चितवन जिल्ला संघमा नयाँ नेतृत्व

चितवन । जिल्ला बचत तथा ऋण सहकारी संघ लि चितवनमा नयाँ नेतृत्व चयन भएको छ । १९ औं साधारणसभाले हरिश्चन्द्र सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

नेकपा समर्थित सहकारीकर्मी र नेपाली कांग्रेस समर्थित सहकारीकर्मी तथा नेताहरुकाे आपसी सहमतिमा नयाँ नेतृत्व चयन भएको हो । सहमतिअनुसार नेकपा समर्थित सहकारीकर्मीले अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव, तीन जना सञ्चालक र एक जना लेखा समति सदस्य पाएका छन् ।

 

त्यस्तै नेपाली कांग्रेस समर्थित नेशनल कोअपरेटर्स एलाइन्स सम्बद्व सहकारीकर्मीहरुले उपाध्यक्ष, तीन जना सञ्चालक, लेखा समिति संयोजक, एक जना लेखा समिति सदस्य पाएका हुन् ।

सुवेदीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्बसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा विद्या कोइराला, सचिव रामराज पौडेल, कोषाध्यक्ष केशव प्रसाद रेग्मी, सहसचिव इश्वरी शर्मा ढकाल निर्वाचित भएका छन् ।

सञ्चालकमा ऋतु गिरी, प्रमिला कुमारी ढकाल, किशोर गुरुङ्ग, आनन्द पाण्डे, विष्णु कुमारी थारु र मिन प्रसाद सुवेदी निर्वाचित भएका छन् ।

चुडामणि पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन भएको छ । सदस्यमा सुजाता विष्ट र हेम प्रसाद सुवेदी निर्वाचित भएका छन् ।

चितवन जिल्ला बचत संघका अध्यक्ष तेजेन्द्र खड्काको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष डीबी बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share This: