नगर प्रमुख थापा भन्छन् : विकासमा सहकारीसँग साझेदारी गर्छौ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नगरको विकासका लागि सहकारीसँग साझेदारी गरेर अघि बढ्ने बताएका छन् ।

जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले तीन खम्बे अर्थनीति कार्यान्वयन गर्न सहकारी सक्षम हुनुपर्ने बताए ।

सहकारी मर्ज हुन सके साझेदारी गर्न अझ सजिलो हुने उनको भनाइ थियो । ‘कृषि सहकारीलाई प्राथमिकता दिएर उत्पादनमा केन्द्रीत हुने छौं’ उनले भने । सहकारीको विकृति अन्त्य गर्न नियमनमा जोड दिइने उनले बताए ।

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले स्थानीय तहले सहकारी प्रवद्र्वन गर्नुका साथै सुशासनको दायरामा ल्याउन अनुगमन गर्नुपर्ने बताए । स्थानीय तहले सहकारीसँग सहकार्य गर्न सके आर्थिक विकास दुर्तगतिमा हुने उनको भनाइ थियो । उत्पादन र प्रशोधनमा टेवा पुग्नेगरी हरेक तहले सहकारीसँग साझेदारी गर्नुपर्ने उनले जोड दिए ।

जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले काठमाडौं महानगरसहित जिल्लाका दशवटै तहसँग समन्वय गर्ने बताए । प्रदेशमा कार्यक्षेत्र भएका सहकारीलाई स्थानीय तहले पनि नियमन गर्न आवश्यक भएको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, जिल्ला सहकारी संघका महासचिव खेमराज सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Share This: