सहकारी बैंकले मनायो स्थापना दिवस

 काठमाडौं, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सहकारीले संमृद्वि हासिल गर्न र उत्पादन बढाउन जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंकको १६ औं स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा आयोजित स्थानीय सरकार र सहकारी : प्रवद्वन/अनुगमन/विकासमा साझेदारी’ विषयक गोष्ठीमा बोल्दै पण्डितले सहकारीमार्फत संमृद्वि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सहकारीको वास्तविक तथ्यांक आउन नसकेको भन्दै मन्त्रीले एउटै व्यक्ति धेरै सहकारीमा आबद्व हुनु राम्रो नहुने बताउनुभयो । ‘अब एक व्यक्ति एक सहकारीमा मात्र आबद्व हुनुपर्छ’ उहाँले भन्नुभयो । सहकारीमा लगानी भएपनि व्यवस्थित नभएको त्यसतर्फ सहकारीकर्मीको ध्यान जानुपर्ने उहाँको भनाई थियो । ‘मूल धन लिएर क्षणिक खुसी मनाउनु भन्दा आम्दानी वृद्वि गरेर सधैँ खुसी हुने काम गर्नुपर्छ’ उहाँले भन्नुभयो । गलत तरिकाले ऋण उपयोग गरे समस्यामा परिने भन्दै उहाँले सहकारीकर्मीहरु आयमा वृद्वि हुने गतिविधिमा संलग्न हुनुपर्नेमो जोड दिनुभयो ।

सहकारीका अनुदान तथा ऋणसमेत गलत ठाउँमा प्रयोग भए गरिवी घटाउन र संमृद्वि हासिँल गर्ने अभियान पूरा गर्न नसकिने उहाँको भनाई थियो । ‘यदि सहकारीको पैसा जग्गा दलालीमा लगानी भएको भए त्यस्ता सहकारी र व्यक्तिलाई दण्डित गर्नुपर्छ’ उहाँले भन्नुभयो । सहकारीमा निश्चित व्यक्तिको हालीमुहाली हुने गरेको संकेत गर्दै मन्त्री पण्डितले भन्नुभयो,‘सहकारीलाई नीजि तबरबाट सञ्चालन हुने प्रवृति रोक्नुहोस्।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले स्थानीय तहले सहकारीसँग साझेदारी गर्न सक्नुपर्ने बताउनुभयो । मानवीय आवश्यकताका यावत क्षेत्रमा सहकारीले काम गर्न सक्ने भएकाले सहकारीमार्फत आर्थिक संमृद्वि हाँशिल गर्न सकिने उहाँको भनाई थियो । ‘स्थानीय तहले सहकारीलाई प्रोत्साहन गर्नुपर्छ, अनिमात्र दूर्तगति आर्थिक विकास गर्न सकिन्छ उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्र संघले प्रतिवादन गरेको १७ वटा दिगो विकास लक्ष्यका १३ वटा बुदाँ नेपालको संविधानले मौलिक हकमा समेत व्यवस्था गरेको भन्दै बडालले ती कुराहरु सहकारीमार्फत हाँशिल गर्न सकिने बताउनुभयो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकराज अधिकारीले सहकारी स्वनियमनमा चल्ने संस्था भएकाले कसैले नियमन गर्न जरुरी नरहेको बताउनुभयो । सहकारीमा अन्धाधुन्ध लगानी भएको भन्दै लगानी व्यवस्थित गर्न आवश्यक भएको उहाँको भनाई थियो । कतिपयले सहकारीलाई पारिवारिक व्यवसाय बनाएकाले सहकारीमा समस्या बढ्दै गएको उहाँको भनाई थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री गोपीनाथ मैनालीले प्रत्येक तहले सहकारी डेक्स र सहकारी हेर्ने छुट्टै कर्मचारी राख्नुपर्ने बताउनुभयो । सबै स्थानीय तहमा कोपोमिस कार्यान्वयनमा ल्याई सहकारीको तथ्यांक व्यवस्थित गरिने उहाँको भनाई थियो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले सहकारीको नाममा केही व्यक्ति मोटाउने खतरा रहेको भन्दै त्यस्ता गलत कार्य स्थानीय तहले रोक्नुपर्ने बताउनुभयो । सहकारीमार्फत उद्योग सञ्चालन गर्न, रोजगार तथा स्वरोजगार सिर्जना गर्न एवम् उत्पादन वृद्वि गर्न सहकारीले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । स्थानीय तहलाई दिइएका ३५ वटा निर्देशक सिद्वान्तहरुमध्ये अधिकांश बुदाँहरु सहकारीमैत्री नै भएको बताउनुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारी बचतमा मात्र नभई उत्पादनमा फोकस हुनुपर्ने बताउनुभयो । सहकारीमैत्री नियमावली ल्याउने तयारी भइरहेको भन्दै पौडेलले संमृद्वि हाँशिल गर्न सहकारीले गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद पशुपति चौलागाईले सहकारी र गैरसहकारी बिल्कुल फरक भएको भन्दै स्थानीय तहले सहकारीमार्फत आफ्ना कार्यक्रम लैजान सके प्रकावकारी हुने बताउनुभयो । समाजवाद प्राप्तिका लागि सहकारीले उत्पादनमा नगई सुख नभएको उहाँको भनाई थियो ।

सांसद घनश्याम खतिवडाले सहकारीले स्थानीय तहसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सल्लाहकार धर्मदत्त देवकोटाले सहकारीको खोल ओढेर कुनै पनि अनुचित काम गर्न कसैलाई पनि छुट नभएको बताउनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले कतिपय स्थानीय तहमा दक्ष कर्मचारी नभएर सहकारीको काम अगाडि बढ्न नसकेको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपालले स्थानीय तह सहकारीसँग साझेदार गर्न तयार भएको बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रबन्ध सञ्चालक केवी उप्रेतिले गर्नुभएको थियो । कार्यक्रममा स्वागत बैंकका लेखा संयोजक कुलचन्द्र अधिकारीले गर्नुभएको थियो । सो अवसरमा बैंकका नायब महाप्रबन्धक बद्री गुरागाईले बैंकबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

Share This: