पोखराका दुई उत्कृष्ट सहकारी सम्मानित

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट र नियमित कारोबार गर्ने दुईवटा सहकारी संस्थालाई सम्मान गरेको छ ।   बैंकको कास्की जिल्लाको पोखरास्थित प्रदेश शाखामा उत्कृष्ट कारोबार गर्ने विशाल सहकारी संस्था र नियमित कारोबार गर्ने मेट्रो सहकारी संस्थालाई सम्मान गरिएको हो ।

 

शाखाले शुक्रवार पोखरामा आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेती, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी, शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङले संस्थाका पदाधिकारीहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नु भएको थियो ।   हरेक आर्थिक वर्षमा शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने एक एक वटा सहकारी संघ संस्थाहरुलाई सम्मान गरिदै आएको बैंकले जनाएको छ ।

 

बैंकको साधारणसभामा केन्द्रीय स्तरमा पुरस्कार तथा सम्मान प्रदान गरिदै आएको छ । साधारणसभामा घोषणा गरी शाखा स्तरमा कारोबार गर्ने संस्थालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत पोखराका २ वटा सहकारीलाई सम्मान गरिएको हो । सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रमार्फत समृद्धिको अभियानमा सहकारी बैंकको भूमिका प्रभावकारी बन्दै गएको बताउनु भयो । उहाँले वित्तीय लगायत सहकारी क्षेत्रको प्रवद्र्धनका लागि बैंक सबै किसिमका सहकारीहरुको प्रवद्र्धनका लागि सक्षम रहेको भन्दै सरकार र अन्य साझेदार निकायहरुसंग समन्वय गर्दै अगाडि बढ्न बैंक तत्पर रहेको बताउनु भयो ।

 

सहकारी ऐन आएसंगै प्रदेश सरकारले सहकारी बैंक बनाएर अगाडि बढ्ने कसरत गरेको भन्दै उहाँले अर्को बैंक होइन, यही बैंकसंग समन्वय गरेर काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नु भयो । सहकारी क्षेत्रलाई कमजोर बनाउने, एक अर्कामा अनावश्यक प्रतिस्पर्धा गराउने काम सरकारबाट हुन नहुनेमा जोड दिदै उहाँले राष्ट्रिय सहकारी बैंक सबैसंग समन्वय गरेर अगाडि बढ्ने र आवश्यक परेमा प्रतिस्पर्धा गर्न पनि तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा बैंकको विगत, वर्तमान अवस्था र आगामी रणनीतिका बारेमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।   कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक भीम गुरुङ, पोखरा महानगर सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारी, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष बलराज गौतम, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदिप पाठक लगायतले बैंकको सेवा सुविधा र आगामी दिनमा बैंकले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।

 कार्यक्रम राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखा व्यवस्थापन उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, शाखा प्रमुख सन्तोष पोखरेलको सञ्चालन र सहायक अधिकृत अमृत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share This: