राष्ट्रिय सहकारी बैंकको समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका विभिन्न शाखामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएका कामहरुको समिक्षा गोष्ठी बिहीबार काठमाडौँमा सम्पन्न भएको छ ।

३ प्रदेशका २२ वटा शाखामा भएको कामहरुको बारेमा समिक्षा गरी बैंकको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उदेश्यका साथ गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ ।

गोष्ठीमा बैंकका २२ वटा शाखाका प्रमुखहरुले आ–आफ्नो शाखाको वर्तमान अवस्था, आगामी लक्ष्य, संभावना, अवसर र चुनौतीका बारेमा प्रस्तुती गरेका थिए । सहकारी बैंकलाई वित्तीय रुपमा शसक्त बनाई सदस्य सहकारी संघ संस्थाहरुलाई दीगो कसरी बनाउन सकिन्छ भन्ने विषयमा शाखा प्रमुखहरुले आफ्नो योजना सहित धारणा राखेका थिए ।

बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले बैंकको हालसम्मको अवस्थाका बारेमा जानकारी लिनुका साथै आगामी योजना र समन्वय लगायतका विषयमा जानकारी गराउनु भएको थियो । बैंकका सवल पक्षहरु, संभावना, अवसर र चुनौतीका बारेमा शाखा प्रमुखहरुबाट सुझाव लिई थप प्रभावकारी कार्ययोजना निर्माणका लागि गोष्ठी सहयोगी हुने प्रवन्ध सञ्चालक उप्रेतीले बताउनु भयो ।

शाखा प्रमुखहरुले उच्च व्यवस्थापनसंग राखेका अपेक्षा लगायत शाखामार्फत गर्न सकिने प्रभावकारी कामका बारेमा बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईले जानकारी गराउनु भएको थियो । बैंकका विभागीय प्रमुखहरुले शाखा प्रमुखहरुका जिज्ञासा मेटाउनुका साथै आफ्नो विभागबाट गरिने कामका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेल, लेखा समिति संयोजक कूल चन्द्र अधिकारी, संचालक सरिता भट्टराई, सञ्चालक रामबहादुर जिसी, संचालक हरिहर नाथ योगी, लेखा समिति सदस्य सागर नेपाल लगायतले गोष्ठीको सफलताको कामना गर्नु भएको थियो ।

Share This: