रिलायबल सहकारीको खुद नाफा १५ लाख

काठमाडौं । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको खुद नाफा १५ लाख भएको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा एक सय ६३ प्रतिशतले नाफा वृद्वि भएको हो ।

 

संस्थाको १९ औं वार्षिक साधारणसभाका अवसरमा प्रमुख कार्यकारी तथा सचिव विजयसुन्दर खड्काले प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्षमा २४ लाख ६४ हजार ५ सय ७२ रुपैयाँ नोक्सान रहेकोमा गत आवमा १ सय ६२ ले नाफा वृद्वि भई १८ लाख भन्दा बढी नाफा भएको बताउनुभयो । उहाँले आव २०७५/७६ मा २२ लाख २६ हजार ३ सय ९३ रुपैयाँ सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको बताउनुभयो ।
संस्थाले आव २०७३/७४ मा नौ करोड २९ लाख ४० हजार नौ सय ९९ रुपैयाँ निक्षेप संकलन गरेकोमा गत आवमा २२ दशमलव ५४ प्रतिशतले वृद्वि गरी ११ करोड ३८ लाख ९८ हजार आठ सय ९२ रुपैयाँ संकलन गरेको छ ।

 

संस्थाले सात करोड ६८ लाख ५९ हजार दुई ६२ रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाले ४९ दशमलव ४९ प्रतिशतले कर्जा वृद्वि गरको हो । संस्थाले आव २०७३/७४ मा पाँच करोड १४ लाख १२ हजार तीन सय २ रुपैयाँ कर्जा लगानी गरेको थियो ।

संस्थाले शेयर पुँजी एक करोड ९४ लाख २१ हजार सात सय रुपैयाँ शेयर पुँजी पुर्‍याएको छ । अघिल्लो आवको तुलनामा ४७ दशमलव २२ प्रतिशतले शेयर वृद्वि गरेको हो । संस्थाले आव २०७५/७६ मा दुई करोड २५ लाख पाँच हजार एक सय ७२ रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । संस्थाको आव २०७३/७४ मा ८२ लाख ७२ हजार आठ सय ६९ रुपैयाँ शेयर पुँजी रहेको थियो ।

 

अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल सदस्यसमेत रहेकी रिलायबल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ओमदेवी मल्लले प्रतिवेदन प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सहकारी महासंघमा एक सय १० देशका तीन सय १७ वटा संघसंस्था सदस्य रहेको जानकारी दिनुभयो । विश्वको जनसंख्यामध्ये ६ जनामा एक जना सहकारीका सदस्य रहेको, तीन सय वटा सहकारीहरुको कारोबारमात्रै २ दशमल १ ट्रिलियन अमेरिकन डलर रहेको, विश्वका कुल जनसंख्या मध्ये १० प्रतिशतलाई सहकारीले रोजगारी दिएको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले संमृद्व नेपाल निर्माण गर्नका लागि धेरै काम गर्न जरुरी रहेको बताउनुभयो । प्रत्येक संस्थाले आयात प्रतिस्थापनका लागि अनुसन्धान गर्ने अलग्गै कार्यदल बनाएर काम गर्न आवश्यक भएको उहाँको भनाई थियो ।

 

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी नियमावली सहकारी ऐन विपरित आउन नदिइने बताउनुभयो । सहकारीको विकास र प्रवद्र्वनमा नीतिगतरुपमा सहकारीमैत्री वातावरण बनाउन बोर्डले पहल गर्ने उहाँको भनाई थियो ।

 

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारी संस्थाहरु नियम र सुशासनमा बसे आर्थिक संकट नपर्ने बताउनुभयो । सहकारी संस्थाहरुको सम्पूर्ण वित्तीय आवश्यकता पूरा गर्न सहकारी बैंक सक्षम रहेको उहाँको भनाई थियो ।


सरकारका पूर्व सचिव शंकरप्रसाद पाण्डेले बढ्दो व्यापारघाटा कम गर्नु अहिलेको आवश्यकता भएको भन्दै सहकारी उत्पादनतिर जानुपर्ने बताउनुभयो । उत्पादनमुखी नीतिगत व्यवस्था गर्नुका साथै उहाँले स्थानीय उत्पादनलाई प्रतिष्पर्धी बनाउन राजस्व नीति अबलम्बन गर्नुपर्ने बताउनुभयो ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सबै सहकारीको सामूहिक प्रयासबाट संमृद्व नेपाल निर्माण सम्भव भएको बताउनुभयो । आयात प्रतिस्थापन हुनेगरी सहकारीले आफ्ना लगानी बढाउनुपर्ने उहाँको भनाई थियो ।
दुग्ध केन्द्रीय सहकारी संघका पूर्व अध्यक्ष माधव कोइरालाले सहकारीमार्फत दूध उत्पादनमा आत्मनिर्भर बनाइने बताउनुभयो ।

Share This: