दोलखा कालिञ्चोकमा नेफ्स्कून प्रदेश नं. ३ को बैठक सम्पन्न

दोलखा । नेफ्स्कूनको आयोजना र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को व्यवस्थापनमा जेष्ठ २३ गते दोलखा कालिञ्चोकको कुरीबजारमा नेफ्स्कून ३ नं. प्रदेश उपसमितिको सातौं बैठक सम्पन्न भएको छ । प्रदेश नं. ३ का १३ जिल्लाका जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष र अन्य सदस्यहरुको उपस्थितिमा सम्पन्न बैठकको उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

नेफ्स्कूनका सञ्चालक सदस्य एवं प्रदेश नं. ३ का संयोजक दिपक पनेरुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेफ्स्कूनका उपाध्यक्ष पार्वती खाँड राई, महासचिव चन्द्र प्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा संघका सञ्चालक सदस्य उद्धव सापकोटा, भरत प्रसाद दवाडी, कास्कूनका निवर्तमान अध्यक्ष केशव दंगाल, जिल्ला बचत संघका अध्यक्षहरु, प्रदेश नं ३ का सदस्यहरु, आयोजक संघका पदाधिकारीहरु लगायत ३८ जनाको उपस्थिति रहेको थियो ।

बैठक उद्घाटन सत्रलाई संवोधन गर्दै संघका बरिष्ठ उपाध्यक्ष पौड्यालले साकोस अभियानको एउटै आवाज, सामाथ्र्य, पूँजी र जशक्तिको परिचालन मार्फत अभियानको साझा पहिचान निर्माण गर्न नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी सञ्जाल व्यवस्थापन महत्वपूर्ण रहने बताउनुभयो । उहाँले साकोस र संघहरुको गुणस्तर सुनिश्चितताका विषयमा एकद्वार प्रणाली, सहअस्तित्व र साझेदारी आवश्यक रहेको प्रशङ्ग उल्लेख गर्दै साकोस एकीकरण, स्थिरीकरण कोष सञ्चालन र सदस्य केन्द्रीयतामा आधारित सदस्य सेवा विस्तारका लागि अभियान सँग साझेदारी गरेर अगाडि बड्न सबै तयार रहनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पार्वती खाँड राईले साकोस अभियानलाई सुरक्षित बनाउन सहकारीमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

महासचिव चन्द्रप्रसाद ढकालले व्यवसायमा एकरुपता ल्याउन र जिल्ला बचत संघलाई जिम्मेवार बनाई सदस्य संस्थाहरुलाई एकद्वार प्रणालीबाट व्यवसाय सञ्चालन गरी सुशासन स्थापित गर्न नेफ्स्कून जिल्ला बचत संघ व्यवसाय साझेदारी कार्यक्रम महत्वपूर्ण कार्यक्रम रहेको र यसलाई नयाँ आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याउने गरी संघले योजना निर्माण गरिरहेको बताउनुभयो ।

बैठकमा सहभागी जिल्ला बचत संघका अध्यक्षहरुले संघको प्रगति अवस्था र विद्यमान चुनौतीहरुको विषयमा आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । जिल्ला बचत संघ दोलखाका अध्यक्ष जिवसराज खड्काले संघको स्थापना अवधि देखि हाल सम्मको प्रगति अवस्था र दोलखा जिल्लाको साकोस अभियानमा संघको भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

वैठकको समापन गर्दै संयोजक दिपक पनेरुले वैठकबाट प्राप्त सुझावहरुलाई स्वीकार गरी आगामि कार्यक्रमहरुको प्रभावकारी कार्यान्यन, साकोस अभियानका समसामयिक विषयहरुमा निरन्तर बहश, पैरवी गर्दै अभियानको गतिलाई महत्वका साथ अगाडि बढाइने बताउनुभयो ।

Share This: