सहकारी अभियानलाई सक्रिय बनाउने प्रतिवद्धता

पर्वतमा सञ्चालित सहकारी व्यवस्थापन तालिम सम्पन्न 

पर्वत ।   भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको ६ दिने सहकारी व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।   सहकारी अभियानमा क्रियाशिल सञ्चालक तथा व्यवस्थापक र स्थानीय तहमा सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गरी सहकारीको प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यका साथ तालिम आयोजना गरिएको थियो ।

तालिममा सहकारीको अवधारणा, मूल्य, मान्यता र सिद्धान्त, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारी र अन्य व्यवसायबीच भिन्नता, नेतृत्व विकास र सहकारीमा सञ्चालकको भूमिका, सहकारी ऐन कानुन, सुशासन, स्वनियमन, सञ्चालक र लेखा समितिको भूमिका, पल्र्स अनुगमन पद्धती, सहकारी संस्था एकीकरण र विघटन, सहकारीमा योजना तर्जुमा, सम्पत्ती सुधिकरण, सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी, बचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका अधिकृत ज्ञानप्रसाद भुषाल र नायव सुब्बा राजेन्द्र शर्माले सहजीकरण गर्नु भएको थियो ।

 

पर्वतमा रहेका सहकारीहरुलाई सहकारी ऐन नियम र सहकारीको मर्म तथा भावना अनुसार अगाडि बढाउनका साथै सहकारी अभियानका अगुवाई गर्ने जिल्ला तथा विषयगत सहकारी संघहरुको निष्क्रियताका कारण कमजोर रहेको अभियानलाई थप शसक्त बनाउन तालिम सहयोगी हुने सहभागीहरुले बताएका छन् ।

सहभागीहरुले पर्वतमा सहकारी क्षेत्रको प्रभावकारी उपस्थितिका लागि जिल्लामा गठन भएका र गठन गर्न सकिने सबै संघहरुलाई सक्रिय बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।   समापन कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिनु भएको थियो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट सीता केसी र गोविन्द अधिकारीले मन्तव्य व्यक्त गर्दै तालिमले सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन उत्साह थपेको बताउनु भयो ।   समापन कार्यक्रम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका अधिकृत ज्ञानप्रसाद भुषालको अध्यक्षता र नायव सुव्वा राजेन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।   तालिमा पर्वतका ७ वटा स्थानीय तहमा सहकारी शाखा हेर्ने कर्मचारी तथा विभिन्न सहकारी संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी र व्यवस्थापक गरी ३२ जनाको सहभागिता रहेको थियो ।

Share This: