कसरी प्रभावकारी बनाउने सहकारीको साधारणसभा

तुलसी सुवेदी

नेपालको अर्थतन्त्रमा सहकारी एक हिस्सा हो । सहकारीमार्फत गाउँगाउँमा धेरै रचनात्मक काम भएका छन् । सहकारीले आर्थिक उपार्जनका साथै सदस्यको जीवनस्तर उकास्न सक्छ । सहरदेखि गाउँसम्म सहकारीमार्फत सर्वसाधारणले राहतको अनुभूति गरेका छन् । तर केही सहकारीको व्यवस्थापनले चुनौती थपिँदै गएको छ । सहकारीका लागि साधारणसभा सम्पन्न गर्न हम्मेहम्मे पर्ने गरेको छ।
सहकारीको सर्वोच्च निकाय साधारणसभा हो तर साधारणसभा एउटा औपचारिकता निभाउने बाहेक अरू हुन सकेको छैन ।

 

प्रत्येक वर्ष हुने साधारणसभा प्रभावकारी हुन नसक्दा सहकारीमा समस्या आउने गरेको छ । सहकारीका लागि साधारणसभा सर्वोच्च निकाय मानिए पनि नेतृत्व तहमा रहेका एक दुईजनाको सक्रियतामा साधारणसभा सम्पन्न भइरहेका हुन्छन् । सहकारीको साधारणसभामा सदस्य बोलाइने भए पनि सदस्यले आफ्नो विवेक उपयोग गर्न सकिरहेका छैनन् ।

 

सहकारी अन्य कम्पनीभन्दा बिल्कुलै फरक छ । सहकारी संस्था सबलरूपमा सञ्चालन गर्नका लागि साधारणसभा अपरिहार्य मानिन्छ । साधारणसभा बिना सहकारी सञ्चालन प्रक्रिया अघि बढाउन सकिँदैन । लगातार दुई वर्षसम्म साधारणसभा नगर्ने सहकारीहरू निष्क्रिय सहकारीका रूपमा मानिन्छन् । ती संस्था सम्पर्कमा नआए र अन्य कुनै वित्तीय विवरण नबुझाए डिभिजन सहकारी कार्यालयहरूले संस्था दर्ता खारेज गर्न सक्ने प्रावधान छ ।

 

सहकारीका लागि साधारणसभा प्रमुख अंग भए पनि साधारणसभा कसरी प्रभावकारी बनाउने भन्दा पनि रमाइलो र संस्थाले दिने डिभिडेन्डमा बढी ध्यान गइरहेको हुन्छ । मानिस एकभन्दा बढी संस्थाको सदस्य बन्ने प्रवृत्ति यथावत् छ । एक व्यक्ति धेरै सहकारीको सदस्य बन्ने गरेकाले उसको ध्यान डिभिडेन्ड, बाटो खर्च र खानामै रहन्छ । साधारणसभा बिना कुनै पनि सहकारी सहीरूपमा अघि बढ्न सक्दैन् । तर पछिल्लो समयमा सहकारीका साधारणसभा कर्मकाण्डीय बन्दै गएका छन् ।

 

पितृको श्राद्ध गरिएजस्तै सहकारीको साधारणसभा सम्पन्न भइरहेका छन् । सहकारीका सदस्य निष्क्रिय हुँदा नेतृत्वकर्ताले मनपरी गर्न पाएका छन् । साधारणसभामा कतिपय सदस्य आउँदैनन् । आइहाले पनि आफ्नो विचार राख्न पाउँदैन । विचार राख्न पाइहाले पनि सदस्यको विचारको कुनै कदर हुँदैन । अहिले सहकारीको साधारणसभाको सिजन लगभग सकिएको छ । ठाउँठाउँमा साधारणसभाका नाममा सहकारीका भोज सर्वत्र देख्न पाइन्छ ।

 

वर्षभरिको कार्ययोजना बनाउन सहकारीको साधारणसभा गर्ने गरिए पनि साधारणसभामा खासै छलफल हुँदैन । यसको प्रभावकारिता हराउँदै गइरहेको छ । साधारणसभामा आवश्यक छलफल, विचार, विमर्श हुन नसक्दा सहकारीका साधारणसभा देखाउनका लागि मात्र भोजमतेरको रूपमा मात्र सीमित भएको पाइन्छ । अधिकांश सहकारीले साधारणसभामा भोजको प्रबन्ध गरेका हुन्छन् ।

 

केही सहकारीमा गहन छलफल भई निर्णय हुने गरे पनि अधिकांश सहकारीमा सञ्चालकले ल्याएको प्रस्ताव कुनै छलफलै नगरी ताली ठोक्ने र पास गर्ने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा सहकारी स्वनियमनमा चल्ने संस्था भए पनि विस्तारै स्वनियमन हराउँदै गएको छ । सहकारीका सेयर सदस्यहरू सधैं सक्रिय भई आफ्नो संस्थाको वित्तीय जानकारी लिनुपर्ने भए पनि अधिकांश सदस्यहरू साधारणसभामा समेत चनाखो भएको पाइँदैन ।

 

त्यसको फाइदा सञ्चालकका केही पदाधिकारीहरूले लिइरहेका छन् । सहकारी केही व्यक्तिको कम्पनीजस्तै हुन पुगेको छ । जसले गर्दा सहकारीमा एकपछि अर्को समस्या बढ्दै गइरहेका छन् ।

 

विभिन्न एक सय ३० समस्याग्रस्त सहकारीमा सर्वसाधारणको ११ अर्ब निक्षेप फिर्ता दिन नसक्ने अवस्थामा फसेको छ । नौ हजारभन्दा बढी निक्षेपकर्ताले आफूले राखेको पैसा फिर्ता पाउन सकेका छैनन् । ती संस्थाहरूमा पनि केही व्यक्तिले एकलौटीरूपमा सञ्चालन गरेको र सेयर सदस्यले सहकारीप्रति जानकारी नराख्नाले यो समस्या उत्पन्न भएको हो । सदस्यले चासो नदिँदा यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने छ । पछिल्लो समयमा समस्याग्रस्त सहकारीको समस्या समाधार्नाथ सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । साँच्चै सदस्य जानकार हुने हो भने यस्तो अवस्था नै आउने थिएन । गलत बाटोमा जान थाल्दै त्यहीँका सदस्यले नेतृत्व परिवर्तन गर्न सक्थे ।

 

सहकारी कसरी अघि बढाउने ? संस्थाको वार्षिक कार्यक्रम कस्तो हुने भन्ने कुरामा एक दुईजना बाहेक अधिकांशलाई चासो र जानकारी समेत हँुदैन । अधिकांश सहकारीका सेयर सदस्यहरू सञ्चालकमै निर्भर हुँदा र सहकारीप्रति बेवास्ता गर्दा सहकारीका साधारणसभा कर्मकाण्डीय बन्दै गएका छन् । अधिकांश सेयर सदस्यहरूले आफ्नो संस्थाको वार्षिक कार्यक्रम कस्तो र अझ राम्रो कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान जान सकेको छैन ।

 

सहकारीकै अगुवाहरूले सहकारीको साधारणसभा कर्मकाण्डीयभन्दा फरक नभएको बताउँछन् । तर संघहरूकै साधारणसभा प्रारम्भिक सहकारीको जत्तिको पनि हुँदैन । अझ संघहरूको साधारणसभामा त ताली बजाउने मान्छेसमेत हुँदैनन् । एक सहकारी नेता भन्छन् ‘साधारणसभाको नीति तथा कार्यक्रमले संंस्थाको प्रगतिको झलक दिन्छ, तर साधारणसभामा कुनै सदस्यले रचनात्मक सुझावसमेत दिँदैनन् उनले भने ।

 

अधिकांश सहकारीका साधारणसभामा एक, दुईजनाले आफ्नो राय, सुझाव पेस गरे पनि अधिकांश सेयर सदस्यहरूले ताली पिट्नुबाहेक अरू सोच्न सक्दैनन् । उनीहरूको ध्यान संस्थाले दिने लाभांश, भोज र मनोरञ्जनमा मात्र बढी ध्यान गएको पाइन्छ ।

 

सहकारीका अध्यक्षलगायत पदाधिकारीले ल्याएको प्रस्ताव अन्य सञ्चालक, सेयर सदस्यले छलफल नै नगरी ताली पिट्ने गरेका छन् । जसले गर्दा सहकारी भनिए पनि प्रालि एवं कम्पनीभन्दा फरक छैनन् केही सहकारीहरू । सहकारीमा सबैको भावना समेट्नुभन्दा एक दुईजनाले आफूले चाहेजस्तो एंव आफ्नो अनुकूल साधारणसभा गरी संस्था सञ्चालन गर्ने गरेको पाइएको छ ।

 

वार्षिक नीति तथा कार्यक्रम पास गर्नका लागि व्यापक छलफल जरुरत पर्छ । अध्यक्ष एवं सचिवले ल्याएको प्रस्तावबीच गहन छलफल भयो भने मात्र संस्थाले सही गति लिन्छ । कुनै छलफलै नगरी ताली पिट्दा र सेयर सदस्यहरूको ध्यान सहकारीको नीति तथा कार्यक्रममा भन्दा पनि अन्यत्र मोडिएका कारण सहकारीका साधारणसभा प्रभावकारी बन्न नसकेका हुन् ।

 

उता डिभिजन सहकारी कार्यालय, काठमाडौंका अनुसार धेरैजसो सहकारीले साधारणसभा गर्ने गरेका छैनन् । समयमै साधारणसभा नगर्ने सहकारीको संख्या पनि भेट्न सकिन्छ । हालसम्म ६० प्रतिशतभन्दा बढी सहकारीले साधारणसभा गर्न सकेका छन् ।

 

डिभिजन सहकारी कार्यालयका अनुसार काठमाडौंमा चार हजारभन्दा बढी सहकारी सञ्चालमा छन् । सहकारी मापदण्डअनुसार सहकारीले असोजसम्म नै साधारणसभा गरिसक्नु पर्दछ । तर पनि फागुनसम्म सहकारीले साधारणसभा गरिरहेका हुन्छन् ।

 

साधारणसभा सबै सेयर सदस्यहरूको भेटघाट हुने थलो हो । साधारणसभामा सेयर सदस्यहरूको बढी सक्रियता चाहिन्छ तर सबै सहकारीमा सेयर सदस्य सक्रिय भएको पाइँदैन ।

कस्तो व्यवस्था छ ऐनमा

सहकारी ऐन २०७४ ले साधारणसभासम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । परिच्छेद ६ मा प्रारम्भिक साधारणसभा, वार्षिक साधारणसभा र विशेष साधारणसभाको रूपमा परिभाषित गरेको छ । प्रारम्भिक साधारणसभा हुनु अघिल्लो दिनसम्मको काम, कारबाही, चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृति गर्ने कार्य गर्दछ । त्यस्तै प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्ने, विनियममा उल्लेख भएबमोजिम समिति एवम् लेखा समितिको निर्वाचन गर्ने, आन्तरिक कार्यविधि तयार गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, विनियममा तोकिएबमोजिम अन्य कार्यहरू प्रारम्भिक साधारणसभाले गर्दछ ।

 

सहकारीका लागि वार्षिक साधारणसभा अपरिहार्य हो । हरेक वर्ष सहकारीले साधारणसभा गर्नुपर्दछ । वार्षिक साधारणसभाले वार्षिक कार्यक्रम तथा बजेट स्वीकृति गर्ने, वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने, समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने, सञ्चालक वा लेखा सुपरिवेक्षण समितिको संयोजक वा सदस्यलाई पदबाट हटाउने, समिति वा लेखा समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, विनियम तथा आन्तरिक कार्यविधि पारित गर्ने गर्दछ । त्यस्तै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्था एकीकरण तथा विघटनसम्बन्धी निर्णय गर्ने, पारिश्रमिकलगायत सुविधा तोक्ने, बाह्य दायित्व स्वीकार गर्ने, सदस्यको दायित्व मिनाहा दिने, समितिलाई आवश्यक निर्देशन दिने, विनियममा तोकिएबमोजिम अन्य कार्यहरू साधारणसभाले गर्दछ ।

 

सहकारी संस्था दर्ता भएको मितिले तीन महिनाभित्र प्रारम्भिक साधारणसभा बोलाउनुपर्ने व्यवस्था ऐनमा गरिएको छ । समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र वार्षिक साधारणसभा बोलाउनु पर्नेछ ।

 

सञ्चालक समितिले दफा ४९ को उपदफा (१)को खण्ड (६) बमोजिम लेखा सुपरिवेक्षण समितिको सिफारिसमा, कुनै सञ्चालकले विशेष साधारणसभा बोलाउन पेस गरेको प्रस्ताव समितिद्वारा पारित भएमा, समितिले कुनै खास कामको लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेमा, विशेष साधारणसभा बोलाउनुपर्ने कारण खुलाई १५ प्रतिशत सदस्यले समिति समक्ष निवेदन दिएमा विशेष साधारणसभा बोलाउनुपर्छ ।

 

दफा ४० को उपदफा(१) बमोजिमको रजिस्ट्रार वा रजिस्ट्रारबाट अधिकार प्राप्त अधिकारीले आदेश दिएमा कुनै पनि संस्थाले विशेष साधारणसभा बोलाउनुपर्ने हुन्छ । सहकारी संस्थाको निरीक्षण वा सुपरिवेक्षण गर्दा कसैको उजुरी परी छानबिन गर्दा देहायको कुनै कैफियत भेटिएमा सहकारी विभागका रजिस्ट्रार एवम् अधिकार प्राप्त व्यक्तिले त्यस्तो सहकारी संस्थाको विशेष साधारणसभा बोलाउन निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ ।

 

सहकारीले मूल्य, मान्यता तथा सिद्वान्तविपरीत कार्य गरेमा, ऐन, नियम, विनियम तथा आन्तरिक कार्यविधि विपरीत कार्य गरेमा, सहकारी बैंकको हकमा नेपाल राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षणका क्रममा गम्भीर कैफियत देखिएमा विभागले विशेष साधारणसभा बोलाउन सक्नेछ । त्यस्तै रजिस्ट्रार वा रजिस्ट्रारबाट अधिकार प्राप्त अधिकारीको निर्देशनको बारम्बार उल्लंघन गरेमा, दफा ४२ को उपदफा (२) बमोजिम रजिस्ट्रार वा रजिस्ट्रारबाट अधिकार प्राप्त अधिकारीले आदेश दिएमा विशेष साधारणसभा बोलाउने व्यवस्था गरिएको छ ।
निर्देशन जारी भएपश्चात् ३५ दिनभित्र साधारणसभा बोलाउनुपर्ने र प्रतिवेदन सहकारी विभागमा बुझाउनुपर्नेछ । साधारणसभामा तत्काल कायम रहेका सदस्यको कम्तीमा पनि ५१ प्रतिशत उपस्थित भएको हुनुपर्ने छ ।

प्रतिनिधिमूलक साधारणसभा

सहकारीका सदस्य हजारौं भएको अवस्थामा सदस्य व्यवस्थापन गर्न नै समस्या पर्ने गरेको छ । त्यस्तो अवस्थामा सहकारीले प्रतिनिधिमूलक साधारणसभा गर्न सक्नेछन् । दुई हजार वा सोभन्दा बढी सदस्य भएको संस्थाले साधारणसभा गर्दा समान कार्यसूची तोकिएबमोजिम सदस्य संख्याको आधारमा स्थानीय तह वा त्यसका वडामा सञ्चालक सदस्यहरूलाई पठाई साधारणसभा गर्न सक्नेछन् । त्यस्तो साधारणसभाको निर्णय प्रमाणित गर्न प्रतिनिधिहरू छनोट गर्न सक्ने र त्यस्ता प्रतिनिधिहरूको उपस्थितिको सभाले अन्तिम निर्णय प्रमाणित गर्नेछ । त्यहाँबाट छनोट भएका प्रतिनिधिहरू संस्थाको साधारणसभामा भाग लिन पाउनेछन् ।

 

Share This: