सहकारीमार्फत पूँजि निर्माण र परिचालनमा जोड दिऔं : मन्त्री थापा

पोखरा, १९ भदौ  । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गरिवी निवारणका लागि सहकारीमार्फत पूँजि निर्माण र परिचालनमा जोड दिनु भएको छ ।   राष्ट्रिय सहकारी बैंक लिमिटेडको गण्डकी प्रदेश शाखा पोखराले आइतवार आयोजना गरेको सहकारी संघ संस्थाको प्रद्धर्वनमा राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो ।

 

 

गाउँ गाउँमा सहकारीहरुले जनतालाई उद्यमशिलताको विकास गरी आयआर्जन गर्न, वचत गर्ने बानीको विकास गराउन महत्वपूर्ण योगदान गरेको भन्दै मन्त्री थापाले जनतासंग भएको श्रम, सीप र पूँजिलाई अधिकतम उपयोग गर्नका लागि सहकारी क्षेत्रको सक्रियता आवश्यक हुने बताउनु भयो ।   उहाँले जनतासंग भएको रकम सहकारी संघ संस्थाहरुमा र सहकारी संघ संस्थाहरुमा भएको रकम सहकारी बैंकमा जम्मा गरेर त्यसमार्फत उत्पादन र प्रशोधन तथा बजारीकरणका काम गर्नु पर्नेमा जोड दिनुभयो ।

 

उहाँले सहकारी क्षेत्रलाई बलियो बनाउनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिकालाई  थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै प्रदेश सरकार र सहकारी बैंकबीचको सम्बन्ध कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुगिने धारणा राख्नु भयो ।   गण्डकी प्रदेशका सांसद तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले सहकारी बैंकको सेवा सुविधालाई दुर्गम क्षेत्रका सहकारीहरुमा पु¥याउने गरी समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले संघीय संरचना अनुसार राष्ट्रिय सहकारी बैंकका शाखा तथा उपशाखाहरु विस्तार गर्दै सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा बैंकको भूमिकालाई प्रभावकारी बनाउने बताउनु भयो ।   बैंकका सञ्चालक रामबहादुर जिसीले बैंकको परिचय, विगत, वर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा सहजीकरण गर्नु भएको थियो । गण्डकी प्रदेशमा बैंकका ५ वटा शाखा रहेको, ५ वटा शाखामार्फत १ हजार सहकारी संघ संस्था सदस्य, १२ करोड शेयर पूँजि, २ अर्ब निक्षेप र १ अर्ब ५० करोड कर्जा लगानी रहेको जिसीले जानकारी दिनुभयो ।

 

 कार्यक्रममा नेफ्स्कुनका सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, दुग्ध उत्पादक सहकारी संघ कास्कीका अध्यक्ष पूण्य पौडेल, वचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदिप ढकाल लगायतले राष्ट्रिय सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि प्रदेश सरकारको भूमिका सहयोगी र समन्वयकारी हुनु पर्नेमा जोड दिनु भएको थियो ।

 कार्यक्रम बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीको अध्यक्षता, पोखरा शाखाका प्रमुख केदारनाथ उप्रेतीको सञ्चालन र शाखा प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न भएको थियो । कास्की जिल्लाका १ सय ५० सहकारी संघ संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Share This: