सहकारी मै मेरो करियर

सन्ध्या श्रेष्ठ
व्यवस्थापक -नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ
सहकारी क्षेत्रमा २०६० सालदेखि क्रियाशील रहेकी सन्ध्या श्रेष्ठ सहकारी नै आफ्नो करियर भएको बताउनुहुन्छ । ‘सहकारीले मलाई धेरै कुरा सिकाएको छ, आगामी दिनमा पनि सहकारी छोडेर जान सक्दिन’ उहाँले भन्नुभयो ।  श्रेष्ठ श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको लेखा वित्तीय विभागीय प्रमुख भएर सहकारीमा प्रवेश गर्नुभएको थियो । श्रीलालीगुराँसको ऋण विभाग प्रमुख र चाबहिल ब्रान्च म्यानेजरका रूपमा जिम्मेवारी सम्हालेकी श्रेष्ठ विगत तीन वर्षदेखि नेपाल बहुउद्देश्यीय केन्द्रीय संघमा जोडिनुभएको हो ।

 

‘प्रारम्भिक संस्था र संघमा धेरै फरक छ’, उहाँले भन्नुभयो, ‘अहिले देशव्यापी सहकारीको नेटवर्कसँग समन्वय गर्नुपर्छ, लालीगुराँसमा हुँदा सीमित क्षेत्रमा रहेर काम गर्नुपथ्र्यो ।’

 

सहकारी आफैंमा आत्मनिर्भर हुन सक्ने प्रमुख माध्यम भएकाले पनि उहाँ सहकारीबाट टाढा हुन नसक्ने ठोकुवा गर्नुहुन्छ । ‘आइडिया छ भने सहकारीमार्फत थोरै पुँजीबाट पनि उदाहरणीय काम गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो ।

 

श्रेष्ठ स्नातक सकिएलगत्तै सहकारीमा प्रवेश गर्नुभएको थियो । सहकारीमा जोडिनुअघि उहाँ एकाउन्टिङ तथा सफ्टवेयरसम्बन्धी तालिम दिनेलगायतका कामसमेत गर्नुहुन्थ्यो ।

 

संघ छाता संगठन भएकाले देशभरी नेटवर्क र रेस्पोन्स पनि पाइने भएकाले रमाइलो भइरहेको उहाँ बताउनुहुन्छ । संघका व्यवस्थापक श्रेष्ठले कतिपय बचत सहकारी नै पछिल्लो समयमा बुहउद्देश्यीय सहकारीमा रूपान्तरण गरेको बताउनुहुन्छ । ‘ती संस्था हामीसँग जोडिएका छन्, हामी उनीहरूलाई पनि नेटवर्कमा जोडिरहेका छौं’ उहाँले भन्नुभयो । अहिले संघ ३२ जिल्ला बहुउद्देश्यीय संघ र २३० वटा सहकारी आबद्व भएका छन् । देशभर ४५ सय बहुउद्देश्यीय सहकारी क्रियाशील भएको बताइन्छ ।

 

सहकारी ऐन पर्याप्त नभएकाले सहकारीले रचनात्मक काम गर्न समस्या परेको श्रेष्ठको अनुभव छ । ‘अरू ऐनले बाधा दिइरहेका छन्, सहकारी ऐनसँग बाँझिने सबै ऐनमा सहजीकरण गर्न सके सहकारीको लगानी बढ्न सक्छ’ उहाँले भन्नुभयो । बचतबाहेक अरु काम गर्दा केही समस्या पर्ने भएकाले कतिपयले बचतको मात्र काम गर्ने र अन्य काम सीमितमात्रै गर्ने गरेको श्रेष्ठको बुझाइ छ । ‘बहुउद्देश्यीय काम गर्न लबिङ गर्न आवश्यक छ, सहकारीलाई खुला छोडिदिनुपर्छ’ उहाँले भन्नुभयो ।

तर पछिल्लो समयमा सहकारी ऐन २०७४ ले धेरै सुविधा दिएको छ । ‘कतिपय कुरामा अझै द्विविधा छ, त्यस्ता कुरामा सहजीकरण गर्दै अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो ।

 

बहुउद्देश्यीय संघले व्यवस्थापन तथा सहकारीको तालिम दिँदै आएको छ । व्यवस्थापन बलियो नहुँदा समस्या आउने भएकाले व्यवस्थापनका क्षेत्रमा तालिममा प्राथमिकता दिइरहेको श्रेष्ठले बताउनुभयो । ‘अर्गनाइजेसन अघि बढाउँदा एकाउन्ट बलियो हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

 

सहकारी क्षेत्रमै रहिरहने उहाँको सोचाइ भए पनि अहिलेसम्म सहकारीको नेतृत्व तहमा आउने श्रेष्ठको सोच छैन । श्रेष्ठले सहकारीसम्बन्धी व्यवस्थापन तालिमसँगै, एकाउन्टिङ, कम्प्युटर सफ्टवेयरलगायतका विभिन्न तालिम लिनुभएको छ । ‘सहकारी क्षेत्रमा रहने नै हो तर लिडर नभई व्यवस्थापनमै संलग्न हुनेछ’ उहाँले भन्नुभयो । ‘सहकारी राम्रो क्षेत्र भएकोले स्कोप छ र यसमा शिक्षा महत्वपूर्ण कुरा हो’ उहाँले भन्नुभयो । सहकारी शिक्षा अझ व्यापक बनाउनुपर्ने उहाँ जोड दिनुहुन्छ ।

सहकारी नबुझी अन्य क्षेत्रबाट आएर सहकारीमा उच्च पदमा जाने प्रवृत्तिले सहकारीमा समस्या सिर्जना हुने गरेको उहाँको भनाइ छ । केन्द्रीय संघ र विभागले नै मनिटरिङ सही ढंगले गर्नुपर्नेमा जोड दिुनुहुन्छ । ‘ऐनमात्र भएर हुँदैन, सम्बन्धित निकायले मनिटरिङ बलियो बनाउन जरुरी छ’ उहाँले भन्नुभयो ।

Share This: