एक हप्तामा ३ सय जनाले गरे सिवाईसीको स्थलगत अवलोकन

बागलुङ,। २०१३ सालमा चितवनको बखान सहकारीबाट सुरुवात भएको सहकारी अभियान हालसम्म आउँदा नेपालमा ३४ हजार ५ सय १२ वटाको संख्यामा पुगेको छ । सहकारीलाई राज्यले तिन खम्बे अर्थतन्त्रको एक वटा खम्वाको रुपमा स्वीकार गरिसकेको तथा संविधानले पनि सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिईसकेको अहिलेको अवस्था छ । सहकारीमा ६० हजार ५ सय १७ जना प्रत्यक्ष रुपमा रोजागार पाईरहेका छन् भने बैंक तथा वित्तीय संस्थाहरु नपुगेका नेपालका ग्रामीण इलाकामा सहकारी संस्थाहरुले निकै नै राम्रो वित्तीय सेवा प्रदान गरिरहेका छन् ।

समय, प्रविधि र परिवर्तीत नीति नियम र संरचनासंगै संस्थाहरुमा पनि फरकपन एवम् परिवर्तनको आवश्यकता रहेकाले हाल सहकारी संस्थाहरुले सहकारीका ७ सिद्धान्त मध्येको सहकारी विच पारस्पारीक सहयोगको सिद्धान्तलाई आत्मसाथ गर्दै देशभरमा उल्लेख्य कार्य गरेका सहकारी संस्थाहरु अवलोकनमार्फट सिक्ने र सिकाउने कार्य गरिरहेका छन् ।

 

यसै सन्दर्भमा बागलुङ बजार स्थित रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङमा पछिल्लो क्रममा स्थलगत अवलोकनका लागि आउनेहरुको घुईचो नै लाग्ने गरेको छ । मिति २०७४ चैत्र २० गते देखि आजसम्म सिवाईसीमा देशभरका करिब ३ सय जनाले स्थलगत अवलोकन गरिसकेका छन् । आज मात्र नवौ स्थापना दिवस मनाईरहेको संस्थाले छोटो समयमा हाँसील गरेका उपलब्धिहरुको बारेमा जानकारी लिनका लागि देशभर स्थापना भएका सहकारी संस्थाहरु देखि लामो अनुभव संगालेका सहकारी संस्थाहरुबाट संस्थाको स्थलगत अवलोकन गरी सिक्ने र अनुभव आदान प्रदान गर्ने कार्य दिनहुजसो भईरहेको छ ।

 

यस विचमा अष्टसिहं साकोस टोखा काठमाण्डौ, पथप्रदर्शक साकोस बुटुवल, अमरावती साकोस बुटुवल, प्रगतीशिल साकोस स्याङजा, विकु साकोस नवलपरासी, सर्वेश्वर साकोस भरतपुर चितवन र मिलिजुली साकोस लमजुङको टोलीद्धारा संस्थाको स्थलगत अवलोकन र एक आपासमा छलफल तथा अन्तरकृया भएको संस्थाका प्रवन्धक नवराज शर्माले जानकारी दिए ।

 

गत आ.व. मा ४ हजार भन्दा वढिले स्थलगत अवलोकन गरेको सिवाईसी साकोसमा हाल सम्म ४ हजार भन्दा वढिले स्थलगत अवलोकन गरेको र दिनहुजसो आउने क्रम जारी रहेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताए । पौडेलले भने दिनहुजसो २ देखि ३ वटा संस्थाको टोली सिवाईसीको अवलोकनका लागि आउने गरेको छ ।

 

बागलुङ कालीका, पवित्र कालीगण्डकी, सर्वसिद्धीधाम पञ्चकोट, मुक्तिक्षेत्र जस्ता धार्मिक महत्वका सम्पदाहरु रहेको यस जिल्लालाई सहकारीको पवित्र तिर्थस्थलको रुपमा विकास गर्ने सोंच पुरा हुदै गएको पौडेलको भनाई छ । पौडेलले धौलागिरीको पर्यटन प्रवद्र्धनमा यहाँका सहकारी संस्थाहरुले उल्लेख्य योग्दान पु¥याएको र त्यसमा पनि सिवाईसी साकोस अवलोकन गर्न आउनेको संख्या अत्याधिक रहेको बताए ।

 

२०६६ चैत्र २६ गतेका दिन स्थापना भएको संस्थामा हाल ६ हजार ४ सय सदस्य र एक अरब बराबरको कारोवार रहेको छ । संस्थाले जिल्लाका विभिन्न ७ वटा स्थानमा सदस्य सेवाकेन्द्रहरु मार्फत स्थानीय स्तरमै सेवा दिईराखेको छ भने संस्था डिभिजन सहकारी कार्यालयबाट धौलागिरीकै उत्कृष्ट, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनबाट प्रदेश नं. ४ को उत्कृष्ट, आन्तरीक राजस्व कार्यालय पोखराबाट आ.व. ०७२।०७३ र ०७३।०७४ मा उत्कृष्ट करदाताको रुपमा पुरस्कृत र हालै मात्रै राष्ट्रिय सहकारी महासंघ लि. नेपालबाट प्रदेश नं. ४ को उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषित भएको छ । संस्थाले अन्तराष्ट्रिय स्तरको ऐक्सेस व्राण्ड प्राप्त गर्नका लागि पनि प्रयासरत रहेको छ ।

 

Share This: