पर्वतमा सहकारीका संघहरु निष्क्रिय हुदा अभियान उठेन

सक्रिय बनाउन सहकारी बैंकले पहल गर्छ : अध्यक्ष उप्रेती

पर्वत ।  सहकारी अभियानको कमजोर देखिएको पर्वत जिल्लाको सदरमुकाम कुश्मामा ६२ औं राष्ट्रिय सहकारी दिवस सहकारी ऐन नियम सम्बन्धी अन्तरक्रिया गरेर मनाइएको छ ।   जिल्ला सहकारी संघ निष्क्रिय रहेको तथा अन्य विषयगत संघहरु पनि क्रियाशिल अवस्थामा नरहेका कारण सहकारी गतिविधि कमजोर रहेको कुश्मामा राष्ट्रिय सहकारी बैंकको पहलकदमीमा यसपटक अन्तरक्रिया कार्यक्रम गरी सहकारी दिवस मनाइएको हो ।

सदरमुकामका सहकारी संघ संस्थाहरुको समन्वयमा ६२ औं राष्ट्रिय सहकारी दिवस मुल आयोजक समिति पर्वत गठन गरी कार्यक्रमको आयोजना गरिएको जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको विशेष पहलकदमीमा यसपटक सहकारी दिवस मनाइएको उहाँको भनाइ छ ।

 

दिवसका अवसरमा आयोजित सहकारी ऐन नियम सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले गर्नु भएको थियो ।   अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सहकारी ऐन सम्बन्धी जानकारी नै नभएको, राज्यका कुनै पनि निकायले यस सम्बन्धी सहजीकरण नगरेको र जिल्लास्थित सहकारी संघहरु निष्क्रिय रहेको गुनासो गरेका थिए । जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघहरु सक्रिय नभएका कारण पर्वतको सहकारी अभियान कमजोर देखिएको उनीहरुले बताए ।

 

गाउँ गाउँमा राम्रो काम गरेका सहकारीहरु पनि नेतृत्वदायी संघहरुको उदासिनताका कारण ओझेलमा परेको उनीहरुको भनाइ छ ।    सहभागीहरुको जिज्ञासा मेटाउदै सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारी ऐन नियम थाहा थिएन भनेर सहकारीहरुले गलत काम गर्न नपाइने भन्दै सहकारीका छाता संगठनहरुले सहकारी ऐन निमय र सिद्धान्तका बारेमा सचेत गराउनु पर्नेमा जोड दिनुभयो ।

 

सहकारी संस्थाका सञ्चालकहरुले आफ्नो काम कर्तव्य र अधिकार के हो ? के गर्न मिल्छ ? के गर्न मिल्दैन भन्ने कुरा नजान्दासम्म सहकारी अभियान प्रभावकारी बन्न नसक्ने भन्दै उहाँले सहकारी शिक्षालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

 

उप्रेतीले पर्वतमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापनाका लागि प्रक्रिया अगाडि बढेको भन्दै जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुलाई सक्रिय बनाउन राष्ट्रिय सहकारी बैंकका तर्फबाट सक्दो पहलकमदी गरिने प्रतिवद्धता गर्नु भयो ।   कार्यक्रममा सहकारी ऐन र सहकारीका सञ्चालक र व्यवस्थापकहरुको भूमिकाका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीलाई व्यवस्थित र जिम्मेवार रुपमा अगाडि बढाउनका लागि ऐन नियमको पूर्ण पालनामा जोड दिनु भयो ।

 

अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिब देविप्रसाद तिमिल्सिना, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, बचत तथा ऋण सहकारी संघ पर्वतका निवर्तमान अध्यक्ष गोविन्द पहाडी लगायतले पर्वतका सहकारीहरुलाई प्रदेश तथा केन्द्रीय स्तरमा परिचित गराउनका लागि जिल्ला स्तरीय सहकारी संघहरुलाई सक्रिय बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।    जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहकारी दिवस मुल समारोह समितिका संयोजक इन्द्रमान खत्री र वचत संघका सचिव ऋषि भुसालले गर्नुभएको थियो । पर्वतमा जिल्ला सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ लगायतका संघहरु रहेका छन् । जिल्ला वचत तथा ऋण सहकारी संघ बाहेकका संघहरुले लामो समयदेखि साधारणसभा लगायत नियमित कार्यसंगै अभियानका कार्यक्रमहरु नगरेको सहभागीहरुले बताएका थिए ।

Share This: