प्रविधिको अधिकतम उपयोग गरी सहकारी मार्फत समृद्धिमा जुटौ ः अध्यक्ष उप्रेती

बागलुङ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीलाई प्रविधिको अधिकतम उपयोग गरी सरकारले लिएको समृद्ध नेपाल ः सुखी नेपालीको नारालाई सफल पार्न सक्रियताका पूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ ।   राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङले मंगलवार बिहान आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।   सहकारी ऐन नियम र विनियमको पालना गर्दै नयाँ नयाँ प्रविधिको अधिकतम उपयोग गरेमा मात्रै हामीले लिएको लक्ष्य पुरा हुने भएकाले सबै सहकारीहरुलाई प्रविधिमैत्री बन्न सुझाव दिनु भयो ।   राज्यले लिएको नीति तथा लक्ष्य प्राप्तिका लागि सहकारीलाई संगै लैजान आवश्यक रहेको भन्दै उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीलाई वेवास्ता गरेर पूर्णता नहुने दावी गर्नु भयो ।   सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि सरकारले ऐन नियम निर्माणमा सहजता, उत्पादन प्रशोधनमा प्रविधि, सीप र वित्तीय सहयोग आवश्यक रहेको भन्दै उहाँले सहकारीलाई सरकारले साझेदार निकायको रुपमा अझै लिन नसकेको गुनासो गर्नु भयो । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मनकुमारी केसीले सहकारी मार्फत विपन्न वर्गका जनतालाई आर्थिक, सामाजिक रुपमा अगाडि बढाउनका लागि राज्य र सहकारीबीच सहकार्यमा जोड दिनुभयो । उहाँले सहकारी बैंकले देशभर आफ्नो सञ्जाल परिचालन गरेर आर्थिक विकासमा दिएको योगदान अनुसार समन्वय गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा बैंकको विगत, वर्तमान अवस्था, आगामी योजना र सहकारीमार्फत सुखी नेपाली ः समृद्ध नेपाल निर्माणमा सहकारीको भूमिका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।   कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल, जिल्ला सहकारी संघका कोषाध्यक्ष अञ्जु जिसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगायतले सहकारी बैंकले सहकारीको प्रवद्र्धनमा गरेको योगदान र समन्वय प्रभावकारी रहेको भन्दै आगामी दिनमा उत्पादन प्रशोधनका क्षेत्रमा थप केन्द्रीत हुन सुझाव दिनु भएको थियो ।   कार्यक्रम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय बागलुङ समन्वय उपसमितिका सहसंयोजक अशोकगोविन्द राजभण्डारीको अध्यक्षता, बैकका शाखा प्रमुख शैली खड्काको सञ्चालन र वरिष्ठ सहायक ङ प्रसाद ढकालको स्वागतमा सम्पन्न भएको थियो ।

Share This: