सहकारी बैंकले देशभर सेवा विस्तार गर्ने

ललितपुर ।  देशभरका सहकारीहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७७ वटै जिल्लाबाट बैंकको सेवा प्रदान गर्ने गरी शाखा विस्तार गर्ने भएको छ ।   बैंकको सेवा सबै जिल्लामा पु¥याउने उद्देश्यसहित सहकारी संस्थाहरुको संख्या र बैंकको सदस्य संख्याका आधारमा देशभरका थप ८५ ठाउँमा शाखा विस्तार गर्ने बैंकले योजना बनाएको छ ।

 

सञ्चालक समितिले शाखा सञ्चालनका लागि गठन गरेको कार्यदल र व्यवस्थापन व्यवस्थापनको अध्ययन तथा शाखा सञ्चालन गर्न सकिने आधारहरुलाई मध्येनजर गरेर देशभरका विभिन्न ८५ स्थानमा शाखा सञ्चालन गर्न उपयुक्त देखिएकोले शाखा सञ्चालन प्रक्रिया अगाडि बढाउन व्यवस्थापनलाई निर्देशन गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो । जिल्ला नछुट्ने गरी केही जिल्लामा थप शाखा समेत आवश्यक परेकोले शाखा सञ्चालन प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

सदस्य संस्थाहरुलाई सर्र्वसुलभ र सहज सेवा प्रदान गर्नका लागि शाखा, उपशाखा, शाखारहित सेवा तथा संकलन केन्द्रहरुमार्फत सहकारी क्षेत्रमा रहेको पूँजि संकलन गर्ने र पूँजिको अभावमा आफ्ना सदस्यहरुलाई उद्यमशिलताका क्षेत्रमा कर्जा लगानी गर्न नसकेका सहकारीहरुलाई कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।   सदस्य संस्थाहरुलाई वित्तीय सेवासंगै संस्था सञ्चालन प्रक्रिया, जोखिम व्यवस्थापन लगायत सहकारी प्रवद्र्धन सम्बन्धी शिक्षा तथा तालिमका कार्यक्रम समेत बैंकले गर्दै आएको छ ।

 

बैंकले सबै जिल्लामा शाखा पु¥याउने, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका हुदै गाउँपालिकासम्म उपशाखा तथा शाखारहित सेवा सञ्चालनको तयारी भैरहेको बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिनुभयो । दिगो सहकारी भन्ने मुल लक्ष्यका साथ अगाडि बढेको बैंकले हाल ३५ जिल्लामा ४४ वटा शाखा स्थापना गरी सदस्य सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ ।

 

बैंकमा हाल ११ हजार सहकारी संघ संस्था शेयर सदस्य, १ अर्ब ४५ करोड शेयर रकम, २० अर्ब निक्षेप, १७ अर्ब कर्जा लगानी र २५ अर्बको कुल कारोबार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

Share This: