गण्डकी प्रदेशकै नमुना सञ्चार सहकारी बनाउने प्रतिवद्धता

आदर्श सञ्चार सहकारीको पदस्थापन कार्यक्रम

बागलुङ, २५ भदौ   आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको छ ।   संस्थाका निवर्तमान अध्यक्ष अमरबहादुर थापाले नवनिर्वाचित अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) लाई वैठक पुस्तिका हस्तान्तरण गरेर पदस्थापन गराउनु भएको थियो ।

यस्तै लेखा समितिका संयोजक थानेन्द्रप्रसाद गौतमलाई निवर्तमान संयोजक मिलन केसीले वैठक पुस्तिका हस्तान्तरण गरेर पदस्थापन गराउनु भएको थियो । नवनिर्वाचत सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो ।   पदस्थापन कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) ले सहकारीको मर्म र भावना अनुसार संस्थालाई अगाडि बढाउन सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

साधारणसभाले संस्थाको कार्यक्षेत्र बढाएर गण्डकी प्रदेश स्तरीय बनाउने निर्णय गरेको भन्दै उहाँले प्रदेशकै स्तरीय सञ्चार गृहका रुपमा आदर्श सञ्चार सहकारीलाई स्थापित गर्ने लक्ष्य पुरा गर्नका लागि संस्थाका शेयर सदस्यहरु, कर्मचारी र सञ्चालकहरुबीच समन्वय र सहकार्य तथा क्रियाशिलता आवश्यक रहेको बताउनु भयो । लेखा समितिका संयोजक थानेन्द्रप्रसाद गौतमले सञ्चालक समिति र कर्मचारीलाई थप क्रियाशिल बनाउन लेखा समिति सदैव तत्परताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नवनिर्वाचित सञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले धौलागिरि क्षेत्रको सहकारी अभियानलाई अगाडि बढाउन आदर्श सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले गण्डकी प्रदेश स्तरीय सहकारी बनाएर सूचना र सञ्चारको क्षेत्रमा क्रियाशिल रहन सुझाव समेत दिनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले संस्थागत रुपमा सञ्चारमाध्यम सञ्चालन गर्ने अग्रणी संस्थाका रुपमा स्थापित आदर्श सञ्चारको धेरै संस्थाले अनुशरण गरेको र आगामी दिनमा थप प्रभावकारी काम गर्न आग्रह गर्नु भयो । उहाँले उत्कृष्ट सञ्चारगृहका रुपमा आदर्श सञ्चारलाई स्थापित गर्न शेयर सदस्यहरुको सक्रिय सहभागिता र समन्वयमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार डिलबहादुर कार्की, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख शैली खड्का, संस्थाका निवर्तमान सञ्चालक शान्ति ज्ञवाली लगायतले वधाई शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।   कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका निवर्तमान अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, निवर्तमान लेखा संयोजक मिलन केसीको स्वागत र संस्थाका सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  कार्यक्रममा गत आर्थिक वर्षमा सर्वोत्कृष्ट कारोबार गर्ने शेयर सदस्य रेणु केसी सहित उत्कृष्ट कारोबार गर्ने ७८ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।   साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाको भदौ १६ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाले हुमाकुमारी जि.सी. (अञ्जु) को अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र थानेन्द्रप्रसाद गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको थियो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा अनन्तबहादुर खड्का, सचिव ललिता थापा, सहसचिव सरस्वती खड्का परियार र कोषाध्यक्ष पूर्णबहादुर कार्की चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा शान्ति श्रेष्ठ, राजेश श्रेष्ठ, गिता खड्का, सिर्जना थापा मगर, अम्बिका जि.सी., खीमबहादुर केसी, दुर्गाबहादुर क्षेत्री, कमल लामिछाने, सावित्री खड्का र देवी कार्की खड्का रहनु भएको छ । लेखा समितिको सदस्यहरुमा पुष्पाकुमारी क्षेत्री र राधाकृष्ण ज्ञवाली चयन हुनु भएको छ ।   २०६३ सालमा ३२ जना शेयर सदस्यको ३ लाख २० हजार रुपैया संकलन गरेर शुरु भएको आदर्श सञ्चार सहकारीले स्थापनाकालदेखि नै धौलागिरि जागरण दैनिक र विगत ८ वर्षदेखि अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आएको छ ।

सूचना र सञ्चारसंगै वचत तथा ऋणको समेत कारोबार गर्दै आएको संस्थामा हाल १ हजार २ सय ५० जना शेयर सदस्य, २ करोड ८० लाख शेयर रकम, १० करोड बचत, १३ करोड ५० लाख कर्जा लगानी रहेको छ । संस्थाले २०८० सालसम्म ५ हजार भन्दा बढी सदस्य, १२ करोड ५० लाख शेयर पूँजि, ४० करोड बचत र ५० करोड लगानी गर्ने लक्ष्य लिएको अध्यक्ष अञ्जु जि.सी.ले जानकारी दिनुभयो ।

Share This: