अर्थमन्त्री भन्छन् : सहकारीले उद्यमशीलता बढाउने ठाउँ प्रशस्त छन्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बोर्डले मात्रै सहकारी र निजी व्यवसाय छुट्टिने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सुरु भएको सहकारी उद्धम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीको अवसरमा बोल्दै खतिवडाले सहकारीको व्यवसाय राम्रो भए अनुदान, सहुलियत छुट दिन तयार रहेको बताए ।

कृषिको व्यवसायिकरण र यान्त्रिकरणमा सहकारी उपयोग हुनुपर्ने उनको भनाइ थियो । सहकारी मोडेलबाट एकीकृत खेती तथा भण्डारणमा जान अपरिहार्य भइसकेको उनको भनाइ थियो । ‘प्रशोधन र बजारीकरणमा सरकारले सहयोग गर्छ, उत्पादनमा लाग्नुहोस्’ उनले भने । आधुनिक किसिमको कृषिप्रणालीबाट कृषि व्यवसायकरण गर्न खोजेको उनले बताए । सहकारीले दूध, मासुजन्य, जडिबुटीलगायतको उत्पादन तथा प्रशोधनमा लगानी गर्नुपर्ने बताए ।


‘सहकारीको मोडेलबाट आउनुहोस्, हामी सहयोग गर्छाै’ उनले भने । सिपलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहकारी क्रियाशील हुनुपर्ने खतिवडाको भनाइ थियो । सहकारीमार्फत होमस्टे सञ्चालन गर्न सके सरकारले अघि सारेको पर्यटन योजना सफल हुने उनले विश्वास व्यक्त गरे ।

प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर सहकारीमार्फत यातायात सञ्चालन गर्न सकिने उनले बताए । ‘सिन्डीकेट अवशेष बाँकी नै छ, अब हल हुन्छ’ उनले भने । यातायातको सिन्डीकेट हटाउन यातायता प्राधिकरण गठन गर्न लागेको उनले जानकारी दिए ।

सहकारीमार्फत उद्यमशीलता विकास गर्दा आउने कानुनी जटिलता अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री खतिवडाले बताए । लघुबिमामार्फत कृषि उत्पादन बढाउन सरकार तयार भएको उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार हरिकृष्ण उपाध्यायले आर्थिक समुन्नतीमा सहकारीको योगदान बढाउनुपर्ने बताए । सहकारी व्यवसाय बढाउँदै लगे आर्थिक समुन्नती सम्भव भएको उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले आर्थिक विकासका लागि सहकारी उच्चतम मोडेल भएको भन्दै सहकारी अभियान र राज्यले पुँजीको उचित परिचालनमा जोड दिनुपर्ने बताए । वस्तु तथा सेवाको गुणस्तरीयतासँगै लेबलिङ, ब्रान्डिङमा सहकारीको योगदान बढ्नुपर्ने उनको भनाइ थियो । पर्यटन लगायत सेवाका विविध क्षेत्रमा सहकारीले रचनात्मक काम गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।

 

महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाले सहकारीमार्फत आर्थिक विकास सम्भव भएपनि सकारात्मक चिन्तन आवश्यक भएको बताए । सकारात्मक सोचका माध्यमबाट सफलता प्राप्त गर्न सकिने भएकाले सबै सहकारीकर्मीले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

 

सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी ऐनले उल्लेख गरेअनुुरुप विशिष्टिकृत संघमार्फत उद्यमशीलता बढ्ने बताए । गुणस्तर प्रमाण चिन्ह सहकारीबाटै सुरु गर्न ढिला भइसकेको उनको भनाइ थियो।

 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघका नायव महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्काले गरेकी थिइन् । महासंघका सञ्चालक रामचन्द्र कुस्वासको स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Share This: