आदर्श सञ्चार सहकारीका सञ्चालक क्षेत्रीलाई पितृशोक

 संस्थाद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङका सञ्चालक सदस्य दुर्गाबहादुर क्षेत्रीलाई पितृ शोक परेको छ । काठेखोला गाउँपालिका वडा नं. ७ रेश निवासी क्षेत्रीका पिता गंगाबहादुर क्षेत्रीको कात्तिक ६ गते निधन भएको हो ।   सञ्चालक सदस्य क्षेत्रीका पिताको निधन भएको १३ औं दिनको पूण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले आइतवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।   श्रद्धाञ्जलीसभामा संस्थाका सल्लाहकार डिलबहादुर कार्की, निवर्तमान सचिव तथा काठेखोला गाउँपालिका वडा नं.७ का अध्यक्ष प्रेम लामिछाने, नेकपा एमाले काठेखोला गाउँपालिका कार्यदलका सदस्य डिल्लीराज गौतम लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु भएको थियो ।   संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) को अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन लेखा समितिका संयोजक थानेन्द्रप्रसाद गौतमले गर्नु भएको थियो ।   संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले संस्थाको नियम अनुसार सेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार रुपैया सञ्चालक दुर्गाबहादुर क्षेत्रीकी पत्नी मिना क्षेत्रीलाई हस्तान्तरण गर्नु भएको थियो ।  साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।   सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।   संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १२ करोड निक्षेप, १४ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

Share This: