दिपक पनेरु कास्कूनमा सर्वसम्मत अध्यक्ष

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण संघ (कास्कुन)को नयाँ नेतृत्वका लागि दिपक पनेरू सर्वसम्मत उम्मेदवार भएका छन् । नेशनल कोअपरेटर्श एलाईन्ससँगको सहमति पछि एलाईन्स पक्षधर गोविन्दप्रसाद काफ्लेले उम्मेदवारी फिर्ता लिएर पनेरू सर्वसम्मत हुन बाटो खुला भएको हो । कास्कूनको विकास र समृद्धिका लागि आफू बाधक नबन्ने सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिएर बाटो खुला गरिदिएको काफ्लेले उम्मेदवारी फिर्ताको क्रममा बताए । कुनै व्यक्ति वा समुह विशेषका लागि संघलाई प्रयोग गरिनु हुँदैन भन्दै काफ्लेले आफू बाहिर बसेर पनि कास्कूनको विकासका लागि उत्तिकै समर्पित हुने भन्दै आगामी कार्यकालमा कास्कूनमा पुन: नेतृत्वमा जाने बताए ।

सर्वसम्मत नेतृत्वमा एलाईन्सले कोषाध्यक्षमा निरन्जन सेडाई, सञ्चालकमा अनिता अधिकारी, सीमा पूरी, राजकुमार खड्का र ईश्वर सुनारलाई पठाएको छ । नेकपा भित्र सर्वसम्मत गराईने जानकारी दीपक पनेरूले सहकारी नेपाललाई दिए ।  पनेरू नेफ्सकूनका सञ्चालक समेत हुन् ।  त्यसैगरी  सचिवमा शालिकराम पुडासैनी र लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुवास चन्द्र घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । पुडासैनी नेकपा समर्थक र  घिमिरे एलाईन्स सम्बद्ध हुन् । लेखा सदस्यमा गोमा ढुंगाना र राम के.सी सर्वसम्मत भएका छन् । संयोजकमा नेकपा समर्थक दामोदर पौडेल र सदस्यमा एलाईन्स सम्बद्ध अर्जुन भट्टराई र विक्रम श्रेष्ठले उम्मेदवारी फिर्ता गरी सर्वसम्मत हुने बाटो खोलेका हुन् ।

बाँकी पदहरूमा पनि बिहान सम्म उम्मेदवार फिर्ता भई सर्वसम्मत हुने पनेरूले बताएका छन् । एलाईन्स सम्बद्ध कमलराज अधिकारीले सहमतिमा आफू नपरे स्वतन्त्र रूपमा उम्मेदवारी कायम रहने बताएका छन् ।  उपाध्यक्ष पद बाहेक अन्यमा सर्वसम्मत हुने प्रवल सम्भावना देखिएको छ ।

Share This: