संस्था डुब्ला भन्ने डर हुँदैन

शान्ति अधिकारी ढकाल
सल्लाहकार–प्रभात दिदीबहिनी साकोस, चितवन
प्रभात दिदीबहिनी सहकारी २०७० को अन्तिमतिर प्रोवेसन ब्रान्डमा गएको हो । प्रोवेसन कार्यक्रम २०६९ तिर सुरु भए पनि पहिलो ब्याजमा हामी सहभागी हुन सकेनौं । सञ्चालक टिमलाई मनाउन प्रयास गरे पनि केही समस्याका कारण हामी पहिलो ब्याजमा समावेश हुन सकेनौं । प्रोवेसन ब्रान्ड चितवनबाट सुरु भएको हो । अर्को वर्ष नयाँ समिति पनि आयो । पहिलो पटक अडिट गर्दा संस्थागत पुँजी ४.८ थियो । जसले गर्दा हामी असफल भयौं । प्रोवेसनमा जान संस्थागत पुँजी पाँच प्रतिशत नाघेको हुनुपर्छ ।

२०७३ सालमा दिदीबहिनी उपभोक्ता सहकारीसँग एकीकरण भयो । मिसिएपछि उहाँहरूको लगानी भाखा नाघेको बढी देखियो । त्यो वर्ष अडिट गर्न सकेनौं । २०७४ सालमा हामी पास भयौं । वित्तीय सूचांकमा (पल्स मनिटरिङ) हामी उत्कृष्ट भएका थियौं । व्यवस्थापनमा भने केही कमी कमजोरी देखिएका थिए । कर्मचारी छोड्ने परिपाटीले पनि संस्था सञ्चालनमा समस्या सिर्जना हुँदो रहेछ । अहिले पनि सदस्यता वृद्धिमा समस्या छ । त्यतिबेला पाँच करोडको सम्पत्ति थियो भने अहिले २२ करोडभन्दा बढी कुल सम्पत्ति पुगेको छ । सेयर पुँजी अहिले दुई करोडभन्दा बढी छ ।

प्रोवेसनमा भाग लिइसकेपछि कसैले नजर लगाइरहनु पर्दैन । संस्था कुनै बेला दुर्घटना हुन्छ कि भन्ने डराउनुपर्ने अवस्था हँुदैन । नेफ्स्कुनबाट तीनतीन महिनामा मनिटरिङ हुन्छ । सिकाइ राम्रो भएको छ तर खर्च भने छुट्याउनुपर्छ । पहिला संस्थागत पुँजी बढाउन धेरै मेहनत गरेका हौं तर त्यसमा सफलता प्राप्त गर्न सकेका थिएनौं ।

कोष बढाउनेभन्दा पनि कर कम तिर्न पाए हुन्थ्यो भन्ने कुरामा ध्यान दिँदा संस्थागत पुँजी पनि कम हुन्छ । अहिले सदस्य बनाउँदा घर बनाउन एक हजार रुपैयाँ थप लिने गरेका छौं । सदस्यले न्यूनतम् एक सय रुपैयाँ सेयर किन्नुपर्छ र मासिक दुई सय न्यूनतम बचत गर्नुपर्छ । बर्सेनि सेयर थप्ने व्यवस्था गरेका छौं । औसत एकजना सदस्यका ५० हजार सेयर बनाएका छौं । सेयर र बचतको अनुपात पनि राम्रो छ । हाम्रो सक्रियता राम्रो छ र समुदायमा चर्चा पनि राम्रो छ ।

एक्सेसमा जान हस्ताक्षर गरिसकेका छौं । चितवनकै पाँचवटा संस्थाले प्रोवेसन पाएका छन् । पहिलो र दोस्रो ब्याजका ६ मध्ये पाँचवटाले ब्रान्ड पाएका छन् । प्रोवेसन पाएकामध्ये प्रभात दिदीबहिनी, दीपज्योति, ग्रामीण साकोस पनि एक्सेसका लागि अगाडि बढिसकेका छन् भरतपुर साकोस भने पहिला नै गइसकेको थियो ।

Share This: