बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्छन्

राजेन्द्र श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत-चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था
सहकारी क्षेत्रमा क्रियाशील राजेन्द्र श्रेष्ठ सहकारी क्षेत्रले काम गर्न सक्ने असीमित सम्भावना रहेको बताउनुहुन्छ । एक दशकदेखि सहकारीमा निरन्तर लागेका श्रेष्ठ चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी प्रमुख हुनुहुन्छ । बहुउद्देश्यीय सहकारीले धेरै काम गर्न सक्ने भए पनि धेरै काम गर्न नसकेको उहाँको भनाइ छ ।
‘अन्य सहकारीको तुलनामा बहुउद्देश्यीय सहकारीलाई चुनौती छ तर केन्द्रीय तहका सहकारीका निकायले लभिङ गर्नुपर्छ’ उहाँले भन्नुभयो । केन्द्रीय संघ, जिल्लाले राम्रोसँग लबिङ गर्न सके बहुउद्देश्यीय सहकारीले नमुना काम गर्न सक्ने उहाँको बुझाइ छ । पछिल्लो समयमा राज्यको दृष्टिकोण बदलिँदै गएको र सहकारीप्रति सकारात्मक धारणा बन्दै गएको उहाँले बताउनुभयो ।

 

कुनै विशेष प्रकृतिको भन्दा पनि सदस्यको आवश्यकता पूर्ति गर्न सक्ने संस्था बहुउद्देश्यीय नै भएकाले राज्यले बहुउद्देश्यीय सहकारीको प्रवद्र्वन गर्नुपर्ने उहाँको भनाइ छ ।

 

११ वर्षको दौरानमा उहाँले दुई दर्जनभन्दा बढी तालिम लिने अवसर पाउनुभएको छ । तालिमले व्यक्तिगत र संस्थागत जीवनमै ठूलो प्रभाव पार्न सक्ने उहाँको अनुभव छ । उहाँले नेदरल्यान्ड एक महिने मास्ट्रिस स्कलर म्यानेजमेन्ट तालिम लिनुभएको थियो । उक्त तालिमले संस्थाको रचनात्मक सुधार भएको उहाँले बताउनुभयो ।

 

‘तालिमले संस्थाको योजनामा सघाउ पु¥याउँछ’, उहाँले भन्नुभयो ‘संस्थागत संस्कार सिकाउने र कर्मचारीको आत्मविश्वास बढाउने काम गर्छ ।

 

तालिमले कसरी कार्यान्वयन गर्ने भन्ने कुरा सिकाएको उहाँको भनाइ छ । उहाँको जीवनमा मात्र होइन संस्थागत जीवनमै तालिमले आधारभूत क्षेत्रमा परिवर्तन ल्याएको छ । ‘जीवन पढेर मात्र सिक्ने होइन रहेछ, अनुभव र तालिमबाट धेरै कुरा सिकिँदो रहेछ’ उहाँले भन्नुभयो ।

 

विदेशमा बहुउद्देश्यीय सहकारीले लोभलाग्दो काम गरेको चर्चा गर्दै श्रेष्ठ भन्नुहुन्छ, ‘यहाँ पनि सहकारीमार्फत धेरै काम गर्न सक्छौं तर त्यसका लागि राज्यले काम गर्ने वातावरण बनाउनुपर्छ ।’

 

नेपालमा संख्यात्मक रूपमा बढी भए पनि सहकारीको गुणात्मक विकास हुन नसकेको उहाँको भनाइ छ । सीमित सदस्य पुँजी प्रथा हटाई ठूलो स्केलमा सहकारीले सेवा दिन सक्नुपर्ने उहाँको भनाइ छ । ‘संस्था जन्मेदेखि मर्नेसम्म आवश्यकता पूरा गर्ने खालको हुनुपर्छ, तर नेपालमा त्यो ट्रेन्ड आएको छैन ।’ उहाँले भन्नुभयो । पछिल्लो समयमा सहकारी क्षेत्रमा सुधार आउँदै गरेको उहाँको विश्लेषण छ । सहकारीको विकासका लागि राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

 

सहकारी सफल हुनुमा सफल सञ्चालक मात्र नभई सफल व्यवस्थापन महत्वपूर्ण हुने गर्छ । सञ्चालक समितिले नीतिनिर्माण गर्ने हो । म्यानेजर लेबलले कार्यान्वयन गर्ने भएकाले कर्मचारीतन्त्रले संस्था सफल बनाउन विशेष भूमिका खेल्नुपर्ने उहाँको बुझाइ छ ।

 

सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई ३० प्रतिशत बचतबाहेक गराउने कुरा समय र प्रतिशतको कुरा घटाउन आवश्यक भएको उहाँले बताउनुभयो । संस्थाले गत वर्ष १ करोड ४२ लाख मुनाफा गरेको थियो साथै २८ करोड निक्षेप संकलन गर्दै सोही मात्रामा कर्जा प्रवाह गरेको उहाँले बताउनुभयो ।

Share This: