूकम्पपछि अस्पताल सञ्चालन गर्न सकेका छैनौं । सदस्यलाई केही दिन सकिएको स्थिति छैन । केही दिनअघि मात्र साधारणसभा सकियो, सेयर थप्न अनुरोध गरेका छौं । निर्माणको काम करिब सकिएर फिनिसिङको क्रममा छ । चाँडै सेवा सुरु गछौँ । नेताको नाम बदनाम नहोस् भन्नेतर्फ सजग छौं । सेयर सदस्यबाट १ लाख ११ हजार रुपैयाँ लिन्छौं । त्यो सानो पैसा होइन । नाफा पाउला भन्ने हिसाबले नराखे पनि नेपालको सन्दर्भमा ठूलै रकम हो । उनीहरूलाई गलत ठाउँमा लगानी गरियो भन्ने नहोस् भन्नेतर्फ सजग छौं । हाम्रो अभियानले सहकारी अभियान सहकारी मोडेलमा टेवा दिन सकोस् भन्नेतर्फ सजग छौं ।
तपार्इं गणेशमान मेमोरियल स्वास्थ्य सहकारी संस्थाको अध्यक्ष पनि हुनुहुन्छ, कस्तो छ स्थिति, त्यस्तै राष्ट्रिय सहकारी संघको पूर्वअध्यक्ष पनि भएकाले समग्र स्वास्थ्य क्षेत्रमा सहकारीको लगानी कस्तो छ ?
दीपकप्रकाश बाँस्कोटा
अध्यक्ष– गणेशमान मेमोरियल स्वास्थ्य सहकारी संस्था
म स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको पछिल्लो मान्छे हो । स्वास्थ्य जीवनको पहिलो प्राथमिकता हो भन्ने मान्छु । अस्वस्थ्य मान्छेले केही पनि ठीकसँग गर्न सक्दैन । त्यसकारण समाजमा केही गर्छु भन्छ भने उ स्वस्थ हुनुपर्छ र शिक्षित पनि । पछिल्ला दिनमा मान्छेलाई स्वस्थ कसरी राख्न सकिन्छ भन्ने अभियानमा जोडिएको छु । म आफू एलोपेथिक उपचारभन्दा प्राथमिक उपचार, आर्युवेद, ध्यानलगायतका उपचारमा बढी रुचि राख्छु । विदेशमा स्वास्थ्य र शिक्षा निःशुल्क हुन्छ तर यहाँ त्यस्तो व्यवस्था छैन । स्वास्थ्य बिमा गरेर पैसाको अभावमा पनि उपचारबाट वञ्चित नहुने विदेशको जुन व्यवस्था छ, नेपालमा पनि लागू गर्न आवश्यक छ । यहाँ टिकट नकाटी बिरामीको इन्ट्री हुँदैन, इर्मजेन्सी नै किन नहोस् धरौटी नराखी उपचार सुरु हुँदैन । यो कुराको अन्त्य हुनुपर्छ ।
स्वास्थ्य क्षेत्रमा सहकारीले राम्रो सेवा दिन सक्छ भन्ने हेतुले र गणेशमान सिंहको नाममा केही गरौं भन्ने उद्देश्यले अस्पताल सञ्चालन गरेका हौं । तर सहकारी अस्पताल त्यसमा पनि नेताको नाममा स्थापित भएकाले पैसा भए पनि गणेशमान अस्पतालमा आएर निःशुल्क उपचार गर्न खोज्छन् । सहकारी सञ्चालन गर्न माननीयहरूको सहयोग वा सेयर आएको छैन तर फोन आउँछ । असमर्थलाई १५ प्रतिशत जति छुट पनि दिने गरेका छौं । बीपी, निधि, मनमोहन, महेन्द्रनारायणको शुल्कमा एकरूपता छ कि छैन हेरेको छैन । सहकारीले चलाएका अस्पतालमा शुल्कमा एकरूपता ल्याउनुपर्छ कि भन्ने लागेको छ । त्यसमा छलफल गर्ने सोच बनाएको छु । गणेशमान सिंह अस्पताल सुरु भएको तीन वर्ष पूरा भयो । अहिलेको अवस्थामा अस्पताल सञ्चालन गर्न कठिनाइ भइरहेको छ । चार लाखभन्दा बढी घर भाडा तिर्छौ । न्यून बिरामी छन् । ललितपुरमा अरू अस्पताल पनि छन् । तर हामीले स्थानीयलाई प्राथमिकता दिन्छौँ । कुनै समयमा १२ हजार मासिक आम्दानी हुँदा जिम्मा लिएको अस्पतालमा अहिले ३९ लाख आउन थालेको छ । खर्च पनि उत्तिकै हुने रहेछ, एक दुई वर्षमै नयाँ सामान किन्नुपर्ने हुँदा बढी पैसा लाग्दो रहेछ । अस्पताल सञ्चालन गर्ने भन्ने कुरा गाह्रो रहेछ ।
सहकारी अस्पतालले पुँजी लगानी गर्ने समुदायलाई भन्दा अरूलाई सेवा दिइरहेको अवस्था छ । सहकारी संस्थाले पनि आफैं सेयर हाल्ने कुरा गर्दा कानुनी समस्या छ । सर्वसाधारण सहकारी अस्पतालमा लगानी गर्न कत्तिको उत्साहित हुन्छन्, यस्ता कुरा सहज गर्नेतर्फ के सोच्नु भएको छ ?
दीपक बाँस्कोटा
सहकारीको शक्ति भनेकै सेयर हो । स्वास्थ्य सहकारी संस्थामा सेयर हाल्ने भनेको बचत गरेको जस्तो होइन । सदस्यले डिभिडेन्ड कति पाइन्छ भन्ने प्रश्न गर्छन् । डिभिडेन्ट पाइन्न भने सेयर फिर्ता दिनुहोस् पनि भन्छन् । वर्षौंसम्म अस्पताल नाफामा जान नसकिने अवस्था हुँदा सदस्य जोगाइराख्न पनि समस्या छ । सबैलाई एक लाख एक हजार सेयर हाल्न दिएका छौँ । सेयर सदस्य पनि बढाउन सकेका छैनौं । केहीले डिभिडेन्ड पाउनेभन्दा पनि गणेशमान सिंहको नाममा सेवा गर्न पाउने हिसाबले पनि सेयर राख्छन् । ललितपुरमा एक हजारभन्दा बढी सहकारी होलान् हामीसँग मुस्किलले पचास पनि सदस्य भएका छैनन् । सरकारले पनि हामीलाई सहयोग गरेको छैन तर अरूअरूले सहयोग लिइरहेका छन् । हामीले एक पैसा पनि सरकारबाट सहयोग लिन सकेका छैनौं । प्राइभेटरूपमा गणेशमानको नाममा काम गर्न आउँछु भन्ने पाइयो तर हामीले त्यस्तालाई स्वीकार गर्दैनौँ । सहकारीकै मूल्य, मान्यतामा रहेर सस्टेनेबेल हुनेगरी विजनेसभन्दा पनि सर्भिस दिने हिसाबले सञ्चालन गर्न चाहिरहेका छौं ।

स्वास्थ्य क्षेत्रमा मानिसको आकर्षण कस्तो छ, कत्तिको लगानी गर्न रुचाएको पाउनुभयो ?
केदारनरसिंह केसी
हामीले भरसक सेयर रुपैयाँमा समानता ल्याउन प्रयास गरेका छौं । प्रतिसदस्य १ लाख २५ हजारभन्दा धेरै लगानी नगर्नुहोस् नै भन्ने गरेको छु । पाँच लाख, १० लाख राख्दा संस्थाले खाइदियो भन्ने सदस्यलाई पर्न सक्छ । बढीमा दुई लाखसम्म राख त्योभन्दा बढी नराख्दा नै हुन्छ भन्ने गरेको छु । हामी डाक्टरमा व्यवस्थापन गर्ने क्षमताको कमी छ । विश्वासका आधारमा सहकारी अस्पताल चलेको छ । साँच्चिकै सर्वसुलभ स्वास्थ्य सेवा दिने हो भने हामी सबै मिल्नैपर्छ । यसो गर्न सकेमात्र सहकारीबाट सर्वसुलभ स्वास्थ्य सेवा दिन सक्छौं । सरकारी अस्पताल राम्रोसँग सञ्चालन हुन नसकेकोे अवस्थामा सहकारीबाट सञ्चालित अस्पताल राम्रोसँग सञ्चालन गर्न सकियो भने सर्वसाधारणले राम्रोसँग स्वास्थ्य सेवा पाउन सक्छन् । हामीले पाँच सय सदस्यको ५० हजारको बिमा गरेका छौँ । उनीहरूले जहाँ गए पनि जुनसुकै स्वास्थ्य संस्थामा उपचार गरे पनि सुलभ सेवा पाउँछन् ।

सदस्यले उपचारमा के सेवा पाइरहेका छन् ?
केदार
वर्षको ७२ सयमा चेकअपको प्याकेज छ, सदस्यले त्यो सुविधा पाउँछन् । त्यस्तै उपचारमा २० प्रतिशत छुट दिन्छौं । डाक्टरले व्यवस्थापनको कुरा बुझ्न कठिन हुन्छ । कमसेकम आफैंले आफैंलाई उपचार गर्न, परिवारका सदस्यलाई उपचारमा लैजान सके अस्पतालप्रति सर्वसाधारणको विश्वास बढ्छ । सहकारीबाट सञ्चालित हुने अस्पतालमा समन्वय गरी सञ्चालन गर्न सकिन्छ । एकआपसमा सहयोग गर्ने वातावरण सिर्जना गर्न सकिन्छ । यसो गर्न सके आर्थिक अवस्था निकै कमजोर भएका बिरामीले पनि उपचारमा छुट पाउँछन् । सबै मिलेर अघि बढ्न सकियो भने सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने कुरामा दुई मत नै छैन । 
सहकारीले सहकारीको सेयर लिन नपाउने अवस्था कसरी हटाउन सकिन्छ ?
भानुभक्त ढकाल
सहकारी अस्पतालमा सहकारीले सेयर राख्ने भन्ने कुरा अलि फरक छ । बचतमा सेयर राख्यो भने एक् वर्षपछि सदस्यले १५ प्रतिशत लाभांश पाउँछन् । हामीकहाँ स्वास्थ्यमा त्यसरी १५ प्रतिशत पाइहाल्ने अवस्था हुँदैन । सहकारी कस्को नाममा चलेको छ, नेतृत्व गर्नेहरू को को छन् भन्ने कुराले सेयर सदस्य बढ्ने हुन् । सबै सहकारी मिलेर एउटा अस्पताल बनाउन प्रस्ताव गरे त्यो सम्भव छ । तर सायदै कन्भिन्स हुन्छन् मान्छेहरू । सरकारले २०४८ को ऐनमा संस्था सदस्य बन्न पाउने भनेको छ तर मापदण्डले रोकेकोे छ । तर हामीले प्रस्तावित ऐनमा फरक प्रकृतिको संस्थामा सेयर राख्न पाउने व्यवस्था गराउन पहल गरेका छौं । संसद्मा पेस हुने क्रममा रहेको विधेयकमा पनि स्वास्थ्य सहकारीमा सेयर लिन पाउने स्पष्ट व्यवस्था लेखिएको छ । अस्पताल सबैको लागि हो, मोडलमात्र सहकारी हो । सहकारी अस्पतालमा सेयर हाल्ने व्यक्ति भए उसको परिवार र संस्था भए उसको सदस्यले तोकिएको सहुलियत प्राप्त गर्दछन् । यो आम सर्वसाधारणका लागि अस्पताल हो । गौशालामा अस्पताल खुलेपछि मेरो आमा र दिदीको सफल अपरेसन भयो । हामी ठूला सरकारी अस्पतालमा ढुक्कसँग जान्छौँ, तर साना अस्पतालमा कम विश्वास गर्ने गरेका छौँ । आफैंबाट सुरुवात गर्न सकियो भने विश्वास बढ्दै जाने हो ।

दीपकप्रकाश बाँस्कोटा 
स्वास्थ्य सेवा दिने जिम्मा खासगरी सरकारको हो । सहकारी अस्पतालमा सरकारले सहभागिता जनाउने हो भने सर्वसाधारणलाई सर्वसुलभ सेवा दिन सकिन्छ भन्ने मेरो अनुभव छ । सहकारी र सरकारको संयुक्त लगानी गर्न सके त्यस्ता अस्पताल सञ्चालन गर्न सकिन्छ । ज्यादा व्यवसायमुखी हुन नसक्ने कारणले सहकारी एक्लैले पनि प्रभावकारी रूपमा अस्पताल चलाउन सक्ने देख्दिनँ । सरकारले केही सहयोग गर्न सके सहकारीद्वारा सञ्चालित अस्पतालले राम्रो सेवा दिन सक्छन् भन्ने विश्वास बढेको छ । सहकारीहरूलाई स्वास्थ्य सेवामा प्रोत्साहन गर्न सक्नुपर्छ । त्यसो नभए कालान्तरमा प्राइभेटले चलाएको जस्तो अवस्थामा जान बाध्य हुनुपर्ने हुन्छ ।
एकीकरण गरेर स्वास्थ्य सहकारी एउटै, अस्पताल अलगअलग नाम र विषयका चलाउन सकिने अवस्था रहन्छ कि रहँदैन ?
केदारनरसिंह केसी
समन्वय एकदमै आवश्यक छ । समन्वय गर्न मलाई कुनै आपत्ति छैन । राजनीतिकरूपमा पनि हामी नजिक हुँदा समन्वय गर्न नसकिने कुरो भएन । धेरै सेयर सदस्य राख्दा कहिलेकाहीँ असन्तुष्टि हुन सक्छ तसर्थ एकीकरणमात्र सही विधि हो भन्न सक्दिनँ । तर समन्वय किन जरुरी छ भने अन्तर्राष्ट्रिय बजारमा नयाँनयाँ इक्युपमेन्ट आइसके, ८०÷९० लाखको प्रत्येक इक्पुपमेन्ट तीन ठाउँमा किन्न गाह्रो होला । समन्वय हुँदा तीनथरी राम्रो इक्पुपमेन्टको सर्भिस दिन सकियो । मान्छेले सर्भिस राम्रो चाहन्छ । फेरि हामी त दाइभाइ, मिल्नका लागि के आपत्ति भयो र ?

समन्वय कि एकीकरण ?
भानुभक्त 
बीपी र महेन्द्रनारायण निधिको दूरी ५० मिटर पनि छैन । सेवामा विविधीकरण गर्न सक्छौँ । हामीले पनि नर्सिङ लिइसकेका छौं । समन्वय गरेर अघि बढ्नुपर्छ । एकीकरण पनि छलफल गर्दा नहुने कुरा छैन ।
अहिले मनमोहन अस्पताल सरकारले किन्ने चर्चा चलिरहेको छ, तपाईंहरूको पनि सरकारले किन्ने प्रस्ताव ग¥यो भने बेच्ने कि नबेच्ने ?
केदारनरसिंह केसी
म ढुक्कका साथ भन्छु मनमोहनवालाले सरकारलाई बेच्दै बेच्दैन र सरकारले पनि किन्दैन । भोलि १७ वटै संस्थाले बेच्न चाहे भने सरकारले कसरी किन्न सक्छ । सबै अस्पताल किन्ने भन्ने कुरा सरकारले सक्दैन । त्योभन्दा अगाडि कसैले बेच्न पनि बेच्दैन ।
सहकारी अस्पताल प्राइभेट अस्पताल जसरी नै चलिरहेका छन् ?, नाफाको भन्दा पनि स्तरीय र आर्थिक रूपले दुरुस्त भएर चल्न सक्ने अवस्था छ भन्ने यहाँको भिजन छ ?
दीपकप्रकाश बाँस्कोटा
सहकारी अस्पताललाई राम्रोसँग सञ्चालन गर्न सरकारको दिगो संलग्नता चाहिन्छ । एकपटक अनुदान दिएर छाड्ने होइन कि सरकारको प्रतिनिधि पनि बोर्डमा आउनुपर्छ । सरकारले चायो भने नीति बनाउन सकिन्छ । सुलभ स्वास्थ्य सेवाका लागि सरकार एक्लै, सहकारी एक्लैभन्दा पनि सहकारी र सरकार मिलेर चलाएको अस्पतालले राम्रो सेवा दिन सकिन्छ ।

केदारनरसिंह केसी
सरकारी अस्पतालले दिएको सेवाभन्दा हामीले दिएको सेवा ५० प्रतिशत सस्तो छ र स्तरीयता कम छैन । सरकारी अस्पतालले लामो समयसम्म झुलाउने, सेवामा ढिलो गर्ने प्रवृत्ति छ तर हामी छिटो सेवा दिन्छौं, समयको समेत लागत हेर्दा त झनै सस्तो होला । हामी सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा रचनात्मक सेवा दिन सक्छौं भन्नेमा म विश्वस्त छु ।
०००००००

Share This: