प्रविधिको प्रयोग मार्फत सहकारीको योगदान बढाउनु पर्नेमा जोड


सिर्जना पन्त
बागलुङ

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले प्रविधिको उच्चतम उपयोग गरी सहकारीमार्फत आर्थिक रुपान्तरणको क्षेत्रमा क्रियाशिल हुन सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन गरेको एक हप्ते सहकारी लेखा तथा वित्तीय व्यवस्थापन तालिमको आइतवार उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
हरेक सहकारी संस्थाले प्रविधिको प्रयोग गरी आफ्ना सदस्य र समुदायका लागि सहज र सर्वसुलभ सेवा दिने हो भने सहकारीप्रतिको आकर्षण बढ्ने र सहकारीको योगदान थपिने उहाको भनाइ छ । सबै सहकारीले आफ्नो लक्ष्य र उदेश्य अनुरुप जनताको आर्थिक सामाजिक तथा सांस्कृतिक रुपान्तरणका क्षेत्रमा काम गर्ने हो भने राज्यले लिएको समृद्धिको अभियानमा समेत महत्वपूर्ण योगदान पुग्ने जिसीको भनाइ थियो ।
सहकारी वित्तीय कारोबार गर्ने क्षेत्र भएकाले यसलाई व्यवस्थित गराउनका लागि लेखा सम्बन्धी ज्ञान हुनुपर्नेमा जोड दिदै उहँले अबको लेखा प्रणाली प्रविधि मैत्री हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष र जिल्ला सहकारी संघका सल्लाहकार तोयानाथ गौतमले सहकारीमा लेखाको महत्वपूर्ण भूमिका हुने भएकाले तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्ने गरी सक्रिय रुपमा सहभागी हुन आग्रह गर्नु भएको थियो ।
उहाहरुले सहकारीमार्फत समाज रुपान्तरणका क्षेत्रमा धेरै काम गर्न सकिने भएकाले सबै सहकारीहरुले सदस्यहरुलाई सहज र प्रभावकारी सेवाका साथै समाज रुपान्तरणका क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
तालिम उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारी संघ संस्थाका सञ्चालक तथा व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी सहकारीको लेखालाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको संघले जनाएको छ ।
विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीका मूल्य, मान्यता र सिद्धान्त, सहकारीमा वचत र ऋण व्यवस्थापन, लेखाको सैद्धान्तिक अवधारणा, लेखाका विभिन्न चरणहरु, लेखा राख्ने तरिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सचिव तेजेन्द्र थापा, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाका प्रमुख रामेश्वर अर्याल लगायतले सहजीकरण गर्ने संघले जनाएको छ ।

Share This: