सहकारीलार्इ उत्पादनशील क्षेत्रमा लगानी गर्न नवनियुक्त मन्त्री अर्यालको अाग्रह

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनमा केन्द्रीहत हुन आग्रह गर्नुभएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको संयोजकत्वमा गएको सहकारीकर्मीको टोलीसँग कुराकानी गर्दै मन्त्री अर्यालले सहकारी उत्पादनमा जानुको विकल्प नभएको बताउनुभएको हो ।

 

सहकारी अभियानको प्रवद्र्वनमा सधैँ अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै अर्यालले समृद्ध मुलुक र खुसी नेपालीका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘सहकारी उत्पादनमा जान सके मात्र यसको गरिमा र महत्व बढ्छ, त्यसतर्फ तपाईहरुको ध्यान जायोस्’ उहाँले भन्नुभयो ।

 

मन्त्री अर्यालले सहकारीले नेपालीलाई बचत गर्ने बानी बसालेको बताउँदै अब उत्पादनशस्ल क्षेत्रमा सहकारी अभियानले जोड दिन सके देशको व्यापारघाटा न्यूनिकरण गर्न सकिने बताउनुभयो । ‘सहकरीले बढी भन्दा बढी उत्पादन गर्न सकेमा देश आत्मनिर्भरतर्फ उन्मुख हुन्छ’ उहाँले भन्नुभयो ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रमा तत्काल गर्नुपर्ने विषयहरुको विषयमा चर्चा गर्नुभएको थियो ।

उहाँले स्थानीय तहमा सहकारी बुझेका कर्मचारीको व्यवस्थापन गर्नेदेखि सहकारी मैत्री ऐन नियम निर्माण विषयमा मन्त्रीको ध्यानआकर्षण गराउनुभयो । सो अवसरमा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको समेत उपस्थिति थियो ।

साथै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, संचालक रविन्द्र केसी, संचालक तथा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, संचालक सुरेन्द्र भण्डारी, माधव दुलाल, चन्द्र भण्डारी, टिका बुढाथोकीलगायत विभिन्न केन्द्रीयस्तरका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र नायव महाप्रबन्धक बाबुल खनालको समेत उपस्थिति थियो ।

 

Share This: