कोपोमिसमा समेटिए २२ हजार सहकारी

सहकारीको अनुगमनका लागि कोपोमिसको प्रयोग

-मुना कुँवर‍-

 

सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रयोगमा ल्याएको ‘सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली’ (कोपोमिस)मा करिब ६३ प्रतिशत सहकारी समावेश भएका छन् । मन्त्रालयले सञ्चालनमा ल्याएको करिब एक वर्षको अवधिमा २२ हजार सहकारीको कोपोमिस प्रणालीमार्फत प्रारम्भिक तथ्यांक संकलन गरेको हो ।

मन्त्रालयले सहकारी महासंघ, विभाग, सम्बन्धित कार्यालय तथा सहकारी अभियानको सहकार्यमा गत वैशाखदेखि कोपोसिमको सञ्चालन सुरु गरेको हो । डिभिजन कार्यालयले कोपोमिस धेरै सहकारीको तथ्यांक इन्ट्री गरे पनि सहकारी स्वयंले भने अझै यसको प्रयोग गरेका छैनन् । हालसम्म करिब २ सयवटा सहकारीले मात्रै यसको प्रयोग गरेको मन्त्रालयका सहसचिव रमेश अधिकारीले बताए । ‘हाम्रो लक्ष्य सबै सहकारी आफैँले यसको प्रयोग गर्ने भन्ने हो । तर, अहिले सुरुवाती अवस्थामा डिभिजन कार्यालयले नै सहकारीको तथ्यांक इन्ट्री गर्ने काम गरेको छ,’ उनले भने ।

हाल नेपालमा ३४ हजार ५१२ सहकारी संस्था छन् । तर, सहकारीले गर्ने नियमन गर्ने कुनै पनि तथ्यांक कुनै पनि निकायमा छैन । यसले वित्तीय जोखिम बढ्दै गएपछि मन्त्रालयले प्रविधिमार्फत सहज रूपमा सहकारीसम्बन्धी तथ्यांक केन्द्रीकृृत गर्न कोपोमिसको प्रयोग गरेको हो । कोपोमिस प्रयोग गर्ने सहकारीलाई छुट्टाछुट्टै युजरनेम र पासवर्ड उपलब्ध गराइनेछ । यसको प्रयोगबाट सहकारी स्वयं आफैँले सफ्टवेयरमा तथ्यांक राख्न सक्नेछन् । आवश्यकताअनुसार सम्बन्धित निकायले सहकारीसम्बन्धी रियल टाइममा तथ्यांक प्राप्त गर्न सक्नेछन् । यसले सहकारी क्षेत्रको भावी योजना बनाउन तथा नीति निर्माणमा समेत सहयोग पुग्नेछ । त्यस्तै, सहकारीले इन्ट्री तथ्यांक तोकिएको सीमा बढी गरेमा सफ्टवेयरले नै रातो संकेत दिनेछ । यसले सहकारीको वित्तीय अवस्था खराब भएको वा कमजोर पक्ष थाहा पाउन सकिनेछ । सोही आधारमा सहकारीको अनुगमन गर्न सकिने मन्त्रालयले बताएको छ ।

सफ्टवेयरमा रहेको अर्को सुविधाको प्रयोग गरेर नियामक निकायमा बुझाउनुपर्ने विवरण अनलाइनमार्फत पठाउन सकिन्छ । सहकारी संस्थाले पठाउनुपर्ने वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र बचत तथा ऋण कारोबार गर्ने संस्थाले मासिक पठाउनुपर्ने वित्तीय विवरणसमेत अनलाइनबाटै पठाउन सक्ने सुविधा दिइएको छ ।

पूर्वाधारको चुनौती
डिभिजन कार्यलयहरूमार्फत सहकारीहरूको तथ्यांक संकलन हुने काम भइरहेको छ । तर, मुलुकको संघीयताका अभ्यासमा गएकाले यो प्रक्रियाले भने तीव्रता पाउन नसकेको मन्त्रालयका उपसचिव अधिकारीले बताए । सबै सहकारीहरूको तथ्यांक इन्ट्री भइसकेपछि सहकारी क्षेत्रको वास्तविक चित्र देखिने मन्त्रालयले विश्वास लिएको छ ।

सबै सहकारीको तथ्यांक कोपोमिसमा इन्ट्री गरिने लक्ष्य लिए पनि अझै १२ हजार ५१२ सहकारी यसको दायरामा आउन सकेका छैनन् । त्यस्तै जम्मा २ सय सहकारीले मात्रै आफैँ यसको प्रयोग गरेका छन् । सहकारीहरूमा पूर्वाधारको कमी भएकै कारण सबै सहकारीले यसको प्रयोग गर्न नसकेको मन्त्रालयका सहसचिव अधिकारीले बताए । ‘कतिपय सहकारीमा कम्प्युटर नै छैन । भएको ठाउँमा इन्टेरनेटको समस्या छ । कतिपय ठाउँमा कम्प्युटर सञ्चालन गर्ने कर्मचारीको अभाव छ । त्यसैले सबै सहकारीले यसलाई प्रयोगमा ल्याउन सकेका छैनन्,’ उनले भने । त्यस्तै, कतिपय सहकारीले सफट्वेयरमा राखिएका विवरण खुलाउन नचाहेका कारण पनि कोपोमिस प्रयोगमा आउन नसकेको मन्त्रालयको भनाइ छ ।

कोपोमिस सञ्चालनका लागि मन्त्रालयले सरोकारवाला निकायको समन्वयमा यससम्बन्धी चेतना फैलाउने, तालिम दिने तथा प्राविधिक सहयोग पनि प्रदान गर्दै आएको छ । साथै ठूला कारोबार गर्ने सहकारीको छनोट गरी सञ्चालनको तालिमसमेत दिँदै आएको छ ।

कोपोमिस भनेको के हो ?
कोपोमिस अनलाइन सफ्टवेयर हो । सफ्टटेक फाउन्डेसनले १ करोड ६० लाख रुपैयाँ लागतमा कोपोमिस सफ्टवेयर निर्माण गरेको हो । ३ वर्षअघि मन्त्रालयले यसको परिकल्पना गरे पनि गत वैशाखदेखि मात्रै यो सञ्चालनमा आउन सम्भव भएको हो । नेपालमा सञ्चालित सबै सहकारीले यो सफ्टवेयरको प्रयोग गर्नुपर्नेछ । सफ्टवेयरमा उपलब्ध विवरणअनुसार सहकारीले दैनिक इन्ट्री गर्नुपर्ने हुन्छ । यसरी सहकारीले इन्ट्री गरेको तथ्यांक डिभिजन कार्यालयदेखि केन्द्रीयस्तरमा मन्त्रालयले समेत हेर्न सक्नेछ । नयाँ पत्रिका

Share This: