सहकारीकर्मी सीमा पुरीले ल्याइन् ‘परी’

काठमाडौं । उपन्यासकार सीमा पुरीद्धारा लिखित ‘परी’ उपन्यास शनिबार विमोचन भएको छ । उपन्यासको विमोचन प्रदेश ३ का सांसद दोर्जे लामाले गरे । साहित्यकार पुरीको परी उपन्यास पहिलो कृति हो ।
पुस्तकको समीक्षा गर्दै रमेश शुभेच्छुकले परी सौतेनी छोराछोरीप्रति हेरिने दृष्टिकोणलाई सकारात्मक दृष्टिकोणबाट हेरिएकाले फरक देखिएको बताए । सामाजिक चेनताको दृष्टिले परिस्थिति कमजोर हुदाँ पनि सकारात्मक सोचका साथ कथावस्तु अघि बढेको उनको भनाइ छ ।
‘मनोविज्ञान, माक्र्सवाद, विसंगतिवाद र अस्त्विवादमा आधारित रहेर कथावस्तु अघि बढेको छ’ उनले भने । उपन्यास पढ्दा चलचित्र हेरेझैं लाग्ने र नारी चेतना जगाउनेखालको उपन्यास भएको चर्चा गरे ।
वरिष्ठ साहित्यकार मधुसुधन पाण्डेले छुवाछुट प्रथालाई समेटेर उपन्यास लेखिएको बताए । ‘आमा र छोरीको कथामार्फत सामाजिक चेतना प्रदान गरिएको छ’ उनले भने ।
परी उपन्यासका लेखक सज्जन महिला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सीमा पुरीले जीवन र जगतलाई आत्मसात गर्दै उपन्यास लेखिएको बताइन् । ‘साहित्यिक यात्रामा अब रचनात्मक ढंगले अघि बढ्ने छु,’ उनले भनिन्,‘२०७६ अन्तिमसम्म अर्को उपन्यास बजारमा ल्याउने तयारीमा छु ।’
सामाजिक उपन्यास पुरीको प्रकाशन बिएन पुस्तक संसारले गरेको हो ।
सो अवसरमा काठमाडौं जिल्ला बचत संघ –कास्कुन)का नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

Share This: