सरकारले सोचेको सम्बृद्धिको अभियानमा सहकारी एकीकरण आवश्यक; मन्त्री अर्याल

सहकारी विभाग र सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा भाद्र ५ गते “सहकारीमा एकीकरण” विषयक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भयो । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री  पद्माकुमारी  अर्यालले चरित्र मिल्नेहरुका बिचमा एकताको वातावरण बनाएर सहकारी एकीकरण गर्ने अभियानलाई तीव्र बनाउनको लागि सहभागी सहकारी अभियन्ताहरुलाई निर्देशन गर्नुभयो । नेपालमा अब १०-१२ हजार सहकारी संस्था भए पुग्ने बताउदै मन्त्री अर्यालले उक्त संख्यामा सहकारी संस्था भएको खण्डमा देश हराभरा हुने र सरकारले सोचेको सम्बृद्धिको अभियानमा साथ मिल्ने विश्वास व्यक्त गरिन्  । सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्न सरकारले एकिकरण कार्यविधि बनाउन लागिएको जानकारी मन्त्री अर्यालले दिईन् ।

 

मन्त्रालयका सचिव गोपिनाथ मैनालीले सहकारीको इमेज , व्यवसायिकता विकास र स्वस्थ्य प्रतिस्पर्धाका लागि सहकारी मर्जर महत्वपूर्ण विषय भए पनि सहमती बिना मर्ज हुन नसक्ने भएकाले सबैको सहकार्य आवश्यक भएको बताउनु भयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहभागिहरुको जिज्ञासालाई सम्बोधन गर्दै सहकारी एकीकरण तीब्र रुपले अगाडी बढ्नुपर्ने र अब सहकारी एकिकरण नगरिकन शसक्त ढंगले अगाडी बढ्न नसक्ने धारणा राख्नुभयो ।

 

सहकारी विभागका उपरजिष्ट्रार शशी कुमार लम्सालले सहकारी एकीकरणको आवश्यकता , महत्व ,चुनौति र अन्तराष्ट्रिय सहकारी तथ्यांकहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएपछि सहभागिहरुले सहकारी एकिकरणका लागि प्रोत्साहन तथा सुविधा उपलब्ध गराउनु पर्ने माग राखेका थिए ।

 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे , सहकारी बैँकका अध्यक्ष के. बि. उप्रेती , नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का अध्यक्ष डी. बी. बस्नेत , वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल , महासचिव चन्द्र प्रसाद ढकाल , विभिन्न विषयगत केन्द्रिय संघका अध्यक्ष एवम् पदाधिकारीहरु, जिल्ला बचत संघका अध्यक्षहरु, सहकारी विभागका प्रतिनिधिहरु , पत्रकारहरु लगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

Share This: