कास्कूनमा चुनावी चटारो

काठमाडौं ।  राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व चुनेको एक साता नबित्दै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा नयाँ नेतृत्वकोलागि सहकारीकर्मीबीच रस्साकस्सी चलेको छ, अर्थात् सहकारी क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्व छनौंटकालागि आगामी पुस २७ गते हुने कास्कूनको  निर्वाचनका लागि उम्मेदवारहरु चयन गर्ने कसरत भइरहेको छ ।

वर्तमान अध्यक्ष केशब प्रसाद दंगाल, सचिव नवराज अर्याल, कोषाध्यक्ष गोविन्द काफ्ले र लेखा सुपरिवेक्षण समितिका संयोजक कमलराज अधिकारी मध्येबाटै नयाँ अध्यक्ष बन्ने कसरतमा छन् ।

तीन वर्षअघि सहमतिमै नेतृत्व चयन भएको कास्कूनमा अबको चार वर्षे कार्यकालका लागि पनि सहमतिबाटै टुंग्याउने गृहकार्य पनि भइरहेको बुझिएको छ । तर, नेतृत्व कसले गर्ने भन्नेबारेमा छलफल टुंगिनसकेको एक सहकारीकर्मीले बताएका छन् ।

अर्कोतिर प्यानलनै बनाएर निर्वाचनबाट नयाँ नेतृत्व छनौंटमा जानुपर्छ भन्ने पक्षमा पनि कतिपय सहकारीकर्मी देखिएका छन् । त्यसकालागि सहकारीहरुबीच चर्चित (पपुलर) उम्मेदवारको खोजी भइरहेको बुझिएको छ ।

वर्तमान कोषाध्यक्ष गोविन्द काफ्ले र लेखा सुपरिवेक्षण समितिका संयोजक कमलराज अधिकारी मध्येबाटै एक जनालाई अध्यक्षको उम्मेदवार बनाउने कसरतमा नेशनल कोअरेटर्स एलाइन्स लागि परेको छ । नेशनल कोअरेटर्स एलाइन्सका तर्फबाट उम्मेदवार छनौंटकालागि खटिनुभएका मनोज भण्डारीकाअनुसार सकेसम्म साझा उम्मेदवार बनाएर सहमतीमा नेतृत्व छनौट गर्ने पक्षमा एलाइन्स लागिपरेको छ । अहिलेसम्म सहमती भइसकेको छैन, आकांक्षीहरुबीच छलफल भइरहेको छ । ‘काफ्ले र अधिकारीबीच पनि छलफल भइरहेकाे छ अब छिट्टै अध्यक्ष काे बन्ने भन्ने टुंगाे लाग्छ त्यसकाेलागि हामी छलफलमै व्यस्त छाैं,’ – भण्डारीले सहकारी नेपाललाई भने ।

काठमाडौं जिल्ला बचत संघमा ६ सय ४० प्रारम्भिक संस्था सदस्य रहेका छन् ।

Share This: