सन्दर्भ ब्याजदर आवश्यकताअनुसार पुनरावलोकन हुन्छ: उप्रेती

काठमाडौं, ६ भदौ । सहकारी विभागले सहकारीहरुलाई ऋण लगानीमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोकेसँगै सहकारीमा सन्दर्भ ब्याजदरको पक्ष र विपक्षमा बहस भइरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सन्दर्भ ब्याजदर निर्धारण समितिले आवश्यकताअनुसार ब्याजदर पुनरावलोकन गर्ने बताउनुभएको छ ।

सक्रिय सहकारी सञ्जालले आयोजना गरेको ‘सन्दर्भ ब्याजदर कार्यान्वयनमा सहकारी संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतिले सो कुरा बताउनुभएको हो । कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले सन्दर्भ ब्याजदर निर्धारण समितिमा रहेर हस्ताक्षर गरेकाहरूले सहकारीकर्मीको कुरा लैजाने भनिए पनि त्यसो नभएको बताउनुभयो ।

ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले राष्ट्रिय सहकारी महासंघमा पर्याप्त छलफल नभएको बताउदै ५ जनाको निर्णय नै अभियानको निर्णय हुने गरेको उल्लेख गर्नुभयो । साथै उहाँले स्वतन्त्रता र स्वायत्तता माथि मर्का परेको, ऐन बनाउदा नेताहरू जुधेको कारणले नै समस्या देखिएको बताउनुभयो ।

त्यसैगरी ललितपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले स्वतन्त्रता र स्वायत्तता सहकारीमा हुनुपर्ने र ब्याजदर बढी नहुनुपर्नेमा आफ्नो सहमती जनाउनुभयो । त्यस्तै काठमाडौं बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापाले सन्दर्भ ब्याजदर परिमार्जन नगरिए आन्दोलनमा जान तयार हुन सहकारीकर्मीलाई आव्हान गर्नुभयो ।

सक्रिय सहकारी सञ्जालका अध्यक्ष अमरावती (एबी) महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा महर्जनले सहकारीको हितकोलागि सबै सहकारीकर्मी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

Share This: