भक्तपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण, एक कार्यक्षेत्र भन्दा बढी भएको सहकारी प्रदेशले हेर्ने

भक्तपुर ।  भक्तपुरका सहकारी स्थानीय तहमा स्थानान्तरण भएका छन् । भक्तपुरस्थित डिभिजन सहकारी कार्यालयमा दर्ता भई सञ्चालनमा आएका सबै सहकारी प्रादेशिक संरचनाअनुसार स्थानीय तहलााई हस्तान्तरण गरिएको हो । डिभिजन सहकारी कार्यालय भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा सहकारीहरुको अभिलेख सम्बन्धित नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा पाँच सय ४१ सहकारीको अभिलेख नगरपालिकामा सरेको छ । यसअनुसार सबैभन्दा बढी भक्तपुर नगरपालिकालाई एक सय ५६ वटा सहकारीको अभिलेख हस्तान्तरण गरिएको थियो । त्यस्तै सूर्यविनायक नगरपालिकालाई एक सय २६ र चाँगुनारायण नगरपालिकालाई एक सय २२ वटा सहकारीको अभिलेख हस्तान्तरण गरिएको कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका चार नगरपालिकामध्ये मध्यपुर थिमी भने आफ्नो क्षेत्रका सहकारीको अभिलेख बुझ्न आएको छैन । मध्यपुर थिमीका एक सय ३७ वटा सहकारीको अभिलेख सम्बन्धित नगरपालिकामै गएर बुझाउने प्रमुख श्रेष्ठले बताउनुभयो ।
‘भक्तपुरभर ६ सय ६७ सहकारी दर्ता छन्’, उहाँले भन्नुभयोे, ‘तर आफ्नो कार्यक्षेत्र एउटा मात्रै नगरपालिका तोकेका पाँच सय ४१ वटा सहकारीको अभिलेख मात्रै सम्बन्धित नगरपालिकालाई  हस्तान्तरण गरेका हौं ।’
दुईभन्दा बढी नगरपालिका कार्यक्षेत्र बनाएका सहकारीको अभिलेख भने प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ । सहकारी हस्तान्तरण कार्यक्रममा कृषि, भूमिसुधार तथा सहकारी सचिव गोपीनाथ मैनालीले अब सहकारी स्थानीय तहको हातमा गएका कारण उनीहरुको नियमन तथा मूल्यांकन पनि तिनीहरूले नै गर्नुपर्ने बताउनुभयो ।
‘स्थानीय निकायका लागि सहकारी ठूलो चुनौतीका रूपमा आएका छन्’,उहाँले भन्नुभयो, ‘त्यसैले यसको नियमन गर्न स्थानीय तह चुकेको खण्डमा अनियमितता बढ्न सक्छ । अतः सबै स्थानीय तह सजग हुनुपर्छ ।’
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पहिला अलग कार्यालय हुँदासमेत फटाइँ गर्ने सहकारी भएकाले अब स्थानीय तहले हेर्नुपर्ने अवस्थाले सहकारी क्षेत्रमा झन् विकृति आउनसक्नेतर्फ सजग गराउनुभयो । सहकारीको छुट्टै विनियम बनाएर अघि बढे प्रणाली विकास गर्न सकिने उहाँको भनाइ थियो ।
Share This: