कृषि पेशालाई उद्योगको आधारशिला बनाइनुपर्छ: प्रचण्ड

काठमाडौँ, फागुन २८ । नेपाल किसान आयोगद्वारा आयोजना गरिएको खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको हिजो काठमाडौँमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उक्त सम्मेलनको समापन समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभयो । प्रचण्डले कृषि पेशालाई उद्योगको रूपमा विकास गरिनुपर्ने र त्यसका लागि व्यावसायिक एवम् शिक्षा अवलम्बन गरिनुपर्ने बताउनुभयो । ‘कृषि पेशालाई उद्योगको आधारशिलाको रूपमा विकास गर्ने गरि शिक्षा प्रणाली सुधार गर्नुपर्छ ।’ दाहलले भन्नुभयो, ‘कृषिलाई सम्मानित पेशाका रूपमा लिइनु पर्छ ।’ कृषि अनुसन्धानलाई प्रथमिकतामा राखिनुपर्ने र यसका लागि राज्यका तर्फबाट पर्याप्त बजेट व्यवस्था गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । ‘अनुसन्धान औपचारिकतामा मात्र सिमित हुनुहुदैन ।’ दाहलले भन्नुभयो, ‘कृषकको नेतृत्वकर्ता संघसंगठनहरूले खोज, अनुसन्धान र प्रविधिको प्रयोगलाई किसानको पहुँचसम्म पुर्‍याउन पहल गर्नु पर्छ ।’ सम्मेलनले राज्यलाई नीतिगत व्यवस्था गर्नका लागि र कृषि क्षेत्रमा लगानी बढाउनका लागि सचेत गराएको महशुस आफूले गरेको बताउनुभयो ।नेपाललगायत १५ देशको कार्यपत्र सहित प्रस्तुती रहेको  उक्त सम्मेलनमा  ३५० प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

Share This: