सुरुमा असहज लाग्न सक्छ

केदार पोखरेल
सचिव एवम् एक्सेस टाक्स्फोर्स स्रयोजक मनकामना साकोस
मनकामना साकोसका सचिव केदार पोखरेल स्थापनाकालदेखि मनकामना सहकारीमा सक्रिय हुँदै आउनुभएको छ । पोखरेल स्थापनाकालदेखि नै मनकामनाको सदस्य, लेखा संयोजक, कोषाध्यक्ष हुँदै अहिले सचिव भएर काम गर्दै आउनुभएको हो । विगत चार वर्षयता उहाँ मनकामना साकोसको एक्सेस टाक्सफोर्स संयोजकसमेत हुनुहुन्छ ।

 

संस्था एक्सेस ब्रान्डमा गएपछि धेरै फरक भएको उहाँको भनाइ छ । कार्यालय व्यवस्थापन, संस्थागत विकास, सदस्य सेवामा गुणस्तरीयता थपिएको उहाँले बताउनुभयो ।

 

तर पनि पोखरेलले भाखा नाघेको ऋण शतप्रतिशत घटाउन नसकिएको बताउनुहुन्छ । ‘पूर्णरूपमा घटाउन समस्या छ, तैपनि हामी निरन्तर अघि बढेका छौं’ उहाँले भन्नुभयो ।

 

अहिले करिब चार प्रतिशत भाखा नाघेको ऋण रहेको उहाँले जानकारी दिनुभयो । संस्थाले चार वर्षअघि ब्रोन्जसहित एक्सेस ब्रान्ड पाएको थियो । सिल्भर, गोल्ड तथा प्लाटिनमम्म पुग्ने लक्ष्य संस्थाले लिएको उहाँको भनाइ छ । ‘आउने वर्ष फेरि ब्रोन्ज नै पाउने सम्भावना छ तर आगामी दिनमा उत्कृष्ट ब्रान्ड लिने प्रयत्नमा छौं’ उहाँले भन्नुभयो ।

 

मनकामनाको ६ हजार सदस्य पुगेका छन् । संस्थाको सम्पत्ति २९ करोड हारहारीमा पुगेको छ । मोरङ जिल्लामा यो राम्रो कारोवार गर्ने संस्थाका रूपमा अग्रपंक्तिमा आउँछ । संस्थाको सेयर पुँजी दुई करोड हाराहारीमा छ ।

 

संस्थाले सदस्यको सामाजिक जीवनलाई सहज बनाउने काम गर्दै आएको सचिव पोखरेलले बताउनुभयो । मनकामनाले व्यापारिक तथा कृषि क्षेत्रमा लगानीमा प्र्राथमिकता दिँदै आएको छ । एक्सेस टाक्सफोर्सका संयोजकसमेत रहेका पोखरेलले यहाँका अधिकांश सदस्य कृषि उत्पादनमा केन्द्रित भएको बताउनुहुन्छ।

पोखरेल सहकारी क्षेत्रको नेतृत्व तहमा पुग्ने सोचमा हुनुहुुन्छ । ‘आगामी दिनमा अघि बढ्ने सोच पनि छ, समय र परिस्थितिअनुसार चल्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ।

 

पोखरेलले सहकारी क्षेत्रको वित्तीय, लेखालगायतका विविध विषयमा तालिम लिनुभएको छ । तालिमले संस्थागत तथा व्यक्तिगत जीवनमा ठूलो प्रभाव पार्ने उहाँको भनाइ छ ।

 

सहकारीको विकासका लागि नेफ्स्कुनको भूमिका अत्यन्त राम्रो भएको उहाँको भनाइ छ । ‘नेफ्स्कुनबाट धेरै सहयोग पाएका छौं, उहाँहरूकै सहयोगमा हामी यहाँसम्म आइपुगेका हौं’ उहाँले भन्नुभयो । नीति, नियम बनाउने तथा प्रविधि हस्तान्तरणका सवालमा नेफ्स्कुनको महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो ।

 

पोखरेलले एक्सेसमा जान चाहने संस्थाले संस्थागत पुँजी र भाखा नाघेको ऋण व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । ‘सुरुमा असहज लाग्न सक्छ, तर दीर्घकालीन रूपमा उक्त कुराले रचनात्मक सहयोग पु¥याइरहेको हुन्छ’ उहाँले भन्नुभयो ।

Share This: