१० वर्षमा महमा आत्मनिर्भर हुन्छौं

अर्जुन पोखरेल
अध्यक्ष- नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघकोे हालै नयाँ नेतृत्व चयन भएको छ । संघको आठौं वार्षिक साधारणसभाले अर्जुन पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो । पोखरेलसँग समसामयिक विषयमा गरिएको कुराकानी ।

१ मौरीपालन केन्द्रीय सहकारीले के गर्दै छ ?
मौरीपालन केन्द्रीय सहकारी संघले असल मौरीपालन अभ्यास कार्यान्वयन निर्देशिका जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । जिल्लास्तरमा असल मौरीपालन अभ्यास कार्यान्वयन गर्न तालिम, गोष्ठी, सञ्चालन गर्दै आएको छ । प्रदेशस्तरीय सहकारी गठन गरेर सातै प्रदेशमा मौरी जोनको रूपमा विकास गर्ने सोच राखेको छ । मौरीपालन सहकारीलाई संघको मातहतमा ल्याउनेछ । किसानमा असल मौरीपालन अभ्यास र अनुसन्धान प्रणाली विकास गर्ने योजना बनाएको छ । केन्द्रीय संघले सहकारी महको ब्रान्डलाई सबै संस्थाहरूमा प्रवद्र्धन गराउनेछ ।

२ मौरीपालनका चुनौतीहरू के के हुन् ?
मौरीपालनमा सम्भावनै सम्भावना छ तर चरनको समस्या छ । चरनको यथोचित व्यवस्था गर्न राज्यले सहयोग गर्नुपर्छ । व्यावसायिक कृषिसँगै विषादीको प्रयोगले मौरी मर्ने सम्भावना हुन्छ । त्यसलाई रोक्न अभियान चाल्नुपर्ने भएको छ । नेपालको मह विदेश निर्यात हुन सकेको छैन । गुणस्तरीय र अर्गानिक भए पनि अन्तर्राष्ट्रियस्तरको ल्याब नभएका कारण मह विदेश जान नसकेको हो । अन्तर्राष्ट्रिय मापदण्डको ल्याब सञ्चालन गर्नका लागि राज्य तथा गैरसरकारी संस्थासँग समन्वय गरिरहेका छौं । बजारीकरणको पनि समस्या छ । हामी एकीकृृत बजार बनाउन लागेका छौं । भारतीय महसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सरकारले विभिन्न शीर्षकमा अनुदान दिनुपर्ने अवस्था छ । त्यस्तै घारमा अनुदान पाए, उपकरणमा अनुदान पाए किसानको लागत घट्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा जान सकिने सम्भावना रहन्छ ।

३ महमा आत्मनिर्भर हुने कहिले, किन व्यावसायिक हुन सकेनन् मौरीपालन सहकारीहरू ?
झन्डै ६५ प्रतिशत मह बाहिरबाट आउँछ । हामी १० वर्षमै महमा आत्मनिर्भर हुने रणनीति बनाउन अघि बढेका छौं । निर्यात बढाउने र आयात प्रतिस्थापन गर्ने रणनीतिक योजना बनेको छ । त्यसका लागि सहकारी, मौरीपालक सम्बद्ध निकाय, व्यवसायी तथा सरकारको सहयोग चाहिन्छ ।

४ महको उत्पादन बढाउन राज्यले के गर्नुपर्छ ?
नेपालमा मौरीपालनको इतिहास लामो छैन । २०५० सालदेखि मात्र व्यावसायिक मौरीपालन सुरु गरिएको हो । चरन व्यवस्थापन किसानको मात्र क्षमताले पुग्ने कुरा होइन त्यसैले राज्यले नै गर्नुपर्छ । चरनको व्यवस्था गरिदिए किसान व्यावसायिक रूपमा आउन सक्छन् । बजारको ग्यारेन्टी राज्यले गर्न सक्छ । हामीले सबै आबद्ध संस्थालाई लोगो, ब्रान्ड प्रयोग गर्ने गरी केन्द्रीय संघको ब्रान्डमा मह उत्पादन अभियान सुरु गरेका छौं । यसो हुँदा ब्रान्ड र गुणस्तरमा विश्वस्तका कारणले हाम्रो महको खपत बढ्छ ।

५ केन्द्रीय संघ व्यावसायिक रूपमा सफल हुन नसक्नुको कारण के देख्नुहुन्छ ? संघ बलियो बन्नका लागि कस्ता योजना अघि सार्नुभएको छ ?
हामीसँग भौतिक पूर्वाधार भइदिएको भए हामी व्यावसायिक भइसक्ने थियौं । जग्गा भएको खण्डमा मह प्रशोधन गर्न सजिलो हुने थियो । कम्तीमा मह यहाँ पाइन्छ भन्ने ठाउँ हामीलाई चाहिन्छ । सबै किसानको मह बेच्न सक्यौं भने पनि धेरै कुरा समाधान हुन्छ । गोदाम र आउटलेट राख्ने केन्द्रीय संघको योजना हो । उत्पादन क्षेत्रका सहकारी तथा केन्द्रीय संघलाई स्थापित गर्ने दायित्व राज्यको पनि हो । हामीले बनाएको पाँचवर्षे रणनीतिक योजनामा पनि बजारीकरणका लागि आउटलेट र गोदामघर निर्माण गर्ने तयारीमा छौं ।

Share This: