ऐनले बहुउद्देश्यीय  सहकारीलाई निरुत्साहित  गरेको छ

सुरेन्द्र भण्डारी
अध्यक्ष-नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ
बहुउद्देश्यीय सहकारीले के गर्दै छ ?
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ सञ्चालनको छैटौं वर्षमा छौं । फागुन १२ गते पाँचौ वार्षिक साधारणसभा गर्दैछौं । निर्वाचनमर्फत नयाँ नेतृत्व चयन हुँदै छ । पाँच वर्षमा मुख्यरूपमा सहकारीमैत्री ऐन बनाउने, सदस्य संघसंस्थालाई तालिम दिने, जिल्लास्तरीय संघ गठन गर्ने, सदस्य संघसंस्था प्रवद्र्वन गर्नेलगायतका काम गरेका छौं ।

बहुउद्देश्यीय संघलाई बलियो संघ बनाउन के गर्नुपर्ला ?
नेपाल बहुउद्देश्यीय सहकारी संघलाई बलियो संघ बनाउन सकिने आधारहरू छन् । अहिले सहकारी ऐनलाई बहुउद्देश्यीय मैत्री बनाउन आवश्यक छ । अझै सहकारी ऐन २०७४ बहुउद्देश्यीय सहकारीमैत्री छैन् । उसले मुख्य कारोबार ३० प्रतिशत बचत हुन नहुने कुरा राखेको छ । उक्त संशोधन गरेर जानुपर्छ । ऐन सहकारीमैत्री हुनैपर्छ । बहुउद्देश्यीय सहकारीलाई सिध्याउने हिसाबले ऐनमा व्यवस्था गरिएको कुरा हटाउनुपर्छ । ऐनले बहुउद्देश्यीय सहकारीलाई निरत्साहित पार्नेगरी आएकाले उक्त प्रावधान हटाउनुपर्ने भएको छ । यसो गर्न सके मात्र संघ बलियो बन्न सक्छ ।

सहकारीमार्फत आर्थिक रूपान्तरण कत्तिको सम्भव देख्नुहुन्छ ?
सहकारीमार्फत आर्थिक रूपान्तरण सम्भव छ । सहकारीबिना देशको अर्थतन्त्र उकासिन सक्दैन । सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्छ । यसो गर्न सके मात्र सहकारी सबैको प्रिय बन्न सक्छ । सहकारीलाई तीन खम्बे अर्थतन्त्रमा राख्नु मात्र ठूलो कुरा होइन । सहकारीको योगदान बढाउन बहुउद्देश्यीयलाई उत्पादनमा जाने किसिमले प्रवद्र्वन गर्नुपर्छ । बहुउद्देश्यीयलाई बचतमा लैजान खोजिएको छ, यसले समग्र अर्थतन्त्रको समेत हित हुन सक्दैन । सहकारीमैत्री ऐन बनाउन र कार्यान्वयन गर्नेगरी काम गर्न आवश्यक छ ।

बहुउद्देश्यीय सहकारीलाई काम गर्न चुनौती छ, त्यसलाई संघले कसरी समन्वय गर्दै छ ?
केन्द्रीय संघले महासंघको सहयोगमा बहुउद्देश्यीय सहकारीका समस्या सुल्झाउनेछ । लुकिछिपी सुझाव दिने र त्यही कुरा पारित गराउन लविङ गर्नेले बहुउद्देश्यीय सहकारीलाई चुनौती थपिएको हो । अब केन्द्रीय संघले बहुउद्देश्यीय सहकारीका समस्या निराकरण गर्न भूमिका खेल्नेछ । अब ऐन संशोधन नै मुख्य मुद्दा बन्नेछ ।

सहकारीमार्फत सदस्यले आफ्नै सबै आवश्यकता पूरा हुने दिन कहिले आउँला ?
सदस्य जन्मेदखि मर्दासम्म सहकारीबाट कसरी सेवा पाउन सक्छ भन्ने कुरा मुख्य हो । सदस्यताको व्यावसायिकतालाई जोड दिनु अहिलेको आवश्यकता हो । सहकारीमार्फत सदस्यले आवश्यक पर्ने सबै आवश्यकता पूरा गर्न सक्नुपर्छ । सदस्य व्यवसायी बन्न सके मात्र आर्थिक चलायमान हुने भएले सदस्यले आवश्यक पर्ने सबै काम सहकारीमार्फत पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

स्थानीय तह र सहकारीको साझेदारी कसरी बढाउन सकिन्छ ?
स्थानीय तहमा सहकारी अघि बढाउन दर्ता प्रक्रिया अघि खुकुलो बनाउनुपर्छ । कुन तहमा कुन प्रकृतिको संस्था आवश्यक छ भन्ने कुरा पहिचान गरी संस्था दर्ता गर्न आवश्यक छ । तर नीति बन्ने बेलामा केन्द्र, प्रदेश र स्थानीय तममा छुट्टाछुट्टै नीतिकानुन बन्न हुँदैन । केन्द्रीय नीति नै प्रदेश र स्थानीय तहले अबलम्बन गर्न सक्दा मात्र सहकारीको विकासमा टेवा पुग्छ । आफूखुसी नीति बनाउँदा सहकारी भद्रगोल हुन सक्छ ।

सहकारीलाई सदस्यमैत्री बनाउन के गर्नुपर्ला ?
सदस्यमैत्री सहकारी निर्माण गर्न आवश्यक छ । सदस्यको विकास र जीवनस्तर सुधार नै सहकारीको मूल उद्देश्य हुनुपर्छ । तर सहकारी ऐनले सदस्य प्रवद्र्वन गर्ने कुरा रोकेको छ । सदस्य बन्दैमा ऋण चाहियो भन्दैमा पाउँदैन । राज्यले नै सदस्यको प्रवद्र्वनमा संकुचन गर्न हुन्न ।

बहुउद्देश्यीय संघको अबको नेतृत्वले के कुरामा जोड दिनुपर्छ ?
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले बचत तथा ऋणको समेत काम गरेका छौं । बचत तथा ऋणसँगै सदस्यलाई तालिम पनि दिँदै आएका छौं । संघले गर्नुपर्ने कामहरू थुप्रै छन् ।

ऐनले धेरै कुरा तोकिएबमोजिम भनेको छ, अब बन्ने नियमावली बहुउद्देश्यीय अनुकल बनाउन के गर्नुपर्ला ?
नेपाल बहुउद्देश्यीय सहकारी संघले धेरै कुरा गर्न बाँकी छ, सहकारी ऐन सहकारी मैत्री बनाउन आवश्यक छ नै त्योभन्दा पहिला सहकारी नियमावली बन्ने क्रममा रहेको छ । प्रस्तावित मस्यौदा सनातन खालको छ । त्यसलाई समयसापेक्ष र बहुउद्देश्यीय सहकारी अनुकुल हुने गरी बनाउन आवश्यक छ । नियमावलीमा राखिएका बहुउद्देश्यीय सहकारीको अहित हुने कुरालाई सुधार गर्न आवश्यक छ । प्रदेशमा कानुन बन्ने क्रममा भएकाले सहकारीमैत्री नियम कानुन बन्ने गरी लबिङ गर्न आवश्यक छ । नयाँ नेतृत्वले सहकारीअनुकूल ऐन बनाउन लबिङ गर्नुपर्ने आवश्यकता छ । अझै एक, दुई वर्ष ठूलो मेहनत गर्नुपर्ने देखिन्छ ।

 

Share This: