सहकारीको कमजोर नियमनका कारण वित्तीय स्थायित्वमा जोखिम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कमजोर नियमनका सहकारीका कारण वित्तिय स्थायित्वमा जोखिम रहेको उल्लेख गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार आयोजना गरेको “वित्तिय क्षेत्र स्थायित्वः प्राथमिक राष्ट्रिय एजेण्डा” विषयक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले बचत तथा ऋण सहकारीहरु तथा गैर–बैंकिङ वित्तिय संस्थाहरुमा नियमनको अभावले वित्तिय क्षेत्रमा अदृश्य जोखिम रहेको औंल्याएका हुन् ।

चालु आर्थिक वर्ष २०७५–७६ को मौद्रीक नीतिले वित्तिय स्थायित्व सशक्तीकरणका लागि मापदण्डहरु अबलम्बन गरेको भन्दै, उनले बचत तथा ऋण सहकारीहरु सहितका वित्तिय कारोबार गर्ने संस्थाहरुमा सुशासनको अभावका कारण जोखिम अन्तरनिहीत रहेको उनको जिकिर थियो ।
अन्तरक्र्रिया कार्यक्रममा विज्ञ, नीति निर्माता तथा नियामकहरुले वित्तिय स्थायित्व आर्थिक वृद्धिका लागि पूर्वशर्त रहेको र यसलाई त्यत्तिकै प्राप्त भएको नठान्न आग्रह गरेका छन् ।

गभर्नर नेपालले नेपालको बैंकिङ क्षेत्र अत्यन्त मजबुत रहेको भन्दै केन्द्रीय बैंकको विवेकशील नियमनका कारण यो सम्भव भएको बताए । बैंक तथा वित्तिय संस्थामा सुशासन र स्वनियमन समेत भएको भन्दै उनले वित्तिय कारोबार गर्ने संस्थाहरु तथा गैर बैंकिङ वित्तिय संस्थाहरुलाई स्वनियमनमा बस्न सुझाए ।
अर्थतन्त्रमा प्रवाहित कुल रकमको १५ प्रतिशत रकम परिचालन गर्ने संस्थाहरु नियमन बाहिर रहेको भन्दै गभर्नर नेपालले यसमा कुनै धक्का लागेमा सिंगो वित्तिय क्षेत्रलाई नै आघात पु¥याउने उल्लेख गरे । “सहकारीमा पनि ठूलो रकम आवतजावत हुन्छ । र पैसाको प्रवाहलाई पछ्याउन यिनीहरुलाई प्रभावकारी नियामकीय सीमाभित्र ल्याउनैपर्छ,” गभर्नर नेपालले भने ।


प्रणालीगत रुपमा महत्वपूर्ण बैंकहरुको नियमन, वाणिज्य बैंकका ठूला शाखाहरुको लेखापरिक्षण, घरयासी मूल्य सूचकांकक तयार गर्ने योजना र २ लाख रुपैँया बराबर निक्षेपको सुरक्षण हुँदै आएकोमा ३ लाख रुपैँया पु¥याउने मौद्रीक नीतिको व्यवस्था वित्तिय क्षेत्रलाई सशक्तीकरण र स्थायित्वका लागि ल्याइएको गभर्नरको भनाई थियो ।

गभर्नर नेपालले वित्तिय स्थायित्वको दीगोपनामा जोड दिनुका साथै विप्रेषणमा निर्भरता वित्तिय क्षेत्रका लागि पनि त्यत्तिकै जोखिम रहेको संकेत गरे । सन् २००८ को विश्वव्यापी वित्तिय संकटले कुनै पनि वित्तिय क्षेत्रको स्रोत परिचालन भएका कुनै क्षेत्रमा समस्या पर्दा वित्तिय क्षेत्रमा कसरी संकट पर्छ भन्ने पाठ सिकाएको गभर्नरको भनाई थियो ।

त्यस्तै, अर्थमन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले दीगो आर्थिक वृद्धि तथा आर्थिक वृद्धिको स्थायित्वका लागि स्वस्थ वित्तय क्षेत्र तथा वित्तिय स्थायित्व महत्वपूर्ण रहेको टिप्पणी गरे । “विश्व अर्थतन्त्र सामान्यीकरणतर्फ अघि बढीरहेको र अहिले कुनै पनि तनावको अवस्था नरहेपनि सन् २००८ को वित्तिय संकटले वित्तिय क्षेत्रलाई राम्ररी व्यवस्थापन गर्न सकिएन भने यसले अर्थतन्त्रलाई गहिरो असर पार्छ भन्ने अनुभव गराएको छ ।” उनले सरकारले वित्तिय स्थायित्वलाई प्राथमिक एजेण्डामा राखेर यसलाई मितव्ययी, विश्वसनीय र मजबुत बनाउन आवश्यक नीतिगत व्यवस्था गरेको बताए ।

बेलायति अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा सञ्चालित वित्तिय क्षेत्र स्थायित्व कार्यक्रमका अर्थ राजनीति सल्लाहकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालाले वित्तिय क्षेत्रका नियामकीय निकायहरुको निकामकीय तथा सुपरिवेक्षकीय क्षमता बढाउनुपर्नेमा जोड दिदैं पछिल्लो समयमा वित्तिय क्षेत्रले ठूलो परिवर्तन र संक्रमण पार गर्दै अघि बढेको उल्लेख गरे ।

कोइरालाले नियामकीय परिधिमा रहेका बैंक वित्तिय संस्थाबाहेक गैर बैकिङ र वित्तिय कारोबार गर्ने सहकारी संस्थाहरु प्नि अर्थतन्त्रको महत्वपूर्ण कर्ताको रुपमा देखापरेकोले यिनीहरुको समेत आवश्यक नियमनका लागि आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले सरकारी स्वामित्वका दुई बैंकलाई सरकारले पुँजी हालेर बचाएको सन्दर्भ उल्लेख गर्दै वित्तिय क्षेत्रको स्थायित्वका लागि सरकारले सन् २००० देखि सन् २०१५ सम्म २८ अर्ब रुपैँया खर्च गरेको उल्लेख गरे । यसले वित्तिय क्षेत्र स्थायित्वलाई सरकारले कति प्राथमिकता दिएको छ भन्ने देखिन्छ, उनले भने ।

बेलायति अन्तर्राष्ट्रिय सहयोग नियोगका वरिष्ठ आर्थिक सल्लाहकार स्टर्हान स्पेन्सरले नेपालमा ठूलो संख्याका घरपरिवार तथा व्यवसाय वित्तिय तथा आर्थिक दृष्टिकोणले जोखिममा रहेको भन्दै वित्तिय क्षेत्रको स्थायित्वले मात्र यस्तो जोखिम निराकरण गर्न सक्ने धारणा राखेका थिए ।

 

Share This: