सुदूरपश्चिम प्रदेशले पारित गर्‍यो सहकारीसम्बन्धी विधेयक

धनगढी ।  सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । यसअघि प्रस्तावमाथि भएको सामान्य छलफलमा प्रदेश सभा सदस्य श्यामलाल रानाथारू, मालामतीकुमारी रानाथारू, रतनबहादुर थापा र बलदेव रेग्मीले बोल्नुभएको थियो ।

 

आर्थिक मामिला तथा कानूनमन्त्री झपटबहादुर बोहराले बैठकमा प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभयो ।

 

उक्त प्रस्तावमाथि भएको सामान्य छलफलमा प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरी, अम्बीकुमारी थापा र देवकी मल्लले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा सभामुख अर्जुनबहादुर थापाले सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेश सभा, अर्थ विकास तथा प्राकृति स्रोत समितिको सदस्यमा मनोनयन गरिएको जानकारी गराउनु भएको थियो । अर्को बैठक यही माघ १८ गते दिनको २ बजे बस्नेछ ।

Share This: