सूचना चौतारीमा नयाँ नेतृत्व, सञ्चारमा नयाँ छलाङ मार्ने उद्घोष

काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । सूचना चौतारीको छैठौं वार्षिक साधारणसभाले विपिन शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।


संस्थाको उपाध्यक्षमा भद्रा पराजुली भण्डारी, सचिवमा कमलराज अधिकारी, कोषाध्यक्षमा मनोज भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । सञ्चालकमा राजेन्द्र पौडेल, ठाकुरनाथ आचार्य र रविन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य प्रकाश थापाले जानकारी दिनुभयो ।


त्यस्तैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्ण अधिकारी, सदस्यमा रमिला श्रेष्ठ र सनोज भट्टराई निर्वाचित हुनुभएको छ । त्यसैगरी सल्लाहकारहरुमा ओमदेवी मल्ल, चन्द्रप्रसाद ढकाल, सूर्यबहादुर नकर्मी, रमेश रघुवंशी, कृष्णकुमार थापा मगर, नानु बास्तोला, राजु नेपाल लगायत मनोनित हुनुभएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य ओमदेवी मल्लले सहकारीको विकासमा सञ्चारको भूमिका महत्वपूर्ण हुने बताउँदै सूचना चौतारीको काँधमा अन्य मिडियाको भन्दा थप जिम्मेवारी रहेको बताउनुभयो । साथै उहाँले सहकारीमा राजनीति हुन नहुने बताउनुभयो ।


हरेकपल डटकमका प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सहकारी लोकतन्त्रको बलियो आधार भएको बताउनुभयो । नयाँ अवधारणाका साथ सहकारीले अर्थतन्त्रमा गति लिन सक्नुपर्ने उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा सूचना चौतारीले नयाँ ढंगले काम गर्ने उहाँले उद्घोष गर्नुभयो । साथै उहाँले मिडियामा दलियकरण गर्न नहुने तर, लोकतन्त्रलाई सुदृढ बनाउने कामका सिलसिलामा कसैले कुनै कसुर बाँकी राख्न नहुने बताउनुभयो ।


त्यसैगरी प्रदेश नम्बर ३ का सांसद राधा घलेले सहकारीमार्फत गरिबी निवारण गर्न सकिने बताउनुभयो ।

साधारणसभामा संस्थाका अध्यक्ष विपिन शर्माले आर्थिक वर्ष २०७४/७५ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सदस्यता विस्तारलाई प्रदेश १, २ र ३ मा प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो । साथै उहाँले संस्थाले आगामी वर्ष नयाँ प्रविधिहरुले सुसज्जित अनलाइन टेलिभिजन सञ्चालमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । साथै उहाँले संस्थाका उत्पादनहरुलाई नागरिकमाझ थप विश्वसनिय बनाउदै सञ्चारमा संस्थागत छलाङ मार्ने कार्ययोजना बनाइएको बताउनुभयो ।


कोषाध्यक्ष कृष्णकुमार थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यसैगरी संस्थाका सचिव निरञ्जन सेढाईंले हाल सञ्चालनमा रहेका सूचना चौतारी सञ्चार सहकारीका उत्पादनहरुलाई अझ बढी गुणस्तरीय बनाउन कार्य योजना बनाएर अघि बढाइएको जानकारी दिनुभयो ।


सूचना चौतारी सञ्चार सहकारी संस्था लि.बाट हरेकपल डट कम, सहकारी नेपाल डट कम, सहकारी नेपाल मासिक पत्रिका, योङ भ्वाइस अंग्रजी म्यागेजिन प्रकाशन भइरहेका छन् ।

यसैबीच सूचना चौतारीको नयाँ कार्यसमितिको पहिलो बैठकले संस्थालाई नयाँ ढंगबाट अघि बढाउने रणनीति लिएको नवनिर्वाचित सचिव कमलराज अधिकारीले बताउनुभयो ।

सो अवसरमा निर्वाचन संयोजक अनिल खनालले नवनिर्वाचत टिमलाई प्रमाणपत्र हस्ताण्तरण गर्नुभएको थियो ।

Share This: