ब्रान्डले सदस्यमा सहकारीप्रति विश्वास बढाएको छ

पार्वती खाड राई
उपाध्यक्ष–नेफ्स्कुन
१ नेफ्स्कुन खासगरी कुन क्षेत्रमा फोकस गरेको छ ?
नेफ्स्कुन मुख्यःत बचत तथा ऋणमा फोकस हुने नै भयो । यसका साथै सबै संस्थाहरूलाई सुरक्षित बनाउनका लागि हामीले एक्सेस, प्रोवेसनलगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएका छौं । यी मापदण्डभित्र रहेर काम गर्दा कुनै पनि समस्या आउँदैन भन्ने कुरा हामीले संस्थालाई शिक्षा दिइरहेका छौं । विशेष गरेर सबै संस्थाहरूलाई आह्वान पनि गरेका छौं । पैसाको कारोबार गर्ने संस्था भएपछि जहिले पनि रिक्स हुने सम्भावना हुन्छ, त्यसमा चनाखो भएर स्वस्थ्य संस्था बनाउनेमा हाम्रो ध्यान केन्द्रित छ । सहकारीलाई स्वस्थ्य बनाउनुका साथै संरक्षण दिने काममा लागेका छौं ।

 

२ यहाँका सहकारी ब्रान्डप्रति कत्तिको आकर्षित छन् ?
नेपालका १९ वटा संस्थाले एक्सेस ब्रान्ड पाइसकेका छन् । काम नगरी ब्रान्ड आएको त होइन । सबै जनाले राम्रो काम गर्दै जाँदा सहकारीमा अन्तर्राष्ट्रिय ब्रान्ड पाउन सकिन्छ भन्ने कुरा धेरै सहकारीले महसुस गरेका छन् । त्यो सम्मानले हामी सबैको छवि उच्च भएको छ । जुनै संस्थाले ब्रान्ड पाए पनि त्यो राष्ट्रसँग जोडिएको कुरा हो । १९ वटा संस्थाले ब्रान्ड पाउनु चानचुने होइन, अथक मेहनतले ब्रान्ड पाउन सफल भएका छौं । एक्सेसमा जान अधिकांश सहकारी आकर्षित छन् । त्यसका लागि व्यवस्थापन पक्ष अहोरात्र खटेको छ । बोर्डले पनि विभिन्न नीति, नियम बनाएको छ । काम गरेपछि एकदिन अवश्य मूल्यांकन हुन्छ र सम्मान पनि पाइन्छ भन्ने कुरा साँचो ठहरिएको छ ।

 

३. एक्सेसमा जाँदा सदस्यले के फाइदा पाउँछन् ?
एक्सेस, प्रोवेसनलगायतका ब्रान्डले सदस्यको सहकारीप्रति विश्वास अझ बढ्दै गएको छ । पछिल्लो समयमा एक्सेसमा सबै जानुपर्दो रहेछ भन्ने अधिकांश सदस्यहरूले समेत अनुभूति गरेका छन् । ब्रान्डमा जानका लागि समस्या पनि छैन । एक्सेसमा आउँदा धेरै कुरामा सुधार आउँछ । आर्थिकरूपमा संस्था बलियो हुन्छ । सबै कुरामा पारदर्शिता हुन्छ । यसले संस्थाको पैसा हिनामिना हुनै पाउँदैन । केही संस्था नीतिमा बस्नुपर्ने डरले आउन नचाहेका पनि छन् । एक्ेसस, प्रोवेसनलगायतका ब्रान्डमा जाँदा सदस्यको पैसा पनि सुरक्षित हुन्छ । एक्सेसमा नजाँदा सदस्यको पैसा डुब्ने पनि डर हुन्छ तर एक्सेसमा जाँदा सदस्य ढुक्क भएर लगानी गर्न प्रेरित हुन्छ ।

 

४ बचत सहकारीले महँगो ब्याजदरमा पैसा बेच्ने र सदस्यको शोषण गर्दै आएको भन्ने आरोप लाग्छ, यसरी उद्यमशीलताको विकास हुन सक्ला र ?
काम नै बचत तथा ऋण नै हो, नाममा समेत प्रस्ट छ । उद्यमशीलतासँग सम्बन्धित छुट्ट पाटो नै छ । सहकारीमार्फत सस्तो ब्याजदरमा, झन्झटमुक्त तरिकाले ऋण दिन सके उद्यमशीलता बढ्ने निश्चित छ । नेफ्स्कुनले पनि ऋण दिन्छ । बैंक तथा सहकारीमा ऋणका लागि पैसाको कमी छैन । आर्थिक स्रोत नभई लक्ष्यमा पुग्न सकिँदैन । अहिले बचत सहकारीले दिने ब्याज महँगो भन्ने लाग्दैन । आफ्नै संस्थामा पनि सदस्यले ब्याज बढी भयो भनेर आवाज उठाएर अध्यक्ष, पदाधिकारी तथा कार्यकारीको ध्यान आकर्षित गर्न सक्छन्, त्यसो गरेर न्यायोचित ब्याजदरमा ऋण दिने व्यवस्था गराउन सकिन्छ । यसो हुन सकेमा देशमै उद्यमशीलता बढ्नुका साथै स्वरोजगार बढ्ने र युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ । युवाहरूले पनि सहकारी बुझ्दै सहकारीमार्फत जीवन रूपान्तरण गर्न सकिन्छ भन्ने कुरामा सचेत हुनुपर्छ ।

 

५ महिला, युवालाई सहकारीमा आबद्ध गराउँदै आर्थिक विकासका लागि स्थानीय तहसँग साझेदारी गर्न सकिने कत्तिको सम्भावना देख्नुहुन्छ ?
स्थानीय तह नयाँ सिस्टम नै हो । तहले सहकारीसँग सम्बन्धित व्यक्तित्वको परामर्श लिएर रचनात्मक काम गर्न सक्ने ठाउँ रहन्छ । त्यसका लागि विभिन्न संघहरूले पनि सोचेर आर्थिक विकासका लागि सहकारी पहिलो आधार हो भन्ने कुरा देखाउन सके राम्रो हुने थियो । स्थानीय तह र सहकारीको दोहोरो वार्ता, समन्वय र सहकार्यबाट देश विकासमा लाग्न सकिन्छ । त्यसमा तह जागरूक हुनुपर्छ ।
युवा भन्नेबित्तिकै पुरुष मात्र हुन्छ भन्ने होइन । सहकारी क्षेत्रमा क्रमशः महिला तथा युवाहरू सक्रिय हुँदै जानुभएको छ । वैदेशिक रोजगारमा गएका युवाहरूलाई सहकारीमार्फत उद्यमशीला दिन सक्नुपर्छ ।

 

 

नेफ्कुनसँग सम्बन्धीत पाँच प्रश्न

 

 

सहकारीले महिलालाई आत्मनिर्भर बनाएको छ

उत्पादनमा केन्द्रित हुँदैछन् सहकारी

सहकारीलाई मार्गदर्शन दिने छ

व्यक्तिमुखी र नाफा केन्द्रित मात्र हुनुले सहकारीको गुणस्तर बृद्धि हुन सकेको छैन

साकोस समिटले एउटा महत्वपूर्ण सन्देश दिने छ

नेफ्स्कुनले जिल्लामार्फत कार्यक्रम लैजानुपर्छ

नेफ्स्कुन र जिल्ला संघ भन्ने कुरा फरक रहेछ

 

Share This: