पहिलो दिन नै करिब ९ लाखको कारोबार गर्न सफल

भाद्र २२, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको चण्डि भञ्ज्याङ्ग महिला उद्यमी सहकारीले खसिबोका केन्द्रको स्थापना गरेको छ । गाउँपालिकाको चण्डिभञ्ज्याङ्ग महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा खसीबोका बिक्री केन्द्रको स्थापना गरेको हो । इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले मिति २०७६ भाद्र २१ गते एक कार्यक्रमका बिच खसिबोका बिक्री केन्द्रको उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरूङले किसानहरुले गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नहुने र किसानहरुले पनि आफ्नो उत्पादनको मुल्य राम्रो लिन सक्ने बताउनुभयो ।

 

यस्तै विभिन्न संस्थाहरुसँगको साझेदारीमा साढे ५ लाख खर्च गरी केन्द्रको निर्माण गरिएको संस्थाका अध्यक्ष रश्मी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार बिक्री केन्द्र निर्माणको लागि इच्छाकामना गाउँपालिकाको २ लाख ५० हजार, हेफर इन्टरनेशनलको २ लाख र सहकारीको १ लाख लगानी परेको छ । केन्द्रको सञ्चालनसँगै किसानहरुको उत्पादनलाई बजारीकरणमा सहजता हुने र किसानले पनि राम्रो मूल्य पाउने अपेक्षा गरिएको संस्थाको अध्यक्षले बताउनुभयो  ।

 

यसैबिच सहकारीले निर्माण गरेको खसीबोका केन्द्रको उद्घाटनको दिन नै उत्साहजनक कारोबार भएको संस्थाका अध्यक्ष रश्मी गुरुङले जानकारी दिनुभएको छ । गुरुङका अनुसार पहिलो दिन करिब ६१ वटा खसीबोका बिक्री भएको र सो बाट करिब ९ लाख रुपैयाँ कारोबार भएको छ । केन्द्रमा ४० केजी भन्दा माथिको खसीबोकाको ५ सय रुपैयाँ प्रति किलो, ३० देखि ४० किलोसम्मको ४ सय ७० रुपैयाँ र २० देखि ३० केजीसम्मको ४ सय ५० रुपैयाँ प्रतिकिलो बिक्री मूल्य निर्धारण गरिएको छ ।

 

 

Share This: