प्रगति र भीमापोखरा सहकारी एकीकरण तयारी

बागलुङ । प्रगति बहुउद्देश्यीय सहकारी र भीमापोखरा बहुउद्देश्यीय सहकारी एकीकरण तयारी अन्तिम चरणमा पुगेको छ । प्रगति सहकारीको सदस्यलाई तालिम दिने क्रममा सो कुरा बताइएको थियो । सहकारी ऐन अनुसार एक जना व्यक्ति एउटा विषयको एउटा सहकारी संस्थाको सदस्य हुने प्रावधानलाई कार्यान्वयन गर्ने योजनाका साथ भीमापोखरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२ संग एकीकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।

शेयर सदस्यहरुलाई सक्रिय र संस्थाप्रति उत्तरदायी बनाउने लक्ष्यका साथ प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।   सदस्यहरुलाई उनीहरुले संस्थामा निभाउनु पर्ने भूमिका, संस्थाबाट प्राप्त गर्ने सेवा सुविधा लगायतका विषयमा जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार) ले जानकारी दिनुभयो ।

 तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा सदस्यका बारेमा रहेका कानुनी प्रावधानहरु, सदस्यहरुले संस्थाको उन्नतीका लागि निभाउनु पर्ने भूमिका र बहन गर्नु पर्ने जिम्मेवारी लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

 

सहकारी सदस्यहरुको हो, सदस्यहरुको योगदान भएन भने सहकारी संस्था कमजोर हुने भएकाले सदस्यहरुलाई सक्रियताका साथ संस्थाले सञ्चालन गर्ने गतिविधिमा सहभागि हुन उहाँले आव्हान गर्नु भयो ।   ५० जना शेयर सदस्यको सहभागिता रहेको तालिमको उद्घाटन जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले सहकारीलाई राम्रो बनाउने कि कमजोर बनाउने सदस्यहरुको हातमा भएकाले सदस्यहरुका लागि आयोजित सहकारी शिक्षा कार्यक्रम प्रभावकारी हुने बताउनु भएको थियो ।   कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष महादेव सापकोटा, लेखा समितिका संयोजक कृष्णप्रसाद आचार्य लगायतले सदस्य, सञ्चालक र कर्मचारीको सक्रियतामा सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताउनु भएको थियो ।

 कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार) को अध्यक्षता, कोषाध्यक्ष भीमप्रसाद गौतमको सञ्चालन र सञ्चालक तेजराज गौतमको स्वागतमा सम्पन्न भएको थियो ।   बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका कार्यक्षेत्र भएको प्रगति बहुउद्देश्यीय सहकारी संस्थामा हाल ६ सय जना शेयर सदस्य, ५ करोड १६ लाख शेयर रकम, १९ करोड ९० लाख बचत, २० करोड कर्जा लगानी रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

 

Share This: