कृषि उपजको बजारीकरणमा सहयोग गर्न कृषकको माग 

पर्वत ।  किसानले उत्पादन गर्ने वस्तुहरुको सहज बजार नभएका कारण उपभोक्ताहरुले बाहिरबाट आउने वस्तु खरिद गरेर उपभोग गर्नु पर्ने वाध्यता भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।   पर्वतको जलजला गाउँपालिका वडा न.ं ३ मल्लाजस्थित नव सिर्जनशिल कृषि सहकारी संस्था लिमिटेडले शनिवार आयोजना गरेको एक दिने सहकारी शिक्षा कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

किसानले धेरै मेहेनत र लगानी गरेर अन्न, फलफूल, तरकारी लगायतका वस्तु उत्पादन गर्छन्, तर बजारीकरणको अभावमा उचित मूल्य नपाउदा थप उत्पादनमा लाग्ने वातावरण नभएको कृषकहरुको गुनासो छ ।   कृषकहरुले उत्पादन गरेको वस्तु संकलन र बजारीकरणमा सहकारी संघ संस्था र स्थानीय तहले व्यवस्थापन गर्न सकेमा आयात घट्ने र जनताको श्रम र पूँजिको प्रतिफल बढी आउने उनीहरुकोभ भनाइ छ ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले कृषि सहकारीहरुले आफ्ना सदस्यहरुलाई उत्पादनमा सहयोग गर्ने तथा उत्पादित वस्तुको संकलन र बजारीकरण गर्ने कामलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नु भयो । स्थानीय स्तरमा रहेका स्रोतहरुको पहिचान, परिचालनमा स्थानीय सरकारले जोड दिने, सहकारीहरुले संकलन र बजारीकरणमा सहयोग गर्ने हो भने कृषकहरुले बढी उत्पादन गर्ने अवस्था सिर्जना हुने भन्दै जिसीले उत्पादनका लागि कृषकहरुलाई सीप, प्रविधि र पूँजिको व्यवस्थापन गर्न सहकारीहरुको भूमिका बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ शाखाका प्रमुख मनोज श्रेष्ठ, जलजला गाउँपालिका वडा नं. ३ का वडा सदस्य चन्द्रबहादुर खत्री, लेखा समितिका संयोजक प्रेमबहादुर जिसी लगायतले सहकारीमार्फत आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

 

कार्यक्रम संस्थाका अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष बालकुमारी कार्कीको स्वागत र सचिव मीनबहादुर बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, महत्व, सहकारीमा बचतको महत्व लगायत कृषि सहकारीका लागि आवश्यक कानुनी संरचना लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको अवस्था, संस्थाको रणनीतिक योजना लगायतका विषयमा प्रवन्धक टिकाबहादुर जिसीले जानकारी गराउनु भएको थियो । शेयर सदस्यहरुका लागि मल बिउ विक्री वितरण लगायत वचत तथा ऋणको कारोबार गर्दै आइरहेको नव सिर्जनशिल सहकारी संस्थामा ३ सय १५ जना शेयर सदस्य, १ करोड ७२ लाख शेयर पूँजि, ९५ लाख वचत र ३ करोड कर्जा लगानी रहेको प्रवन्धक टिकाबहादुर जिसीले जानकारी दिनुभयो । संस्थाले आगामी आर्थिक वर्षदेखि कृषि उपजको संकलन तथा बजारीकरण लगायतका काम गर्ने गरी योजना निर्माण गरेको उहाँले बताउनुभयो ।

Share This: