हावाहुरीपीडितलाई महासंघको ११ लाख सहयोग

काठमाडौं ।  राष्ट्रिय सहकारी महासंघ नेपालले बारा र पर्साको हावाहुरी पीडितको सहयोगार्थ ११ लाख ११ हजार एक सय ११ रुपैया प्रदान गरेको छ ।
महासंघको प्राकृतिक विपत्ति उदार कोषबाट प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरिएको हो । महासंघका अध्यक्ष केशव बडाल नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी हस्तान्तरण गरेको हो ।
महासंघको प्राकृतिक विपत्ति उद्दार कोषमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले एक लाख १० हजार एक सय ११, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ५५ हजार पाँच सय ५५, श्रीलालिगुरास बहुउद्देश्यीय सहकारी संस्थाले ५० हजार १ सय ११ र श्री रिलायबल बचत तथा ऋण सहकारी संस्थाले १० हजार १ सय ११ रुपैया जम्मा गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले प्राकृतिक विपत्ति परेको समयमा सक्दो सहयोग गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे । किसानको उत्पादनलाई कुहिन नदिन, मुल्यश्रृखला बृद्धि गर्नका लागि विविधिकरण गर्नुपर्ने विषयमा सहकारी लाग्नुपर्ने उनको भनाइ थियो । उत्पादनलाई रुपान्तरण गरेर फाइदा कसरी लिन सकिन्छ भन्ने विषयमा सहकारीले सोच्नुपर्ने ओलीले बताए ।

Share This: