सिवाईसी सहकारीको नवौंं स्थापना दिबस सम्पन्न

सुमन जि.सी.
बागलुङ । जिल्लास्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो ९ औं स्थापना दिवस विविध कार्यक्रमहरु गरी शनिबार बागलुङ तथा आफ्ना ७ वटा सदस्य सेवाकेन्द्रहरु मार्फत मनाएको छ ।

 

सप्ताहव्यापीरुपमा विविध कार्यक्रमहरुका साथ स्थापना दिवस मनाइरहेको सन्दर्भमा आज संस्थाले मुल समारोहको आयोजना गरेको थियो । मुल समारोहको उद्घाटन गर्दै प्रमुख अतिति संस्थाका संरक्षक वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलले सहकारीको माध्यमवाट गरिब, विपन्न तथा पछाडि परे पारिएका वर्गहरुमा आर्यआर्जनका अवसरहरु सिर्जना र आम्दानीका श्रोतहरुको खोजी गरी देशमा व्याप्त रहेको आर्थिक विपन्नतालाई समाधान गर्न सकिने धारण राखेका थिए ।

 

कार्यक्रममा संस्थाका सल्लाहाकार देबबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, बद्रीप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष सीता शर्मा, जिल्ला तरकारी उत्पादक सहकारी संघ लि. बागलुङका अध्यक्ष पार्वती आचार्य, तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किरण थापा, सर्वेश्वर साकोस भरतपुरका गणेशराज लामिछाने, सञ्चालकहरुको तर्फबाट सीता शर्मा सापकोटा, शेयर सदस्यहरुको तर्फबाट विष्णु सापकोटा लगायततले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्थापना अवसरमा संस्थामा असल ऋण कारोवार गर्ने ४४ जना सदस्यहरुलाई असल ऋणी परिचय–पत्र (ग्रीन कार्ड) प्रदान गरिएको छ । त्यस्तै संस्थाले सहकारीहरुबीचको आपासी सहयोगलाई मध्यनजर गर्दै तित्याङ स्थित तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. लाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।

 

संस्थाले आजकै दिनबाट ७० वर्ष उमेर पुगेका एकल महिलाहरुलाई दिदँै आएको मासिक पेन्सन सुविधा रु ७५० लाई आजदेखि ६८ वर्ष पुगेका एकल महिलाहरुलाई प्रदान गर्ने, गर्भवती भएका शेयर सदस्यहरुको ४ पटकसम्म गर्भ परीक्षण गर्न जाँदा रु १०० का दरले खाजा खर्च प्रदान गर्ने, शेयर सदस्यका छोराहरुको ब्रतवन्र्धमा निमन्त्रण आएमा ब्रतबन्ध गर्ने व्यक्तिलाई सम्मान–पत्रबाट सम्मान गर्ने र यस पूर्व दिदैँ आइरहेको जेष्ठ नागरिक पेन्सनलाई यथावत राख्ने संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराउनुभएको थियो ।

 

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संस्थाको बारेमा जानकारी प्रवन्धक नवराज शर्मा र सञ्चालन सञ्चालक तारावहादुर वि.क. ले गर्नुभएको थियो ।

Share This: