गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनु पर्छ : मन्त्री अर्याल

ललितपुर ।   नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले समृद्ध नेपाल र सुखी नेपाली बनाउने नेपाल सरकारको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको भूमिकालाई बढाउनु पर्नेमा जोड दिनु भएको छ ।   नवनियुक्त सहकारी मन्त्री अर्याललाई बधाई दिन मन्त्रीको निवासमा पुगेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको टोलीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री अर्यालले यस्तो बताउनु भएको हो ।

 

‘सहकारीको योगदान बिना गरिवी निवारण संभव छैन, त्यसका लागि सहकारी मार्फत गर्न सकिने व्यवसाय र उद्यमशिलताका विषयमा ध्यान दिइने छ’ उहाँले भन्नुभयो । सहकारी ऐन र अन्य ऐनका कारण काम गर्न समस्या छन् भने तिनलाई समयानुकुल परिमार्जन गर्न सकिने भन्दै उहाँले सहकारी क्षेत्रको विकासका लागि सहकारी अभियानसंग साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

‘सबैसँग सहकार्य गरेर समृद्धिको अभियानलाई सफल पार्नुपर्छ’ उहाँले भन्नुभयो । समृद्धिको अभियानमा सहकारी क्षेत्रको प्रभावकारी भूमिका हुनु पर्छ भन्ने सोंच आफ्नो रहेको उहाँले बताउनु भयो ।

 

नवनियुक्त मन्त्री अर्याललाई राष्ट्रिय सहकारी बैंकका तर्फबाट अध्यक्ष रमेश प्रसाद पोखरेल, प्रबन्ध सञ्चालक के.बी.उप्रेती, लेखा समितिका संयोजक कुलचन्द्र अधिकारी लगायतले बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।   बैंकको वित्तीय लगायत समसामयिक अवस्थाका बारेमा प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी गराउनु भएको थियो ।

Share This: